पर्वत/ जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएका विकास तिमल्सिना ट्राफिक प्रहरीको रूपमा कार्यरत रहँदा बनाएको छवि बेग्लै छ । नियम उल्लघंन गरेकाहरूलाई कारबाही भन्दा धेरै सचेतना र सहयोग गरेमा सुधार आउन सक्छ भन्ने मान्यताका साथ उनी जहाँ कार्यरत रहे त्यहाँका ट्राफिक व्यवस्थापनमा आफ्नो जिम्मेवारी पूरा गरे ।
ट्राफिक प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा बहाल रहँदा रहँदै उनी २०७३ फागुन २८ मा निवृत्त भए । देउपुरको वडाध्यक्षको रूपमा निर्वाचित बने । ट्राफिक प्रहरीको रूपमा रहँदा राम्रो काम गरेका उनलाई नागरिकले पनि विश्वास गर्दै निर्वाचित गराए । वडाध्यक्ष बनेपछि सामान्यतः सबैले गर्ने वडाका काम त गर्नै पर्छ नै त्योभन्दा फरक कोभिड–१९ को बेलामा संक्रमितहरूलाई आफैंले मोटरसाइकलमा बोक्नेदेखि मृत्यु भएकाहरूको शव व्यवस्थापनको काम पनि उनी आफंैले गरे ।
पदले वडाध्यक्ष रहे पनि उनको काम गर्ने शैली प्रहरीकै ‘चेन अफ कमान्ड’ मा जस्तो हुन्थ्यो । कुनै पनि बहानामा नागरिकको समय एक मिनेट पनि खेर फाल्न हुँदैन भन्ने मान्यताका उनी नेपाल प्रहरीको असईदेखि वडाध्यक्ष हुँदै सफल कृषकको रूपमा पनि स्थापित भए ।
प्रहरीमा छँदाको सबेरै उठ्ने र निरन्तर खट्ने बानीले उनलाई पाँच वर्षकै अवधिमा जिल्लाकै सफल कृषक पनि बनाएको छ । ०७३ सालमा वडाध्यक्ष बन्नको लागि प्रहरी सेवाबाट अवकाश लिएका उनले माछा पालनमा पनि हात हाले । जिल्लाकै मोदी गाउँपालिका–५ बाजुङ स्थित टिमुरेमा पर्ने पाती खोला किनारमा रहेको ‘पातीखोला रेन्बो ट्राउट फार्म’ मा आफू पनि शेयर सदस्यको रूपमा प्रवेश गरे ।
आफूसहित पाँच जनाको लगानी रहेका जिल्लाकै ‘मोडल फार्म’ मा खटिरहेका देखिन्छन् निवर्तमान तिमल्सिना र उनकी श्रीमती सरस्वती । जनप्रतिनिधि भएका बखत पनि कर्मचारीकै जस्तो कार्यालयमा काम गर्न खट्ने तिमल्सिनाको बिहान चार बजेदेखि नै फार्ममा खटिने बानी तार्जे छ ।
बिहान १० बजे वडा कार्यालयमा पुगेका उनी बेलुका ६ बजे फार्ममा आएपछि राती ९–१० बजेसम्म फेरि फार्ममै खटिरहेका हुन्थे । ‘वडाध्यक्ष हुनु भनेको कुनै शासक हुनु त होइन, जनता पनि नेता नै हुन् । उनीहरूको भीडमा पनि अलिकति बढी जिम्मेवारी लिएको मात्र न हो । वडाध्यक्ष हुँदैमा काम गर्न नहुने भन्ने त हुँदैन’, उनी भन्छन्, ‘अहिले जनप्रतिनिको रुपमा वडामा जान नपरे पनि जनसरोकारका विषयमा त सहभागिता भइरहेको हुन्छु । अहिले पनि बिहान चारै बजे उठेर फार्ममा जान्छु, पोखरी सफा गर्छु, माछाको ग्रेडिङ गर्छु, माछा निकाल्छु, दाना हाल्छु । बेलुका पनि त्यही हो, आफैले काम नगरेसम्म मज्जा नै लाग्दैन ।’
