बागलुङ/ उन्ताका ब्राम्हण समाजमा छोरीले खान–लाउन दुःख झेल्न नपरोस् भनेर परालको टौवा र धानको भकारी हेरेर छोरी दिने चलन थियो । जनजाति समुदायमा भने केटा सेनामा जागिरे छ÷छैन हेरिन्थ्यो ।
न ब्राम्हणका जस्तो ठूलो टौवा र भकारी, न सेनाको जागिर । जनजाति समुदायको एक घरमा जन्मिएका केवी रानामगरको बिहेका बेला निकै सकस भयो । भारतको मन्द्रासमा माध्यमिक तहको पढाइ पूरा गरेका दक्षिण बागलुङको राङखानी गाविस १ (हाल जैमिनी नगरपालिका १०) का राना मगरका आमाले छोराका लागि बुहारी माग्न जाँदा सोधियो–के छ इलम ?
केवी लाहुरे थिएनन्, भन्नलाई कुनै इलम थिएन । छोरी पाएनन् । त्यसपछि राना हान्निए भारतको गोरखपुरतिर । कुरा सन् १९६६ को हो । उनी पहिलो प्रयासमा भारतीय सेनामा भर्ति हुन सफल भए । बिहेका लागि केटी माग्न जाँदा कुटुम्बले सोधेको तीखो प्रश्नको जवाफ रानाले एउटै प्रयासमा दिए ।
विद्रोही स्वभावले स्वदेश फर्कायो
अंग्रेजी बोल्न र टाइपिस्टमा अब्बल रानाले भर्तिपछि कठोर तालिमको लागि हैदरावादमा धेरै समय बिताउनु परेन । पढाइ र टाइपिस्टकै कारण सेनाकै प्रशासनिक काममा खटाइयो । तर, परदेशको लाहुरे जागिर सोचेजस्तो थिएन । उनले भारतीय सेनाका अधिकृतले गोरखाली सेनालाई गर्ने अपमान सहन सकेनन् ।
प्रतिवाद गर्दा सेनाको बर्दीबाट टोपी र पेटी खोसियो र प्रो.चाइनाको चार्जसिट दर्ता गरियो । ‘सेनाका अधिकृतले जंगली नेपाली, खाने के लिए भारत आइस् भनेपछि जागिर प्रति वितृष्णा जाग्यो,’ ७४ वर्षीय रानाले विगत सम्झँदै भने, ‘गोरखालीप्रति गरिएको निच व्यवहारका कारण मैले भारतीय सेनाको जागिर छाड्ने निधो गरें ।’
भारतीय सेनामा आफूलाई ‘रस’ नबसेपछि रानाले भोपाल युनिर्भसिटी आइए पढाइका लागि जाने बहाना गरेर उनी नेपाल फिरे । त्यसपछि टुंगियो उनको ४ वर्षीय भारतीय सेनाको जागिर ।
होटल सोल्टीदेखि युएनडीपीको जागिरसम्म
रानाको जीवनमा अनेक आरोहअवरोह छन् । अनेक किस्सा र घटना उनको जीवनसँग जोडिएका छन् । भारतबाट फर्किएपछि नेपाल त आए । तर, घर आएनन् । गोरखपुरबाट सीधै काठमाडौं हानिएका उनी होटल सोल्टीमा हाजिर भए ।
केही समय होटलमा वेटरको काम गरेका रानाको मन त्यहाँ पनि अडिएन । होण्डा कम्पनीमा टाइपिस्टको काम, काठमाडौं र यति ट्राभल्समा काम गरे । जहाँजहाँ काम गरे, त्यहाँ रमाउनै सकेका थिएनन् ।
एकदिन पत्रिका नियाल्दै थिए । अचानक उनको आँखा युनएनडीपीले कर्मचारी खाजेको सूचनामा पुग्यो । युएनडीपीका लागि फर्म भरेर अन्तर्वार्ता पास गरे । युएनडीपीको प्रशासनमा १९७० मा काम थालेका रानाको समय त्यहाँ भने लामै समय बित्यो ।
अन्याय कहिलै नसहने राना हरेक ठाउँमा आफ्नो आवाज राख्थे । न्यायका पक्षमा लड्थे तर उनको यो व्यवहार कसैलाई मन परेको थिएन । जागिरमै रहेका बेला देशभर राष्ट्रिय पञ्चायतको चुनाव तात्यो । त्यो कुरा ०४३ को चुनावको थियो । उनी बागलुङ आएकाबेला चुनावी माहोल बुझ्न सारा जिल्ला चहारे ।
जागिर काठमाडांैमा थियो यता चुनाव लड्ने हुटहुटी उनमा पलायो । जिल्लाबाट २ जना राष्ट्रिय पञ्चायत सदस्य चुनिने चुनावमा १९ जना प्रतिस्पर्धीसँगै राना चुनाव लडे । राजावादीहरुले उनलाई आफ्नो कित्तामा पार्न जोडबल गरे तर उनी हड्बडाएनन् । विद्रोही स्वभावका उनी स्वतन्त्र चुनाव लडे र तेस्रो भए । ओमकार गौचन र कुलराज शर्माले त्यो बेला चुनाव जितेका थिए ।
