बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ-कुश्मीसेरा-बरेङ जाने रणनीतिक सडक स्तरीय बन्दै

बागलुङ-कुश्मीसेरा-बरेङ जाने रणनीतिक सडक स्तरीय बन्दै


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८०, बुधबार

बागलुङ/दक्षिण बागलुङको बरेङ हिउँदमा सहजै गएपनि बर्षात्मा यात्रा गर्न कठीन थियो । काम विशेषले जाने कर्मचारी र स्थानीयले पनि यात्रा गर्न नपरे हुन्थ्योझैँ गर्थे ।
अब भने बरेङ जाने सडक स्तरीय बन्दैछ । यहाँको सडकमा धमाधम काम भैरहेकोले समयमा काम सकिन्छ भन्नेमा स्थानीय विश्वस्त छन् । बागलुङको कुश्मीसेरादेखि राङखानीहुँदै बरेङ जाने सडक स्तरीय बनेमा सदरमुकामबाटै ३ घण्टामा पुग्न सकिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

निर्माणाधिन दुई खण्डको कामको प्रगतिले समयमा काम सकिनेमा उनी विश्वस्त छन् । अझै कुश्मीसेरादेखि राङखानीको देवलधारातर्फको खण्ड भने स्तरीय बन्न बाँकी छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडकमा सूचीकृत भएर धमाधम काम हुँदा यो सडकमा आगामी बर्षात्देखि रोकिनु नपर्ने स्थानीयले बताए । गाउँपालिका अध्यक्ष पौडेलसमेत असार साउनताका जिल्ला समन्वय समितिको बैठकमा आउँदा गुल्मी घुमेर आउने गर्थे । गुल्मीदेखि बागलुङको खरवाङको बाटो आउनुपर्दा बरेङबासीलाई सदरमुकाम भेटाउन १ सय किलोमिटर यात्रा गर्नुपथ्र्यो ।

दुई जिल्ला जोड्ने गरी गण्डकी प्रदेश सरकारले निर्माण गरिरहेको रणनीतिक सडकले गति लिएकोले स्थानीय बासिन्दा पनि यो सडकप्रति आशाबादी भएका हुन् । ‘यो सडक स्तरीय बन्दा मेरो घरमा पुग्न पनि सहज हुन्छ,’ जैमिनी नगरपालिकाका प्रमुख नरबहदुर पुनले भने, ‘सबैभन्दा बढी सास्ती खेपेका राङखानीबासीले पनि सहज यात्रा गर्न पाउने छन् ।’ यो सडक स्तरीय बन्दा आफ्नै जिल्लामा यात्रा गर्न पाउने व्यवस्था हुने उनले बताए ।

घुमाउरो बाटो हिंड्नुपर्नेले झण्डै ५० किमी यात्राबाट सदरमुकामदेखि बरेङहुँदै गुल्मीको शान्तिपुर पुग्न सकिन्छ । जैमिनी नगरपालिका–१० को नाम्दुक र किटेनीबासीले पनि सडक अभावमा सास्ती खेप्दै आएका थिए । यसअघि निर्माण भैसकेको मालढुंगा कुश्मीसेरा सडकको २१ किमी यात्रा गरेपछि थप २१ किमी सडक स्तरीय बन्दा बरेङ पुग्न सहज बन्ने भएको हो । मालढुंगादेखि बागलुङ ५ किमी तथा बरेङडाँडादेखि गाउँपालिकासम्मको सडक भने यसअघि नै बनेको छ । यो सडक निर्माण पूरा भएपछि बागलुङको जैमिनी नगरपालिकादेखि बरेङ गाउँपालिकाहुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सपना पनि पूरा हुनेछ ।

हाल निर्माणाधिन सडकको दुइ खण्डमा सडक चौडा पार्ने, नाली निर्माणसहित स्तरीय सडक बनाउने काम धमाधम भएको हो । अप्ठ्यारो र ग्रेड नमिलेको सडक खण्डलाई भने ढलान गरेर स्तरीय बनाइएको छ । यो सडकलाई दुई खण्डमा विभाजन गरेर काम अगाडि बढेको हो । राङखानीतर्फ ठेक्का लिएको शर्मा क्याराभान संयुक्त निर्माण कम्पनीले साँढे १० किमी खण्ड २४ करोड ५८ लाख तथा राङखानी बरेङखण्ड र साँढे १० किमी सडक रौताहा खानी धुलिखेल संयुक्त निर्माण कम्पनीले ३४ करोड २५ लाख रुपैयाँमा निर्माण गरेको हो ।

निर्माण कम्पनीले २०८० को असार मसान्तमा काम सक्ने गरी काम गरिरहेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले बताए । ‘तोके अनुसारको काम आगामी असारमा सकिने संभावना छ,’ सुवेदीले भने, ‘केही खण्ड ढलान, केही खण्ड कालोपत्रे गर्नेगरी काम भएको छ ।’ यो सडकको नाम्दुकदेखि बरेङ १ को धुल्लु तर्फको सडक भने अधिकांस ढलान गरिएको छ । नाम्दुक बजारमा मापदण्डमा पर्ने घर टहरासमेत भत्काउने काम भैरहेको हो ।

गण्डकी प्रदेश सरकारले दुई पालिका तथा दुई जिल्ला जोड्ने सडकलाई रणनीतिक सडकको नाम दिएर लगानी थालेको थियो । लगानी गरेका अन्य सडकभन्दा यो सडक छिटो र स्तरीय बनेको हो । २०५४ सालमा नक्सांकन गरी मालढुंगादेखि कुश्मीसेराहुँदै बरेङ लैजाने सडकको रुपमा सूचिकृत गरिएको थियो । तर, बर्षाैसम्म काम नहुँदा स्थानीयले गुल्मीको शान्तिपुरबाट घुमेर आउन बाध्य थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->