बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाँदर धपाउन खटिए वडाध्यक्ष !

बाँदर धपाउन खटिए वडाध्यक्ष !

खेतबारीमा लगाइएको मकै जोगाउन आलोपालो प्रणाली ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८०, बुधबार

पर्वत/ भर्खरै पसाउन लागेका र दाना पस्न लागेका मकै खेती लाई बाँदरले नोक्सान गर्छ कि भनेर पर्वतको कुश्मा नगरपालिका ९ मा स्थानीयले बाँदर धपाउने पालो राखेका छन ।

मकै जोगाउन यहाँका स्थानीयहरुले नै पालैपालो बाँदर कुर्ने गर्छन । खेतमा लगाइएको मकै नपाक्दासम्म हरेक दिन फरकफरक व्यक्तिले खेत कुर्नुपर्ने हुन्छ । त्यसका लागि खेतमा नै सानो छाप्रो बनाइएको छ ।

बाँदर एउटा दुइटा आए त छाप्रोमा बस्नेले नै धपाउँछ । हुल बाँधेरै आए त साध्य हुँदैन । अनि गाउँले सबैलाई खबर गर्नुपर्छ । बस्ती नजिकै भएका कारण छोटो समयमा नै गाउँलेहरु जम्मा भएर बाँदर धपाउने गर्दछन । यसका लागि १५ जना व्यक्ति छानिएका छन । बाँदर धपाउन छनोट हुनेमध्येका एकजना कुश्मा ९ का वडाध्यक्ष पनि हुन । वडाध्यक्ष राम शर्मा लामिछानेको बाँदर हेर्ने पालो जेठको २९ गते परेको छ । त्यसको १५ दिनपछि असार १३ गते उनको अर्को पालो छ ।

१५/१५ दिनको अन्तरालमा हरेकको पालो दोहोरिने र यो क्रम मकै पाकेर नउतार्दासम्म जारी रहने वडाध्यक्ष लामिछानेले बताए ।
‘मकै नपाक्दासम्म र रोपाईँ सुरु नहुँदासम्म खेती त जोगाउन प¥यो,त्यसकै लागि हरेक दिन एकजना व्यक्तिलाई बाँदर कुर्नको लागि खेतमा नै पठाइने गरिएको छ,’ उनले भने,‘१३ गते मेरो पालो हो, त्यो दिन म खेतमा जान्छु, रुटीन अनुसार सबै पालैपालो जाने गरेका छौँ ।’

बसाइसराईंले रित्तिएका पर्वतका ग्रामीण भेगमा बाँदर आतंक नयाँ भने होइन । अघिल्लो वर्षहरुमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले सुनाउँछन । ग्रामीण क्षेत्रमा सबैको साझा समस्या नै बाँदरबाट कसरी खेती जोगाउने भन्ने छ ।अघिल्ला वर्षहरुमा पनि यसैगरी बाँदर धपाइएको उनले बताए । अहिले भने वडाले खाजाको व्यवस्था गरिदिने उनले बताए । ‘आफ्नो पालामा लौरो लिएर खेतमा जाने, बाँदरको हुल आयो भने उसले संकेत दिन्छ (फोनमार्फत् वा चिच्याएर) त्यसपछि गाउँलेहरु सबै जान्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->