शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भुइँमान्छेको चरित्रमा ‘प्रकाश’ : गोठबाट सुरु हुन्छ दैनिकी

भुइँमान्छेको चरित्रमा ‘प्रकाश’ : गोठबाट सुरु हुन्छ दैनिकी


  • राजाराम पौडेल
  • भाद्र २ २०८०, शनिबार

दलनबाट पर्दामा देखिन थालेका प्रकाश घिमिरे भुइँमान्छेका सुस्केरा सुसेल्न माहिर छन् । त्यसैले त उनी दलनको ‘धम्बरे’ होस् या फिल्म पशुपतिप्रसादको ‘मीतबाउ’, नाटक सिरुमारानीको ‘माझी’ सम्मको अभिनयमा जीवन्त लाग्छन् ।

पोखरा/ अभिनेता प्रकाश घिमिरेले हालसम्म झण्डै ५० वटा नेपाली फिल्ममा काम गरिसके । तीन दर्जन नाटकमा अभिनय गरिसकेका उनले केही टेलीफिल्म र छोटा सिनेमामार्फत् पनि आफ्नो अभिनय कौशल देखाइसकेका छन् । यसरी अभिनय गर्दा उनलाई दर्शकले भुइँमान्छेको भूमिकामा बढी रुचाएका छन् ।

२०६२ मा दलन टेलिसिरियलमा उनले अवसर प्राप्त गरे । आहूतिले लेखेको र नविन सुब्बाले निर्देशन गरेको यो टेलिसिरियलमार्फत् उनी चिनिए ।
त्यसैले त दलन टेलिसिरियलको ‘धम्बरे’ होस् या फिल्म पशुपतिप्रसादको ‘मीतबाउ’, वा नाटक सिरुमारानीको ‘माझी’ । छोटो सिनेमाको मलामी, नाम्लो, नाटक जिउँदो अवशेष, निरमाया, फिल्म साहिँली, गणपति, प्रसाद–२, घामपानी पनि उनी भुइँमान्छेकै रुपमा देखिए । देखेका, भोगेका, सुनेका कृुरालाई अभियनमार्फत् जस्ताको त्यस्तै पस्कने खुबीका कारण उनको अभिनयमा जीवन्तता पाइन्छ ।

दर्शकमाझ भुइँमान्छेकै छाप छोडेका उनी यसरी अभिनय गर्नु सहज भने नभएको बताउँछन् । ‘झर्ला र खाम्ला, देलान् कसैले भनेर नम्र हुनुपर्ने, घरभन्दा बाहिर रिस दबाएर बोल्नुपर्ने, धेरै कुरामा आफूलाई बाँध्नु पर्दा जञ्जिरभित्र जकडिएजस्तो लाग्छ,’ उनले भने । अभिनय पश्चातको सन्तुष्टि बढी भए पनि भुइँमान्छेको जीवनभित्र पसेर अभिनय गर्ने काम कठीन भएको उनको अनुभव छ ।

हुन त, उनको वास्तविक जीवन पनि भुइँमान्छेकै जीवनशैलीसँग मेल खाने किसिमको छ । गोठबाट सुरु हुन्छ,उनको दैनिकी । विहान ५ बजे नै गोठमा जान्छन् । गाई दुहुने, भकारो फाल्ने, तरकारी लगाउने, पानी हाल्ने उनको नियमित कर्म हो । पोखरा ३ नदीपुरबाट ‘मर्निङ वाक’मा भलामसम्म पुग्छन् । फर्कँदा मुलको पानी बोकेर आउँछन्् । घरमा एक घण्टा व्यायाम गरेर फेरि गोठमा नै जान्छन् । बिहानको खाना मध्यान्ह १२ बजेपछि खाने उनले केही समय किताब पढ्न र सामाजिक सञ्जालमा बिताउँछन् । फेरि गोठमा पुग्छन् । साँझ ६ बजे खाना खाएपछि साँझमा एक घण्टा हिड्ने बानी छ । साँझमा केही समय साथीहरूसँग गफिने उनी राती १० नबज्दै सुत्छन् । उनलाई खाने परिकारमा ढिंडो असाध्यै मनपर्छ । यतिबेला तौल घटाउन १५–१६ घण्टा ‘निराहार’ बस्ने गरेका छन् । उमेरले ६० वर्ष नाघे पनि जोशमा कुनै कमी देखिँदैन । सेताम्य दाह्री । तिलचामले कपाल । हँसिलो अनुहार र साधारण जीवनशैली उनको विशेषता हुन् ।

