स्याङ्जा/ करिब दुई वर्ष प्रायः आँखा आँशुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ ।
आफ््नै बलात्कारको अभियोगमा श्रीमान विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलामा १२ वर्ष जेल पुगेपछि कविताको दैनिकी दुखमा बितेको थियो । कविता न्याय खोज्दै उच्च अदालतमा पुगेपछि भएको फैसलाले उनको मुहार र दैनिकीमा खुसी ल्याएको हो ।
पुतलीबजार नगरपालिका १३ बडरेकी १६ वर्षीया कविताले अर्जुन चौपारी १ कौडीखोलाका १९ वर्षीय विपिन सुनार (पोतबहादुर) सँग २०७६ असोज ९ गते प्रेम विवाह गरेकी थिइन् ।
विहे गरेको आठ दिनमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कविताको परिवारको उजुरीको आधारमा दुबैलाई आ–आफ्नो परिवारको जिम्मा दिएको थियो ।
परिवारको जिम्मा लगाएको एक दिनमै असोज १८ गते केटा विपिनलाई माइती परिवारको दवाबमा कविताले नै आफ्नै बलात्कार गरेको भन्दै जिल्ला अदालतमा उजुरी हालिन् ।
उजुरी पश्चात पुनः दुवै केटाकेटी भागेका थिए भने सोही उपक्रममा कविताको पेटमा गर्भ बसेको थियो । पेटमा गर्भ लिएर कविता घरमा आएर बस्दा प्रहरी भने बलात्कारको अभियोग लागेका विपिनलाई खोज्दै थियो । डेढ वर्ष जति लुकेका विपिनले पछि जिल्ला प्रहरीमा पुगेर आत्मसमपर्णण गरेका थिए ।
२०७८ मंसिर १० गते जिल्ला अदालत स्याङ्जाले उनलाई बलात्कारको मुद्दामा १२ वर्ष जेल र एक हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा फैसला ग¥यो । जिल्ला अदालतको फैसला पश्चात २०७८ चैत २ गते माइतीको दवाबमा आफ्नै बलात्कार गरेको आरोप लगाएकी कविताले श्रीमान निर्दोष रहेको र न्याय पाऊँ भन्दै उच्च अदालत पोखरा पुनरावेदन गरिन् । कविताकै पुनरावेदनमा जिल्ला अदालतको फैसलाको दुई वर्षमा २०८० वैशाख १० गते न्यायाधीश रमेशराज भण्डारी र डिल्लीराज आचार्यको इजलासले जिल्लाको निर्णय उल्टाउदै जेल बस्नु नपर्ने फैसला गरेको हो । उच्च अदालतको फैसाला सगै विपिन र कविताबीच पति र पत्नीको नाता कायम भएको हो । आफू क्षेत्री र विपिन दलित भएकै कारण उमेर कम भएको नाममा षड्यन्त्रपूर्वक फसाउने काम भएको कविताले बताइन् ।