बोलीमा जस्तै व्यवहारमा पनि त्यस्तै काम गरिरहेका हुन्छन्, उनी । उमेरले ४९ वर्ष पुगेका तिमल्सिनाले आफू प्रहरीमा रहँदा नै माछा फार्मको अवलोकन गरेका थिए । त्यहाँको काम गर्न इच्छुक रहेकोले अवकाश हुँदा आएको रकम सोही फार्ममा लगानी गरेको उनी बताउँछन् । प्रहरीको २० वर्षे अनुभव, जनप्रतिनिधिको पाँच वर्षे अनुभव सँगालेका तिमल्सिना आफ्नै पिठ्यूँमा माछाको दाना बोक्ने गरेको, आफैले माछा सफा गरेर काठमाडौँ पठाउने गरेको अनुभवमा पनि दक्ष बनिसकेका छन् ।
फार्ममा लगानी गरेका अरू चार जना अन्य पेसामा आबद्ध रहेका व्यक्तिहरू हुन् । उनीहरू फार्म रहेको ठाउँमा बस्दैनन् । यही कारण पनि शेयर सदस्यहरूको विश्वासलाई कायमै राखेर व्यवसायलाई सफल बनाउने जिम्मेवारी उनकै काँधमा छ । जिम्मेवारी पूरा गर्नकै लागि जन्म गाउँ देउपुरमा रहेको घरमा चाबी लगाएर फार्म रहेको ठाउँमा श्रीमतीसहित बस्दै आएका छन् ।
फार्ममा हात हालेपछि सबैभन्दा राम्रो उत्पादन र आर्थिक कारोबार यही वर्षमा भइरहेको तिमल्सिना पत्नी सरस्वती बताउँछिन् ।
‘अहिलेसम्म राम्रो भएको छ । हामी रातदिन यसैमा खटेका कारण पनि सफल भएका हौँ’, उनले भनिन्, ‘रेन्बो ट्राउट चिसो पानीमा मात्रै पाल्न सकिन्छ, काँडा पनि खासै नहुने र स्वादिलो हुने भएकाले बच्चाहरूले पनि सजिलै खान सक्छन् ।’ उत्पादन गरेका सबै माछा काठमाण्डौँमा नै बिक्री हुने भएकाले बजारको समस्या नरहेको सरस्वतीको भनाइ छ । विगतका वर्षमा वार्षिक झन्डै ६ टन माछा उत्पादन हुने गरेकोमा यो वर्षको त्यसको दोब्बर १२ टन उत्पादन हुन लागेको र अहिलेसम्म ६३ लाखका माछा बिक्री गरिसकिएको उनले बताइन् । प्रतिकिलोग्राम १२ सयमा माछा बिक्री हुन्छ ।
अरू नगदे बाली छोटो समयमा नै बिक्रीको लागि तयार हुने भए पनि माछाको लागि भने एक वर्ष लाग्ने तिमल्सिना बताउँछन् । यस्तै दाना महङ्गो हुने भएकाले आयात, उत्पादन र बजारमा चनाखो रहनुपर्ने उनको अनुभव छ ।
‘भारतको बन्दरगाहबाट आउने मसिनो सिद्रा भुराको दाना हो । एकै दिनमा ३० हजार रुपैयाँसम्मको दाना खपत हुन्छ । उत्पादन र बजारीकरणमा ध्यान नदिने हो भने एकै पटकमा टाट पल्टिन्छ ।’
२०५३ सालमा प्रहरी सेवामा प्रवेश गरेका तिमल्सिना २०७३ बाट माछा पालक कृषक र २०७४ सालबाट जनप्रतिनिधिको रूपमा काम गरे । नेकपा एमालेबाट वडाध्यक्ष बनेका तिमिल्सिना राजनीति गर्नेहरूले झुटा आश्वासन दिने र बोलेकै काम पनि पूरा नगर्ने गरेका कारण युवा पुस्ता देखावटी रूपमा मात्रै राजनीतिमा सक्रिय भएको हुन सक्ने बताउँछन् । धेरै पैसा लगानी गरेर वैदेशिक रोजगारीमा जानुभन्दा थोरै लगानीले उद्यमी बन्दै व्यवसायलाई बृहत् बनाउन सकिने उनको सुझाव छ ।





