पोखरा/ २०५० साल जेठ २ गते साँझ एमालेका तत्काली महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित पोखराको पृथ्वीचोक आइपुगे । नेताहरुले उनीहरुलाई पृथ्वीचोकमा न्यानो स्वागत गरे । ‘उहाँहरुको गाडी रोकेर नै हामीले स्वागत ग¥यौँ,’तत्कालीन अनेरास्ववियू कास्कीका सचिव रहेका एमाले नेता पुष्पज्योति ढुंगानाले त्यो क्षण सम्झँदै भने,‘ स्वागत गर्नेमा विद्यार्थीबाट मसहित रवीन्द्र अधिकारी(स्वर्गीय), आनन्द सुवेदी, धनराज आचार्य (वर्तमान मेयर ),भक्त गुरुङ (पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति) थियौँ । उहाँहरुसँग सामान्य कुराकानी भयो ।’
अहिलेजस्तो नेताहरु होटलमा बस्ने चलनले गाँजेको थिएन । मदन–जीवराज त्यहाँबाट सोझै चिप्लेढुंगामा रहेको उद्योगपति हरिप्रसाद पाण्डेको घरतिर लागे । हरिप्रसाद पाण्डे २०४८ सालमै एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य मनोनित भइसकेका थिए ।
हरिप्रसादकी अर्धाङ्गिनी तुलसा पाण्डेका अनुसार मदन भण्डारीसहितको टोली घरमा आउँदा रातको करिब साढे १० बजेको थियो । ‘उहाँसँग वाचस्पति देवकोटा,ऋषि कट्टेल, जीवराज आश्रित र अमर लामा हुनुहुन्थ्यो । श्रीमान (पूर्वमन्त्री हरिप्रसाद पाण्डे )ले पहिल्यै खाना बनाऊ भन्नुभएको थियो । बच्चाहरुलाई खाना खुवाएँ, पढ र सुत भनेँ । गर्मीको महिना थियो क्यारे,’उनले सम्झँदै भनिन्,‘ मदन भण्डारीले भाउजू दही छैन ? भनेर सोध्नुभयो । उहाँलाई दही र साग असाध्यै मन पर्ने । मैले साँझमा पनि दही खानुहुन्छ र ? टाउको दुख्ने हो कि ? भनेँ । ‘ल त्यसो भए भोलि बिहान खाउँला’ भन्दै उहाँले मासुसँगै खाना खानुभयो ।’
उनका अनुसार खाना पस्कँदै गर्दा भण्डारीले अम्खोरामा पानी सारे रे ! खाना खाइसक्दा रातको १२ बजेको थियो होला । त्यसपछि जीवराज आश्रितले निशा र उषा (तुलसाका छोरीहरु ) लाई के चीनबाट के ल्याइदिनुभयो त नि ? भनेर मदन भण्डारीलाई सोधेछन् ।
‘आउँदा प्लेनबाट दुईवटा चक्लेट कोटको गोजीमा हालेको थिएँ,दुईवटा छोरीलाई भैगो नि’भन्दै उहाँ हाँस्नुभयो’,उनले सुनाइन्,‘म बिहान छिटो उठने । बिहान ४ बजेतिर उठेर पूजापाठ गरेँ । हजुरहरु त हामीले टीका लगाउँदा हास्नुहुन्छ होला,हाम्रोमा त चलन यस्तै छ भनेँ ।’
त्यसपछि मदन भण्डारीहरु अमरसिंहचोकतिर लागेछन् । खाना खाँदा दिउसोको एक बजेको थियो अरे । ‘बिहान उहाँले दही,साग अनि काँक्रोको अचारसँग खाना खानुभयो । अरुले मासु पनि खानुभयो,’ उनले भनिन्,‘सिमसिम पानी परेको थियो । मैले आज नजानुहोस्,भोलि बिहान गए पनि पुगिन्छ भनेँ । तर, उहाँले जसरी पनि पुग्नु छ भन्नुभयो । टीका लगाएर बिदा गरेको हुँ । निस्कँदा उहाँहरु तीनजना मात्र हुनुभयो । मैले साइतको बेला ३ जना निस्क्न लाग्नुभयो, तपाईं पनि जानुहोस् त बूढा भनेर बूढालाई पठाएँ । त्यही भएर साँझ त्यो घटनामा हरि पाण्डे पनि परेको हल्ला पनि चल्यो ।’
