पोखरा/ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग गरिएको छ । पोखरामा रहेका बिभिन्न अधिकारवादी, सामाजिक, संघ–संस्थाको टोलीले बिहीबार संयुक्त रुपमा ज्ञापन पत्रमार्फत् अस्पतालका प्रमुख डा. भरत खत्री समक्ष सो माग गरेका हुन् ।
ज्ञापन पत्र बुझाउनेहरुमा इन्सेक, कोशिस, कोपिला नेपाल, शक्ति समूह, थ्रि एन्जल्स नेपाल, सिविन नेपाल लगाएत रहेका छन् । ज्ञापन पत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४ खण्ड ७ को दफा ३५ मा मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचारको ब्यवस्था गर्नुपर्ने प्रावाधान रहेको उल्लेख छ ।
सो अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको अन्तरंग र बहिरंग दुबै सेवालाई प्राथमिकता दिनुपर्ने उनीहरुको माग रहेको छ ।
ज्ञापन पत्र बुझदै अस्पतालका प्रमुख डा.भरत खत्रिले मागप्रति सकारात्मक रहेको बताए ।