चुनावपछि जागिर हिँड्यो । उनी काठमाडौं त फर्किए तर काम थिएन । नयाँ कामको खोजी गर्दा उनी राष्ट्रिय बिमा संस्थान पुगे । त्यहाँ केही बुझेपछि राना बिमा एजेन्ट बने । यी परिघटना हुँदाहुँदै कृषि प्राविधिकसँग रानाको बिहेबारी भइसकेको थियो । बिमाको एजेन्ट बनेका राना बागलुङ फर्किएर जीविकोपार्जनका लागि बीउ भण्डार खोले, बीउ नाङ्लोमा बिक्रि हुन्थ्यो त्यतिबेला ।
बिवाईसीदेखि डिआईआरडिसीसम्म
आफ्नो परिवारको लागि हनेक हण्डर ठक्कर व्यहोरेका रानाले अलिक फराकिलो गरी सेवामा लाग्ने सोचे । ‘घरको लागि गर्नु त छँदैछ, जनताको लागि के त ? समाज सेवा गर्नुपर्छ भन्ने लाग्यो,’ राना भन्छन्, ‘त्यसपछि २०४२ सालमा स्थापना भएको भीमापोखरा युवा क्लबसँग जोडिएँ ।’
क्लबमा कार्यकारिणी सदस्य भएका राना प्रविधिमा अब्बल थिए । त्योबेला कम्प्युटर चलाउनसक्ने विरलै पाइन्थे । रानाले बागलुङमै पहिलोपटक कम्प्युटर ल्याउनेदेखि पहिलो पटक सिंचाइ आयोजना सञ्चालन गर्नेसम्मका कामको थालनी गरे । २४ लाख बजेट रहेको गैरसरकारी संस्थाको सहयोगको आयोजना बागलुङ र म्याग्दीमा ग्रामीण क्षेत्रमा सञ्चालन भयो ।
समाजसेवाको हुटहुटी झन् थपियो । रानाले २०५२ सालमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) सञ्चालनमा ल्याए । विदेशीदातासँग सम्बन्ध सुमधुर बनाउनसक्ने, प्रस्तावहरु लेख्न र बुझाउनसक्ने रानाले डिसिआरडिसीमार्फत बागलुङमा ताजा तरकारी खेतीको विकास, लघुवित्त मार्फत गरिबी निवारण, साना खोलाहरुमा लघुजलविद्युत आयोजनामार्फत दुर्गम गाउँमा उज्यालो पु¥याउने काम, विद्यालयमा भौतिक संरचना निर्माण लगायतका काम गरे । उनको अध्यक्षमा बनेको समितिले उनलाई साथ दियो । राना एकहदसम्म सफल कहलिए ।
डिसिआरडिसीमा लामो समय सेवा गरेर राना अर्को संस्थाको स्थापनामा लागे । धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र खोले । अहिलेसम्म राना संलग्न रहेको संस्थाले सिटिइभिटीको पाठ्यक्रममा आधारित सिलाइकटाई, विद्युत जडान, धारा जडान तथा मेटलवर्कसम्बन्धी ४ महिने तालिम सञ्चालन लगायतका कयौं सेवाका काम गर्दै आएको छ । सीप सिकाउने र आत्मनिर्भर बनाउने काममा राना संलग्न संस्था क्रियाशील छ ।
अब्बल जनप्रतिनिधि
२०५४ सालको स्थानीय तहको निर्वाचनमा राना मगर बागलुङ नगरपालिका वडा नं. १ बाट निर्वाचित भए । नेकपा एमालेबाट चुनाव लडेका रानाले नेपाली कांग्रेसबाट लडेका कृष्ण बहादुर केसीलाई हराए ।
राङ्खानीबाट बसाइँ सरेर रामरेखा आएको मान्छेले चुनाव जित्दैन भन्ने आँकलन थियो । तर, राना निर्वाचित भएरै छाडे । वडाको काम गर्दा निस्कलंक कहलिएका रानाले रामरेखा आधारभूत विद्यालय सञ्चालनमा ल्याए । रामरेखामा सामुदायिक विद्यालय थिएन ।
बोटे, दलित समुदायका बालबालिका अर्कै वडाको सामुदायिक विद्यालय पढ्न जानुपर्थो कि त पढाइ छोडेर बस्नुपर्ने । शिक्षा पहिलो प्राथमिकतामा राखेका रानाले रामरेखा सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा दाताको सहयोगमा भवन बनाए । केही दरबन्दी र केही निजी स्रोतका शिक्षक व्यवस्थापन गरेर विद्यालय सञ्चालनमा ल्याए ।
विद्यालय अहिले बोटे समुदाय र दलित समुदाय मात्रै होइन, रामरेखाका अधिकांश अभिभावकको रोजाइ भएको छ । जनप्रतिनिधि कालमा घरघरमा पुगेर गरेको जनसेवा रामरेखाबासीले अहिले पनि सम्झिरहेका छन् ।
वसन्तजंगसँगको भेट र बहिरा विद्यालयको उदय