खासमा पोखरामा जेठ ३ गते आयोजित एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनको लागि मदन–जीवराज पोखरा आएका थिए । उनी सभामा एक बजेतिर पुगेका थिए । भोलिपल्ट चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रम थियो । उनीहरु पोखराबाट हिँडे । गाडीमा चालक अमर लामा अनि मदन र जीवराज र सचिव ऋषि कट्टेलमात्रै थिए । ऋषि कट्टेल मुग्लिन झरे । साँझ ५ बजेतिर मुग्लिन–चितवन सडक खण्डको दासढुंगामा उनीहरु सवार बा.अ.प.८७९३ नम्बरको पजेरो गाडी दुर्घटना भयो । दुवै इश्वरका प्यारा भए ।
एमाले तेस्रो जिल्ला अधिवेशनमा सहभागी एमालेका पाका नेता सोमनाथ अधिकारी ‘प्यासी’मा अनुसार उनीहरुले मदन र जीवराजलाई मञ्चमै स्वागत गरेका थिए ।
‘मन्तव्य दिएपछि उहाँ बिदा भएर जानुभयो, हामीले गेटबाट बिदा ग¥यौँ,’उनले भने,‘पछि दुर्घटनाको खबर सुन्नुप¥यो पुलिसको गाडी चढेर गएँ, राति अरु साथीहरु पनि जानुभयो । त्यहाँ पुग्दा संसार नै धमिलो लाग्यो ।’अर्का पुराना नेता त्रिलोचन ढकालले पनि मदन र जीवराजलाई त्यसरी नै सम्झे । पोखराको कार्यक्रममा भएको छोटो भेटको स्मरण उनले यसरी सुनाए–‘ म त्यो बेला प्रवास इन्चार्ज थिएँ । त्यो बेला खगराज अधिकारी जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो । म र केशवलाल श्रेष्ठ कार्यक्रम उद्घाटनलगत्तै पोखराबाट हिँड्यौँ । पछि प्रदीप नेपालले फोन गरेपछि महेन्द्रनगरबाट फर्केर आएँका हौँ ।’
दुर्घटनापछि एमाले सडकमा निस्कियो । दुर्घटना नभएर हत्या हो र छानविन हुनुपर्ने एमालेको माग थियो । त्यही बीचमा एमालेले शोकलाई शक्तिमा बदल्ने भन्दै जेठ १५ गते देशभर शोकसभाको आयोजना ग¥यो । पोखरामा आयोजित शोकसभाको संचालन गर्ने जिम्मेवारी पुष्पज्योतिको काँधमा आयो । वामदेव गौतमसहितका नेताहरु मञ्चमा थिए । सबैको अनुहार फुंग उडेको थियो । आँखामा आँशु थिए । ‘आफूले रोजेको प्रिय नेता गुमाउँदाको पीडा लुकाउन धेरै गाह्रो हुँदो रहेछ । त्यही नाराले हामीलाई साहस दियो । श्रद्धाञ्जली सभा त्यसरी नै चलाएँ । शोकमा शब्द व्यक्त गर्न साह्रै गाह्रो,’उनले भने ।
पूर्वमन्त्री हरिप्रसाद पाण्डेको लागि भने मदन र जीवराजसँगको त्यो भेट जीवनमा बिर्सन नसक्ने घटना बनिरहेको छ । उनी भन्छन्,‘ जीवनको अन्तिम रात मेरै घरमा सुत्नुभयो । पछिल्लो बिहानको खाना पनि मेरै घरमा खानुभयो ।सांसद भएकै बेला मदनजीसँग चीन जाने मौका पाएको थिएँ । त्यहाँ देखेजस्तो विकास यहाँ किन हुँदैन भन्ने उहाँको प्रश्न हुन्थ्यो । मसँग राजनीतिक कुरा हुँदैनथ्यो ।’





