बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिन्दुरको खेल

सिन्दुरको खेल

एकदिन अफिसको गाडीमा जाँदा एउटा जुनियरले अन्टी भन्यो। झनक्क रिस उठ्यो अनि भनेँ, ‘म तिम्रो अन्टी हैन।’


  • मिरा लामिछाने
  • बैशाख १६ २०८०, शनिबार

समयको चक्रसँगै जीवनमा नयाँ नाता अनि मोड आउने रहेछ। जीवनमा सधैं केही उदाहरणीय काम गरेर देखाउँछु भन्ने ठूलो धोको बोकेर हिँडें। केटा र केटी सधैं समान हुन् भन्ने भावना ममा व्याप्त थियो।

कसैले त केटी हो, तैंले सक्दिनस् भने झनक्कै रिस उठिहाल्थ्यो अनि त्यो काम जसरी भए नि पूरा गर्थें। मनमनै भन्थें- तिमीहरूको अगाडि केही गरेरै देखाउँछु।

यही स्वरूपले जिन्दगीमा पढ्दै गइयो, डिग्रीका ठेली बटुल्दै गइयो।

जिन्दगीमा के-के नै गरौंला भनेर धेरै दुःख गरेर पढियो। आफ्नो चौतर्फी विकासको लागि, अरु शिक्षा पनि लिइयो। आखिर परिवारले घुमाइफिराइ विवाहको बन्धनमा बाँधिदिए।

विवाह गर्दिनँ भन्न नि नमिल्ने, गरेर अर्काको घर जान्नँ भन्न नि नपाइने। आखिर छोरीको जात न पारियो या भनुँ अर्काको घर जाने जात।

आफ्नो संस्कार, परिवार र धर्मको हिसाबले बिहे त गरियो तर बिहेपछि संसारै बदलिन्छ भन्ने के नै थाहा थियो र!

बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म कुनै पनि कुरा पहिलेको जस्तो नहुने। लाग्छ म अरू कसैको जिन्दगी जिइरहेछु, फिल्मको जस्तै। न त बिहान उठ्ने समय त्यही छ, न स्थान, न पहिरन उही छ, न पहिचान।

यसो ऐना हेर्यो आफू त अर्कै लाग्ने। खानपान, काम त फरक हुनु स्वभाविक नै हो, अब प्यारी कान्छी छोरीबाट बुहारी जो बनेको थिएँ। समयसँगै आउने परिवर्तनलाई स्विकार्ने बाहेक अरु कुनै विकल्प पनि त छैन।

केही दिनमा नयाँ जीवनको पनि बानी पर्न थाल्यो। अब पराई अनि उसको परिवार नि आफ्नो लाग्न थाल्यो। विवाहित पहिरन पनि सजिलो लाग्न थाल्यो। फेरि पहिले झैं दिनचर्या बित्दै गयो। जीवनले लेराएको परिवर्तनमा भिजिन थालियो।

घरबाट बाहिर निस्कँदा सिउँदोमा एक धर्को सिन्दुर लगाउने बानी पर्यो। त्यो सिउँदोको सिन्दुरले सधैं जीवनसाथी भएको आभास दिलाउँथ्यो, आफू पूर्ण भएको अनुभव देखाउँथ्यो। लाग्थ्यो त्यो सिन्दुर नै मेरो शान हो, अभिमान हो।

मेरो त्यो खुसी धेरै दिन रहेन। सार्वजनिक साधनमा भनुँ या तरकारी बजारमा, वा मन्दिरमा जसले पनि एउटै नयाँ उपनाम दिन थाल्यो- अन्टी।

अन्टी भन्दा अचानक आफू अगाडि अधबैँसे, खासै काम नगर्ने, फुर्सदमा अरूको कुरा काट्ने, सम्पत्तिको धाक लगाउने, अरूलाई होच्याएर बोल्ने प्रवृत्ति भएको महिलाको प्रतिबिम्ब आयो।

यस्तै अन्टीहरूले सधैं जिस्काएको सम्झें- धेरै पढेरै के गर्ने हो र छोरीले! बिहे गर्ने, घरजम गर्ने, मजाले रमाउने। तैंले धेरै पढेर नि के नै गर्ने हो र?

सामान्य हिसाबले भन्ने हो भने नि आमा सरहको मान्छेलाई या उनको दिदीबहिनीलाई पो अन्टी भन्छन् हैन र?

यहाँ त आफू सरह या भनुँ अलि बूढाले सम्म अन्टी भन्न थाले। यो शब्द सधैंजसो सुनिन थाल्यो। कहिले चुप लागेर सुन्थेँ त कहिले रिसाउँदै भन्थेँ- म तिम्रो अन्टी हैन।

सुरुमा त थाहै भएन किन मलाई अचेल यस्तो भन्छन्। पछि बल्ल थाहा भयो, यो सब सिन्दुरको खेल रहेछ। सिन्दुर नलगाए दिदी, लगाए अन्टी। मैले अन्टीभन्दा दिदी सुन्नै मन पराएँ।

एकदिन अफिसको गाडीमा जाँदा एउटा जुनियरले अन्टी भन्यो। झनक्क रिस उठ्यो अनि भनेँ, ‘म तिम्रो अन्टी हैन।’

हत्त न पत्त उसले ‘सरी म्याम’ भन्यो।

यसो गाडीको ऐनामा हेरेको, हतारमा हिजो भोजमा लगाएको सिन्दुर मेटाउनै बिर्सेछु। विचराको के गल्ती?

गल्ती त त्यो एक चुट्की सिन्दुरको रहेछ। सिन्दुर लगाउँदा पूर्णता मिल्ने मनको रहेछ। विवाहित भएपछि सिउँदो खाली नराख्नू भन्ने अभिभावक र संस्कृतिको रहेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->