२०६३ सालको कुरा हो वसन्तजंग राजभण्डारीले बागलुङ विशेष बाल कक्षामा पढाउँथे । एक दिन केवी रानाको समाजसेवाका विषयमा जानकारी पाएका राजभण्डारी रानालाई भेट्न पुगे ।
उनले सुस्तमनस्थिति भएका बलाबालिकालाई पढाउँदै आएकाले अब बहिराहरुलाई पढाउने विद्यालय बागलुङमा चाहिन्छ भन्ने सोचेका थिए । तर, गर्देला कल्ले ? रानाले गर्लान् कि भनेर राजभण्डारीले बहिरा विद्यालय खोल्न प्रस्ताव गरे ।
रानाले बोल्नै नसक्नेले कसरी पढ्छन् भनेर इन्कार गरे । राजभण्डारीले बहिराले पनि पढेको जानकारी गराए पछि राना छक्क परे । राजभण्डारीले बहिराले पढ्ने लिपीको विषय जानकारी गराए । रानालाई लाग्यो, ‘विद्यालय आवश्यक छ ।’ त्यसपछि जन्मियो, बहिरा स्कुल ।
रानाले ठूलो मेहनतपछि २०६४ सालमा रामरेखामा धौलागिरि बहिरा आवासीय विद्यालय सञ्चालनमा ल्याएरै छोडे । भाडाको कोठाबाट १६ जना बहिरा बालबालिका पढाउन सुरु गरेको विद्यालयमा अहिले ५२ जिल्लाका ३ सय बढी विद्यार्थी पठनपाठन गर्छन् ।
सुविधासम्पन्न भवन, आवासीय सुविधा र कम्प्युटर इञ्जिनियरिङ जस्तो प्राविधिक विषय विद्यालयमा पढाइ हुन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर रानाले सेवा गरिरहेकै छन् । विद्यालयलाई सरकारी, गैरसरकारी र व्यक्तिगत रुपमा सहयोग जुटाउन रानाले कुनै कसर बाँकी राखेनन् । उनको क्रियाशीलता निरन्तर छ ।
कोरोना कालमा प्रदेशकै सफल अस्पतालको अध्यक्ष
रानाको समाजसेवाका अनेकौं उदाहरणहरु छन् । उमेरले ७ दशकको छेको हाल्दै गर्दा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रानालाई एउटा जिम्मेवारी दिए, ‘धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष ।’
संसारभर कोरोना महामारीको सन्त्रास चरम रुपमा फैलिएकोबेला उनी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेका थिए । डरसँगै चुनौतीको पहाड उनको अघिल्तिर थियो । तर, उनी पछि हटेनन् ।
पदेन सदस्यबाहेक रानाले आफ्नै रोजाइका सदस्यहरु चुने । कोरोना महामारी फैलियो । संयोगवश, नेपालकै पाँचौ संक्रमित बागलुङमै देखिइयो । त्यतिबेलासम्म काठमाडौंको शुक्रराज ट्रपिकलबाहेकका अस्पतालले कोरोनाका बिरामीको उपचार गरेका थिएनन् ।
तर धौलागिरी अस्पतालमा शैया नै विस्तार गरेर राना अध्यक्ष भएकै बेला हजारौं कोरोनाका बिरामीको उपचार गरियो । रिफर सेन्टरका रुपमा लिइने गरेको अस्पताललाई अस्पतालजस्तै बनाए । व्यवस्थापनमा परिवर्तन भएपनि अस्पतालमा सघन उपचारकक्ष स्थापना, लिफ्ट सेवा, चिकित्सकको उपलब्धता, सरसफाइ, अक्सिजन प्लान्ट, कोरोना जाँच गर्ने प्रयोगशाला, भवन तथा आवास भवनहरुको व्यवस्थापन र सरसफाइ तथा खानेपानीको उपलब्धतासम्ममा सुधार ल्याएर रानाले सेवा भाव दर्शाए । कोरोना कालमा रानाको सक्रियतालाई लिएर बागलुङबासीले अहिले पनि उनलाई सम्झिने गरेका छन् ।
अनेक क्षेत्रमा केवी राना
बागलुङ नगर खानेपानीको अध्यक्ष भएर रानाले सेवा गरे । रेडक्रसजस्तो सामाजिक संस्था । विभिन्न सहकारी, साहित्यिक संस्थाहरुमा पनि रानाको संलग्नता छ । हक्की स्वभावका रानालाई धेरैले रुचाउँछन् । उनको सिधा र तिखो बोल्ने बानीका कारण कहिलेकाहीं आलोचित समेत हुने गर्छन् । तर, उनले पु¥याएको सेवाभावमा सबै खुशी छन् । उनलाई होइन, उनका सेवा उपभोग गर्नेहरु धेरै छन् । ७ दशक पार गरेका राना अहिले पनि किशोरावस्थामा जस्तै सक्रिय र क्रियाशील छन् । क्रियाशीलता नै रानाको अरुलाई सेवा दिने अर्काे नाम हो ।





