बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?

छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?


  • शशी स्वाँर
  • बैशाख १२ २०८०, मंगलबार

नयाँ शैक्षिकसत्र २०८० का लागि धमाधम विद्यार्थी भर्ना अभियान सुरु भइसकेको छ । विद्यालयहरूले विभिन्न अफरका साथ आफ्नो विद्यालयमा नानीबाबुहरू भर्ना गर्नका निमित्त अभिभावकहरूको घरदैलोमा नै पुग्ने गरेका छन् । यसरी घरघरमा पुग्ने शिक्षक तथा विद्यालयका कर्मचारीहरूले आफ्नो विद्यालय नै पठनपाठनका लागि उपयुक्त हो भन्ने गरेका छन् । दैनिक आधा दर्जनकै हाराहारीमा फरकफरक विद्यालयबाट घरघरमा आउने शिक्षक तथा विद्यालय कर्मचारीका कारण अभिभावकहरू पनि आफ्ना नानीबाबुलाई कुन विद्यालयमा पढाउने भन्नेमा अलमलमा पर्ने गरेका छन् । यसलाई अस्वाभाविक रूपमा पनि लिनु हुँदैन ।

गुणस्तरीय शिक्षाको आधार के हो ?

मानवीय र भौतिक स्रोत साधनको उचित व्यवस्थापन भएका विद्यालय नै गुणस्तरीय शिक्षाका लागि प्रभावकारी मानिन्छन् । भवन कक्षाकोठा, फर्निचरको पर्याप्तता, शैक्षिक सामग्रीहरूको उपलब्धता र शिक्षण सिकाइमा प्रयोग, सुरक्षित र स्वस्थकर विद्यालय परिसर र खेल मैदान, स्वस्थकर खानेपानी र छात्र, छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था, पर्याप्त खेलकुद सामग्री र प्रयोगका अतिरिक्त क्रियाकलापको आयोजना र प्रतिस्पर्धामा उपलब्धिको अवस्था, विषयगत प्रयोगशाला र पुस्तकालयको अवस्था आदि भौतिक सुविधाअन्तर्गत पर्दछन् ।

मानवीय पक्षमा विषयगत शिक्षक दरबन्दी, प्रधानाध्यापकको योग्यता र क्षमता, व्यवस्थापन समितिको सफलता र सहभागिता, शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, प्रधानाध्यापकबीचको सहकार्य र समन्वयले विद्यार्थीको उपलब्धि स्तर उन्नत बनाउने कुरामा दुईमत हुन सक्दैन ।

विद्यालयको विगतका सबल र दुर्वल पक्षहरूको सूक्ष्म अध्ययन विश्लेषणको निष्कर्षले पनि सही विद्यालय छनोट गर्न टेवा पुग्छ । त्यस्तै अध्यापन गरिने विषय र विधि, बालबालिका रमाउने रोचक बालमैत्री वातावरण सफल विद्यालयको पूर्वसर्त हो । विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि कुशल शैक्षिक नेतृत्व, पेसाप्रति समर्पित जाँगरिलो शिक्षक, अनुशासित विद्यार्थी, भविष्यदर्शी निःस्वार्थ व्यवस्थापन समिति, सचेत र सहयोगी अभिभावक, जागरुक समुदाय, समसामयिक पाठ्यक्रम र शिक्षा नीति तथा निरन्तर अनुगमन, निरीक्षण र नियमन गर्ने सरकारी निकाय गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि आधारभूत सर्त हुन् ।

विद्यालय छनोट कसरी गर्ने ?

विद्यालय छनोट गर्दा बालबालिकाको साथी कहाँ पढ्छन् ? आफ्नो भाषा, संस्कार, संस्कृति मिल्दो साथीको वातावरण छ कि छैन ? विद्यालयमा अनुशासनको नाममा गरिने व्यवहार कस्तो छ ? बालबालिकालाई आवश्यकताअनुसार परामर्श दिने व्यवस्था छ कि छैन ? यस्ता कुराहरूको एकदमै ख्याल गरिनुपर्छ ।

बालबालिकाको पढ्न सक्ने र बुझ्न सक्ने क्षमता जुनसुकै विद्यालयमा अध्ययन गरे पनि उही नै हो । तपाईं आफ्ना बालबालिकालाई त्यो झुपडी भएको स्कुलमा पढाउनुहोस्, चाहे त्यो एसीजडित विद्यालयमा, सबै बालबालिका जिनियस हुन् र कुनैकुनै क्षमता लिएर आएका हुन्छन् । अपवाद हो । तर, शिक्षक कस्ता छन् ? उनीहरू दक्ष छन् कि छैनन् ? विद्यालयको वातावरण कस्तो छ ? त्यो कुराचाहिँ अभिभावकहरूले राम्रोसँग बुझ्न जरुरी छ ।

अर्को कुरा, छोटो दूरीको गह्रुङ्गो झोलाभन्दा लामो बसयात्राले हुने मानसिक थकानले बालबालिकामा समस्या निम्त्याउने गर्छ । बिहान सबेरै विद्यालय हिँड्ने र बेलुका ढिला घर पुग्ने बालबालिकामा थकान हुने गर्छ । त्यसैले सकेसम्म नजिकैको विद्यालयमा पढाउँदा उपयुक्त हुन्छ ।

बालबालिकालाई पढ्नमा दबाब नदिऔँ

गएको परीक्षाको नतिजालाई लिएर अभिभावकहरूले बालबालिकालाई तनाव दिइरहेका हुन्छन् । अघिल्लो वर्ष फस्ट भयौ, अहिले किन सेकेन्ड ? अथवा अघिल्लो वर्षभन्दा कम नतिजा किन आयो ? यस्ता प्रश्नले बालबालिकामा अनावश्यक तनाव दिने गर्छ । अभिभावकहरूले बालबालिकालाई पढ्न दबाब दिइरहनु राम्रो होइन । बरु उसलाई पढ्नका लागि वातावरण बनाइदिनुपर्छ । पढाइप्रति प्रेरित गर्ने भावना अभिभावकहरूले सिर्जना गरिदिनुपर्छ । नतिजा कमजोर भयो भन्दैमा बिहानदेखि बेलुकासम्म पढ्न दबाब दिने, ट्युसन पढाइ गर्नु उपयुक्त होइन । बालबालिकालाई खेलकुद पनि त्यतिकै महत्वपूर्ण छ ।

विद्यालय र अभिभावकबीच संवादमा निरन्तरता

विद्यालय र अभिभावकबीच निरन्तर रूपमा संचार संवाद भइराख्नुपर्छ, जसले गर्दा बालबालिकाका सबै विषयवस्तु विद्यालय र अभिभावकलाई जानकारी हुन्छ । अर्कोतिर अभिभावक र विद्यालयबीच सुमधुर सम्बन्ध कायम हुने र एकअर्काका बारेमा सकारात्मक संचार प्रवाह हुन्छ ।

बालबालिकामा सकारात्मक भावनाको विकास भएर उनीहरूमा थप आत्मविश्वास वृद्धि भई सही मार्गमा हिँड्ने वातावरण तयार हुन्छ । सामान्यतया बालबालिकाले विद्यालयमा शिक्षक–शिक्षिका तथा प्रशासनको सकारात्मक सन्देशको अपेक्षा राखेका हुन्छन् भने घरपरिवारबाट स्नेह, मायाका साथै विद्यालयप्रति सकारात्मक भावको अपेक्षा गरेका हुन्छन् तसर्थ निरन्तर सकारात्मक संचार–संवादलाई निरन्तर रूपमा अघि बढाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->