शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुनचौपारीको बजेट ४४ करोड ६९ लाख 

अर्जुनचौपारीको बजेट ४४ करोड ६९ लाख 


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८०, सोमबार
स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाको १३ औ गाउँ सभामा जनयुद्ध र मभेश अन्दोलनलाई नीति तथा कार्यक्रम समेट्ने प्रयास गरिएको छ ।
अर्जुनचौपारीमा नेपाली कांग्रेसको दुई तिहाइ बहुमत छ । ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइते, अपाङ्ग, सम्पूर्ण दिवंगत योद्धाका टुहुरा, वेपत्ता एवं तिनका परिवारजनहरुलाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको नीति तथा कार्यक्रममा स्मरण गरिएको हो ।

एक वर्षमा उल्लेख्य प्रगति 
गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पछिल्लो एक वर्षमा शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण र गौरव गर्न लायक सुधारहरु भएको बताइएको छ ।
रुग्ण अवस्थामा रहेका र लामो समयदेखि अलपत्र परेका योजनाहरुलाई निरन्तर खबरदारी, अनुगमन, सहजीकरण र समन्वय गरी उल्लेख्य प्रगति गर्न सफल भएको अध्यक्ष तिवारीको जिकिर छ ।
एक वर्षमा साढे चार किमी सडक कालोपत्रे, तीन महिनामा ट्रस ब्रिज निर्माण, एमआई १६ ल्याड गर्न सक्ने हेलिप्याड,  स्थानीय पाठ्यपुस्तक लेखनलाई उनले उपलब्धीको रुपमा व्याख्या गरे ।

नीति तथा कार्यक्रममा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयहरुसम्म पुग्ने सडकहरु कालोपत्रे गर्ने प्रतिबद्धता गरिएको छ भने वडा भित्रका अन्य शाखा सडकहरुलाई स्तरोन्नति गरी बाह्रै महिना यातायात सुचारु हुने व्यवस्था गर्ने बताइएको छ ।
शैक्षिक सुधार केन्द्रको स्थापना 
यहाँको शैक्षिक सुधारको लागि गाउँपालिकाको केन्द्रमा शैक्षिक सुधार केन्द्रको स्थापना गर्ने नीति पालिकाले लिएको छ ।
शिक्षण सीप कम भएका शिक्षक र कमजोर विद्यार्थी पहिचान गरी क्षमता अभिवृद्धि गर्नको लागि र विभिन्न आवश्यक तालिमहरु संचालन गर्न केन्द्र स्थापना गर्ने नीति लिएको तिवारीले बताए ।
पालिकाले सामुदायिक विद्यालयहरुको सर्वपक्षीय मूल्याङ्कन र सुधारको लागि शैक्षिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा पनि गरेको छ । सामुदायिक विद्यालयलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिने नीति पालिकाको रहेको छ ।

‘नागरिकलाई टेवा, टोलटोलमा स्वास्थ्य  सेवा’भन्ने नाराकासाथ आवश्यक औषधीहरु, सरसफाई लगायत अन्य जनचेतनामूलक कार्यक्रमका साथै सामुदायिक स्वास्थ्य सेवा घरघरमा पु¥याउने लक्ष्य लिएको छ । लामो समयदेखि सम्पन्न नभएका खानेपानीका योजनाहरुलाई सम्पन्न गर्न पहल गर्ने, पुराना आयोजनाहरु आवश्यकता अनुसार मर्मत संभार र पालिका भित्रको खानेपानीको समस्यालाई यथाशीघ्र समाधान गर्ने नीति अवलम्बन गर्ने बताइएको छ । नीति तथा कार्यक्रममा महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्ने तथा सामुदायिक विकासका कार्यहरुमा समान सहभागिता गराउदै आय आर्जनमा जोड्ने बताइएको छ ।
पालिकाकाले दरौंखोला, केवरेखोला र दिर्जेखोलामा माछा पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिएको छ । अर्जुनचौपारी बजार क्षेत्र भित्र सीसीटीभी क्यामेरा, सडक बत्ती जडान गरी सुरक्षा व्यवस्थालाई चुस्त बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ । जलबराह, पञ्चकन्या मन्दिर, थाप्ले, डहरेदेउराली, एकानन्द गुफा, शिला,रापाकोटकालिका, तामुलेक, रामसीताताल लगायतका ठाउँमा ग्रामीण पर्यटन पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिईनेछ र लामडाँडा होमस्टेलाई नियमित रुपमा सुचारु गर्न प्रचार प्रसार तथा थप श्रोतसाधनको व्यवस्था गर्ने बताइएको छ । उल्लेखित नीतिहरुको कार्यान्वयनका लागि  ४४ करोड ६९ लाख बराबरको बजेट पालिकाले ल्याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->