पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जापानतिर लागेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य शुक्रबार जापान जाने भएका हुन् ।
जापानमा उनले पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि जाइकासँग सम्झौता गर्नेछन् । सो परियोजनको जाइकाले नै सम्भाव्यता अध्ययन र डीपीआर तयार पारेको हो । उनीसहित सात सदस्यीय टोलीमा ३ जना इन्जिनियरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ समेत रहेका छन् । पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियर विवेक कुमार क्षेत्री यसअघि नै परियोजनासँग सम्बन्धित २१ दिने तालिमको क्रममा जापानमा छन् ।
मेयर आचार्यका अनुसार ११ अर्ब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन मात्र गरिने छैन, वातावरणीय स्वच्छता प्रवद्र्धन पनि हुनेछ । उनका अनुसार सो परियोजना निर्माणपछि ढलको पानी प्रशोधन गरी नदीमा पठाइने छ ।
दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने स्मरण गर्दै मेयर आचार्यले यो काममा पोखराले बाजी मार्ने पनि जिकिर गरे ।
जाइका कै सहयोगमा पोखरामा बृहत खानेपानी सुधार आयोजना पनि संचालनमा छ ।





