बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बलात्कार आरोपित सन्दीपको जीवनी पढाउन लागेको हो ?

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बलात्कार आरोपित सन्दीपको जीवनी पढाउन लागेको हो ?


  • विशन क्षेत्री
  • भाद्र ३ २०८०, आइतबार

पोखरा / नयाँ शैक्षिकसत्र सुरु भएलगत्तै स्थानीय पाठ्यक्रम पनि पढाउने भनेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पाठ्यपुस्तक तयार पार्‍यो । पुस्तक छापिएर पनि आयो । त्यससँगै कक्षा–४ का लागि तयार पारिएको पाठ्यक्रमका विषयमा चौतर्फी चर्चा भइरहेको छ । आलोचना पनि गरिँदै छ । सो पाठ्यक्रम पढाउन हुने/नहुने बारेमा फरकफरक धारणा सार्वजनिक भएको छ ।

वैशाखदेखि पढाउने भनिएको पाठ्यपुस्तक सोही कारण गाउँपालिकाले विद्यालयमा पठाएको छैन । पढाउने/नपढाउने विषयमा पनि कुनै निर्णय गरिएको छैन । कक्षा–४ का लागि तयार पारिएको उक्त पाठ्यपुस्तकको पहिलो पृष्ठमा एक व्यक्तिको जीवनी छ । स्थानीय पाठ्यक्रम पढाउने/नपढाउने भन्ने विवादको जडचाहिँ त्यही पहिलो पृष्ठको जीवनी हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी आफैँले लेखेको त्यो जीवनीको शीर्षक छ– सन्दीप लामिछाने । ती लामिछाने उनै चर्चित क्रिकेटर हुन्, जो अहिले बलात्कारको आरोप खेपिरहेका छन् । एक नाबालिगको बलात्कार गरेको आरोपमा उनीविरुद्ध गएको भदौ २१ गते प्रहरीमा जाहेरी दिइएको थियो ।

लामिछानेले नाबालिगलाई भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको जाहेरीमा उल्लेख छ । सोही राति नाबालिगलाई काठमाडौंको एक होटेलमा पुर्‍याएर बलात्कार गरेको उनीमाथि आरोप छ ।

लामिछानेमाथिको यही आरोप सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा अर्जुनचौपारीले आफ्नो स्थानीय पाठ्यक्रममा उनको जीवनी समावेश गरेको र त्यसमा उक्त आरोप उल्लेख नगरेको भन्दै पाठ्यक्रमकै विरोध गरिँदै छ । विवादपछि पाठ्यक्रम पढाउने÷नपढाउने विषयमा गाउँपालिका आफैँ अन्योलमा छ ।

यो जीवनीका लेखक तथा गाउँपालिकाका अध्यक्ष तिवारीले सिकाइ उपलब्धिका रूपमा ‘यस पाठको अन्त्यमा विद्यार्थीहरू सन्दीप लामिछानेको परिचय दिन सक्नेछन्’ भनेर प्रस्ट्याएका छन् ।

तीन पृष्ठको जीवनीमा लामिछाने अर्जुनचौपारी–५ मा जन्मिएको, भारतमा अध्ययन सुरु गरेको, नेपाल फर्किएर चितवनस्थित एकेडेमीमा क्रिकेट सिकेको उल्लेख छ । क्रिकेटको माध्यमबाट नेपाललाई चिनाएको, यहाँको क्रिकेटलाई विश्वसामु चिनाउन योगदान पुर्‍याएको पनि पुस्तकमा उल्लेख छ ।

जीवनीको अन्तिम वाक्यमा लेखिएको छ, “यिनको आशालाग्दो खेलजीवनबाट अझै उत्कृष्ट प्रदर्शन हुने सम्भावना देख्न सकिन्छ ।”

कुनै पनि दोषीलाई जोगाउने उद्देश्य पालिकाको नरहेको र आफूहरू कानुनीराजमा विश्वास गर्ने अध्यक्ष तिवारीले प्रस्ट पारे । “हाम्रोजस्तो माटोमा जन्मिएर पनि वा खेलाडी नै भएर पनि अगाडि बढ्न सकिन्छ है भन्ने सन्देश मात्र हामीले दिन खोजेका हौँ,” उनले भने ।

पाठ्यक्रम बनाएर लागु गर्ने अधिकार भएका कारण स्थानीय शिक्षा ऐनानुसार नै पाठ्यपुस्तक तयार पारिएको तिवारीको भनाइ छ ।