जुनसुकै भूमिकामा पनि न्याय गर्न सक्ने क्षमता भएकोले पछिल्लो समयमा भुइँमान्छेबाहेकको क्यारेक्टरमा समेत उत्तिकै जम्न थालेका छन् । राजा, महाराजा, मुखिया, शिक्षक, नेता, शोषक सामन्तको भूमिकालाईं पनि उनी उत्तिकै न्याय गर्छन् । हैकमवादी चरित्र निभाउन उनलाई सजिलो लाग्छ रे ! यो आम मानिसको चारित्रिक विशेषता भएको उनको बुझाइ छ । त्यस्तो चरित्रको लागि मिहिनेत पनि चाहिँदैन रे ! अब उनलाई विद्रोही खालको खलपात्रको क्यारेक्टर गर्न मन छ । जुन क्यारेक्टर समाजमा उथलपुथल ल्याउने खालको होस् । ‘विद्रोही खालको खलपात्र गर्न रहर छ, हामीले फिल्मी हेर्दा पनि त्यस्तो क्यारेक्टरमा बढी ध्यान जाने गथ्र्यो,’ उनले भने ।

त्यसो त, कलाकार घिमिरेको जन्म पोखरा ३ नदीपुरमा भएको हो । पिता तेजनाथ घिमिरे र माता इन्द्रकुमारी घिमिरेको पहिलो सन्तानको रुपमा जन्मिएका उनी बाल्यकालमा चकचके स्वभावका थिए । शरीर अलि मोटो भएकोले उनी ग्यान्टे देखिन्थे रे ! बुबा निजामती सेवामा भएको कारण बाल्यकाल एक ठाउँमा मात्र सीमित भएन । ४ वर्ष देखि १२ वर्षको उमेरमा लमजुङ, कैलाली, जलेश्वर, जनकपुर, परासी पुगे ।

२०३२ साल पछि मात्र बसाइले स्थिरता आयो । घर नजिकै कल्पना सिनेमा हल थियो । त्यहाँ बढी हिन्दी फिल्म देखाइन्थ्यो । दीपक पराजुली र अनुप बरालसँग संगत थियो । नयाँ सिनेमा हेरिहाल्ने लत बस्यो । हेरेको पहिलो नेपाली फिल्म भने ‘मनको बाँध’ थियो । त्यसअगाडी नै बुबासँग बाहिर बस्दा हिन्दी फिल्मनै हेरेको स्मरण उनीसँग छ । यसरी फिल्म हेर्दा अभिनय के हो भन्ने बुझेजस्तो उनलाई लाग्थ्यो ।

अभिनेता घिमिरेमा सानैदेखि समाजसेवातर्फ उत्तिकै रुचि थियो । २०३९ मा सूर्योदय युवा क्लब स्थापना गरे । अध्यक्ष बने । साहित्य, खेलकुदमा रुचि भएका व्यक्ति त्यसमा आवद्ध थिए । नाटक, कविता, खेलकुद क्षेत्रका कार्यक्रम क्लबमार्फत् गर्न थाले । एकाङ्की नाटक देखाइन्थ्यो । उमेरमा आफूभन्दा साना साथी जम्मा गरेका थिए । अनुप बरालसमेत क्लबमा थिए । अनुपको रुचि नाटकमा थियो । मार्सल आर्टसमेत गर्थे । अनुपकै डिमान्ड पूरा गर्नसमेत नाटक देखाउन थालियो ।

प्रकाशका बुबा तेजनाथले नाटक लेख्थे । आर्मीको लागि भृकुटी नाटक लेखे । त्यो नाटक प्रकाशले पढे । मन छोयो । नाटक गज्जब हुँदो रहेछ भन्ने लाग्यो । त्यसले नाट्य क्षेत्रमा अगाडी बढ्न बल पुग्यो । ‘राति १२ बजेसम्म रिर्हसल गथ्र्यौं । चौतारामा स्टेज बनाएर नाटक देखायौं,’ उनले सम्झिए ।

