शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विरुवाको बजेट ४९ करोडको

विरुवाको बजेट ४९ करोडको

अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा ।


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८०, आइतबार

स्याङ्जा/ विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८० लाख ६७ हजार छ सय रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । १३ औ गाउँसभाले पारित गरेको बजेटको चालुतर्फ ३३ करोड १६ लाख ६२ हजार छ सय र १५ करोड ६४ लाख ४५ हजार रुपैयाँ पूँजीगत रहेको छ । पूँजीगत तर्फको बजेट आर्थिक विकासतर्फ १४.९७ प्रतिशत, सामाजिक विकासमा २४.३८ प्रतिशत, भौतिक पुर्वाधार विकासमा ४७.२३ प्रतिशत,वन वातारवरणमा ७.४४ प्रतिशत र संस्थागत विकास सेवा प्रवाहमा ५.९८ प्रतिशत रहेको छ भने चालुतर्फको बजेट जनप्रतिनिधिको पारिश्रमिकसहित हो ।

विवादका कारण गत असार ९ गते सुरु भएर दुई पटकसम्म स्थगित गरिएको १३ औं गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमले गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचानलाई प्राथमिकता दिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष सूर्य कुँवरले गरिबीको रेखामुनी रहेको जनताहरुको पहिचान गरी यसै वर्षभित्र परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको बताए । उनका अनुसार पालिकाले गरिबीको परिचयपत्रको आधारमा सेवा सुविधा दिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘एक घर एक रोजगार’ कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आबमा रोजगारी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि पालिकाबाट साझेदारी गर्ने नीति लिएको उनले बताए ।

सीपमा आधारित शैक्षिक पाठ्यक्रम

पालिकाले वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरेर सवै विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउने नीति लिएको छ ।

गाउँपालिकाको स्थानीय शिक्षा पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातिय तथा सांस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतिबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिने व्यवस्था गर्ने छ ।

विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गर्ने नीति लिएको छ ।
अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदानको लागि विशेष व्यवस्था ,सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनालाई पालिकाले प्राथमिकतामा राखेको छ ।

निःशुल्क जाँच र उपचार

पालिकाले नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा समेटेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ परिक्षण गर्ने कार्यक्रम निरन्तरता लिनेछ भने बर्थिङ सेन्टर र स्वास्थ क्लिनिकहरुको सेवालाई स्तरोन्नति गर्दै प्रयोगशालासहितको सेवा उपलब्ध गराउने नीति लिएको छ ।

पूर्वाधारमा निजी क्षेत्रसँगको साझेदारी

पूर्वाधारका योजनाको निर्माण तथा सञ्चालनमा निजी क्षेत्र संगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरि कार्यान्वयन गरिने छ । प्रभावकारी सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन सूचना प्रणाली तयार गरी लागू गर्ने नीति पालिकाले लिएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार गरिने छ भने पूर्वाधारका आयोजनाहरुमा गुणस्तर कायम गर्न प्राविधिक ल्यावको निर्माण गरी गुणस्तर परीक्षणमा आधारित भुक्तानी गरिने नीति पालिकाले लिएको छ ।पालिकाले ‘एक वडा–एक पार्क’ निर्माण नीतिलाई निरन्तरता दिएको छ भने निर्माणाधिन गाउँपालिका बसपार्कलाई समयमै सम्पन्न गरी आगामी आबबाट प्रयोगमा ल्याउने अध्यक्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।

रैथाने बालीको संरक्षण

पालिकाले रैथाने बालीको संरक्षणका लागि विउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा बताएको छ भने गाउँपालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानीय परिकारको ब्राण्डको रुपमा खाना उपलब्ध गराउने छ । कृषि उपजको आयात प्रतिस्थापनको नीति लिई कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउदै व्यवसायीकरण गर्ने नीति पालिकाले लिएको हो । कृषकका उत्पादनलाई बजारीकरणमा सहयोग पुयाउने हेतुले विरुवा–१, विरुवा बजारमा कृषि उपज संकलन केन्द्र संचालन पालिकाले गर्नेछ भने एक वडा एक कृषि तथा पशु प्राविधिकको नीतिको निरन्तरता, प्रभावकारीता कायम गर्दै विस्तार गर्ने नीति पालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->