तर, विचाराधीन विषय भएका कारण के गर्ने भनेर तत्काल निर्णयमा पुग्न नसकिएको उनले बताए । उनले भने, “म अहिले काठमाडौं छु, फर्केपछि कार्यपालिकाको बैठक बसेर कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौँ । कानुनी राय पनि लिन्छौँ ।”

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर भने लामिछानेको मुद्दा र उनको खेलजीवन फरक विषय रहेको बताउँछन् । मुद्दा विचाराधीन रहेकै अवस्थामा पालिकाले तयार गरेको पाठ्पुस्तक पठनपाठन गराउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, “विचाराधीन अवस्थामा असर पर्दैन । पालिकाले पाठ्यक्रम बनाउन पाउँछन् । पहिला जे थियो, त्यसकै बारेमा पाठ्यक्रम बनेको होला ।”

पाठ्यक्रम तयार गरिसकेको अवस्थामा पढाउन हुने उनको तर्क छ । अदालतले दोषी ठहर गरेको खण्डमा पनि पठनपाठनलाई निरन्तरता दिन सकिने उनले बताए । “पछि कुनै व्यक्ति गलत भयो भने पनि त्यो त उसको इतिहास हो । दोषको पाटो बेग्लै हो, खेलको पाटो बेग्लै हो । मजाले पढाउँदा हुन्छ,” उनले भने ।

अर्जुनचौपारीले यो विषय तत्काल थाती राखेर अर्को पाठबाट पढाउन सुरु गराउने कि भन्ने बारेमा पनि छलफल गरेको छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा लामिछानेले देशको प्रतिनिधित्व गर्दै विदेशमा गएर पनि प्रतियोगिता खेलेका छन् । गएको फागुन १५ गते सर्वोच्चले उनलाई सर्तसहित विदेश जाने अनुमति दिएको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले १५ दिनभित्र नेपाल फर्किसक्नुपर्ने सर्तसहित लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई समेत सदर गरेको थियो ।

मुद्दा नसकिँदै विदेश जानेदेखि प्रतियोगिता खेलिरहेको अवस्थामा उनको जीवनी पढाउने कि भन्ने विषयमा पनि कार्यपालिका बैठकमा छलफल भएको तिवारीले बताए । अर्कोतर्फ, आफूहरूले तयार गरेको पाठ्यक्रम छापिएर नआउँदै सामाजिक सञ्जालमा ‘लिक’ भएको उनको भनाइ छ ।

“हामीले पढाउने/नपढाउने निर्णय नहुँदै सामाजिक सञ्जालमा लिक भयो । पालिकामा भन्दा पहिला सामाजिक सञ्जालमा पाठ्यपुस्तक देखियो । तर, हामीले आधिकारिक निर्णय गरिसकेका थिएनौँ,” उनले अगाडि थपे, “पुस्तकमा आएको छ । छापिएर आएको छ । त्यो पाठ पढाउने/नपढाउने हामी गएपछि छलफल गर्छौँ । दोषी ठहर गर्दाको दिन त पुस्तकबाट निकालिहाल्छौँ ।”

अन्तिम फैसला कुरेर नै हालसम्म पाठ्यक्रम लागु नगरिएको उनले जिकिर गरे । अब छिटै बैठक बसेर पाठ–२ बाट भए पनि पाठ्यक्रम लागु गर्ने उनले संकेत गरे । लामिछाने दोषी ठहर भएको खण्डमा पहिलो पृष्ठमा छापिएको उनको जीवनी समेटिएको ‘च्याप्टर क्लोज’ गर्ने तिवारीले बताए ।

“अहिले सम्बन्धित च्याप्टर नपढाउने र अरूचाहिँ पढाउँछौँ होला । शिक्षकलाई नै उक्त च्याप्टर नपढाउन भनिसकेपछि परीक्षामा सम्बन्धित पाठबाट प्रश्न पनि आउँदैनन्, त्यसकारण विद्यार्थीहरूले पनि वास्ता नगर्लान्,” उनले भने, “पहिलो पेजमा महत्त्वपूर्ण हुन्छ भनेर राखेका होइनौँ, हटाउन सजिलो हुन्छ भनेर पनि पहिलो पृष्ठमा राखिएको हो । सबै विद्यालयलाई पनि पाठ्यक्रम निकालिएको विषयमा पत्राचार गर्छौँ । दोषी ठहर नभएको खण्डमा चाहिँ अगाडि बढाउँछौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->