एजेन्सी/ भिडिओ हेरिने संख्या (भ्युज) बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर संघीय अनुसन्धानलाई अवरोध गरेकोमा दोष स्वीकारेको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन् ।
बीबीसीका अनुसार २९ वर्षीय ट्रेभर ज्याकोबले सन् २०२१ को डिसेम्बरमा उक्त विमान दुर्घटनाको भिडिओ युट्युबमा पोस्ट गरेका थिए । उनले त्यो दुर्घटना नै भएको भन्दै जोड दिएको उक्त भिडिओलाई अहिलेसम्म २९ लाखभन्दा धेरै पटक हेरिएको छ । अदालतमा प्रस्तुत गरिएको दलिलमा उनले उक्त भिडिओ एउटा वस्तुको प्रायोजन सम्झौता अन्तर्गत खिचिएको जनाएका छन् । उनलाई २० वर्षसम्मको सजाय हुनसक्छ ।
२९ वर्षीय पाइलट तथा स्काइडाइभर उनले संघीय अनुसन्धानमा अवरोध पुग्ने गरी गरिएको विध्वंस र त्यसलाई लुकाउने काम बापतको गम्भीर अपराध स्वीकारेको बिहीबार अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
सन् २०२१ को नोभेम्बरमा ज्याकोबले सान्ट बार्बरा, क्यालिफोर्निया विमानस्थलबाट एक्लै उडान गरेका थिए । उनको विमानमा क्यामेराहरू जडान गरिएका थिए । त्यसबाहेक उनीसँग प्यारासुट र सेल्फी स्टीक समेत थियो । ‘उनी आफ्नो गन्तव्यमा पुग्न चाहेका थिएनन् बरु उडानकै बखत आफ्नो विमानबाट निस्कने र प्यारासुटका सहायताले जमिनमा झरेको भिडिओ खिच्ने योजनामा थिए र त्यसबिचमा उनको विमान तल झर्दै दुर्घटना भयो,’सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका लागि अमेरिकी न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।उक्त विमान उडान सुरु गरेको ३५ मिनेटपछि द लस पड्रेस न्याश्नल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो ।
उनले हिँड्दै उक्त स्थानमा पुगेर फुटेजहरू संकलन गरे । युट्युबमा उक्त भिडिओ हेर्नेहरूले उक्त दुर्घटनाबारे शंका व्यक्त गरेका थिए ।ज्याकोबले पहिल्यै प्यारासुट लगाएको र विमानलाई सुरक्षित तरिकाले अवतरण गराउने कुनै प्रयास नगरेको कुराले आफूहरूको ध्यान खिचेको उनीहरूले बताएका थिए । उनले उक्त दुर्घटनाबारे न्याश्नल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डमा जानकारी गराएका थिए ।उक्त निकायले त्यहाँको भग्नावशेष संरक्षणको जिम्मेवारी ज्याकोबकै रहेको जनायो । अदालतमा प्रस्तुत दलिलमा ज्याकोबले पछि दुर्घटनास्थल आफूलाई थाहा नभएको दाबी गरेका थिए । विज्ञप्तिमा भनिएको छ,‘त्यो उनलाई थाहा थियो र उनी हेलिकप्टरबाट फर्किए र भग्नावशेषलाई सुरक्षित पार्ने र हटाउने काम गरे जसलाई पछि उनले नष्ट गरे ।’
आउँदा सातामा अदालतमा ज्याकोबलाई प्रारम्भिक रूपमा उपस्थित गराइने अपेक्षा गरिएको छ ।गत वर्ष उनको पाइलटको अनुमति पत्र रद्द गरिएको थियो ।