त्यसताका उनले हिमसन्देश गृहमा पत्रिका बेच्ने गर्थे । बचेको समय अध्ययन गर्थे । पछि बुबाहरुले स्थापना गरेको स्कूलबाट शिक्षकको लागि प्रस्ताव आयो । अनि व्यवसाय छाडेर शिक्षण पेशामा लागे । तर, कलाकारिता र समाजसेवालाई निरन्तरता दिइरहे । २०३९ सालबाट उनले कन्या स्कूलमा शिक्षकको जागिर पाए ।

२०४२ सालमा दीपक पराजुलीको लेखन, अनुप बरालको मुख्य भूमिका प्रकाश घिमिरेको अभिनय तथा निर्देशनमा नाटक मञ्चन भयो । पूर्णाङ्की नाटक ‘जब इज्जत सल्किन्छ’ डाँफे कलामन्दिर मा ७ ‘सो’ देखाइयो । अगाडी नै टिकट बुकिङ भयो । नाटक हाउसफुल थियो । यसरी पहिलो नाटकबाट दर्शकको माया प्राप्त गरेकोमा उनीहरु उत्साहित बने । नाटकमा सुक गुरुङको संगीत थियो । ‘तहाँ झण्डै पाँच सय दर्शक अट्थे, टिभी थिएन, हेर्ने, सांस्कृतिक कार्यक्रम भइरहन्थे,’ उनले भने । यही नाटकबाट साहित्यकार सरुभक्त श्रेष्ठसँग चिनजान भयो । श्रेष्ठकै निर्देशनमा उनीहरुले दूई नाटक मञ्चन गरे । पछि अनुप बराल तथा दीपक पराजुलीको निर्देशनमा समेत नाटक देखाइयो । अनुप नाटक पढ्न बाहिर गएपछि भने नाट्य गतिविधिमा केही कमी आयो । पाँच सयको वार्षिक शुल्क लिएरसमेत नाटक देखाए । वर्षमा ४ वटा नाटक देखाइन्थ्यो । तर, निरन्तरता दिन सकेनन् ।

सरुभक्तका धेरै नाटकमा उनले अभिनय गरे । ताण्डव नृत्य तथा अजम्बरी भ्वाइलेन, न्यायप्रेमी, आस्थामा उठेका हातहरु, क्रिया नाम सर्वनाम विशेषण, काफ्का, थाङ्गला, जात सोध्नु जोगीको, अटलबहादुरको आतंकलगायतका नाटकले रंगमञ्चमा उनको ओझ अझै बढाएको छ ।

हुन पनि उनलाई नाटकमा अभिनय गर्न मज्जा लाग्छ । ‘नाटक जीवन्त विधा हो । कलाकारले मानसिक सन्तुष्टि पाउँछन् । पैसाको भोक चलचित्रले अभिनयको भोक नाटकले मेटाउँछ,’ उनले थपे । पछिल्लो समयमा फिल्ममा व्यस्तता बढ्दा उनले नाटकमा समय दिन सकेका छैनन् । समय मिल्नासाथ नाटकमा काम गर्ने उनको योजना छ । अनुपले पोखरामा थिएटर निर्माण गर्न लागेकोले नाटकमा सक्रिय बन्ने सम्भावना झनै बढेको उनले बताए । साहित्य क्षेत्रमा रुचि राख्ने उनले कविता समेत लेख्थे । अहिले भने छोडे । उनी विभिन्न साहित्यिक संस्थामा आवद्ध भने छन् । केहि रेडियो नाटकमा समेत काम गरे ।

अभिनेता घिमिरेले अभिनय गरेका भष्मेडन, गणपति, पूर्व–पश्चिम, शक्ति फिल्म प्रदर्शनको क्रममा रहेका छन् । प्रदर्शनको क्रममा रहेको भष्मेडन र भर्खरै छायाङ्कन सकिएको कडीमा उनले भुइँमान्छेकै भुमिका निभाएको बताए । फिल्म हात्तीछाप छायाकंनको क्रममा नै रहेको छ । यसका अलावा केही फिल्ममा अनुबन्ध भइसकेका उनी केही फिल्म अनुबन्धको क्रममा रहेको उनले जनाए । शिक्षण पेशाबाट रिटायर्ड भएपछि अभिनयकै क्षेत्रमा उनको व्यस्तता झनै बढेको छ ।

तस्विर: राजाराम पौडेल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->