शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देवी भट्टराईको ३५ वर्षे जागिरे यात्रा : अस्पतालदेखि अस्पतालसम्म

देवी भट्टराईको ३५ वर्षे जागिरे यात्रा : अस्पतालदेखि अस्पतालसम्म


  • प्रकाश बराल
  • भाद्र ६ २०८०, बुधबार

बागलुङ/ बिहान उठेपछि चिया खाजा खाएर उनको दैनिकी अस्पतालबाटै सुरु हुन्छ । कहिले बिहानै अपरेशन, कहिले प्रसुती सेवा, कहिले हिंसा पीडित महिलाको उपचार । धौलागिरि अस्पतालमा यी तिनवटै कामका लागि देवी भट्टराईको खोजी हुन्छ । अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको उनी प्रमुख हुन् । घरेलु हिंसामा परेका धेरै महिला उपचार गर्न यहाँ आउँछन् । उनीहरुको उपचार मात्र गरेर पुग्दैन । मनोसामाजिक परामर्शमार्फत उनीहरुलाई निको पार्ने काम गर्नुपर्छ ।

अस्पतालको नर्सिङ इन्चार्ज भएकोले कामको खटनपटन गराउने जिम्मा पनि छ । अपरेशन गर्नुप¥यो भने डाक्टरले बोलाइ हाल्छन् । दुई–तीनजना डाक्टर भएपनि अधिकांश अपरेसनमा देवी खोइ भनेर खोज्छन् । कामको भ्याइ–नभ्याइ भए पनि उनी कहिले थाकेकी छैनन् । न कहिले रिसाउँछिन् । कर्मचारी भए पनि बिहानदेखि रातिसम्म १२ घण्टादेखि १४ घण्टासम्म पनि अस्पतालमा खर्चेकी हुन्छिन् । घुम्न भनेर कतै जान्नन् । दशै तिहार वा बिशेष पूजाको बेलाबाहेक उनी घर पनि गएकी छैनन् ।

पर्वतको कुश्मा माइती भइ तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १३ राइपुर घर भएकी देवी भट्टराईको यो दैनिकी ३० वर्षदेखिको हो । २०५० सालमा उनी सरुवा भएर बागलुङमा आएकी थिइन् । त्यसअघि उनले ५ वर्ष पर्वतको जनस्वास्थ्य कार्यालयमा काम गरिन् । पढ्दापढ्दै ९ महिना उनले काठमाडौंको वीर अस्पतालमा पनि काम गरेको अनुभव बटुलेकी थिइन् । जागिरको ३५ वर्षे इतिहासमा दुई वर्ष भने उनले अछामको मंगलसेन अस्पतालमा पुगेर काम गरेको अनुभव पनि बटुलेकी छन् ।

बागलुङ नेपाल सरकारको भौगोलिक सूचीमा दुर्गम जिल्लामा पथ्र्यो, केही वर्ष अघिसम्म । सरुवा भएर होस् वा पहिलो पोष्टीङ हुँदा होस्, अधिकांश कर्मचारीले सुगम जिल्ला रोज्थे । देवीले त्यस्तो सोचिनन् । बरु दुर्गम स्थानमा बसेर आम नागरिकको सेवा गर्नुलाई आफ्नो कर्तव्य ठानिन् । पोखरादेखि औषधि र सामान बोकेर ल्याएको अनुभव सम्हालेकी देवीले बागलुङ आएर काम थाल्दा धेरैको माया पाएको बताइन् ।

‘यहाँका मानिस धेरै सहयोगी र इमान्दार थिए, त्यसैले लामो समय यहाँ बस्न सकें,’ उनले भनिन्, ‘बाटोको सहज यात्रा नहुन्जेल बागलुङ अस्पतालप्रति धौलागिरीवासीकै ठूलो आस्था र भरोसासमेत थियो । अहिले पनि भरोसा कायम गर्न निरन्तर प्रयास भैरहेको उनले बताइन् । तर, सहज सडक यातायातले कतिपय मानिसले पोखरा र काठमाडौंसम्म पुगेर उपचार गर्न सकेका छन् । कोही रहरले सहरका अस्पताल जान्छन् भने एकादुई बाध्यताले जाने गरेको उनको अनुभव छ ।

पर्वतको नारायण माविबाट एसएलसी, भरतपुर अस्पतालबाट अनमी र पाल्पाको तानसेनस्थित नर्सिङ स्कूलबाट बिएन पास गरेकी उनले पेशामा जोडिएपछि मानवीय सेवालाई पहिलो प्राथमिकतामा राखिन् । २०१६ सालमा स्थापना भएको बागलुङ अस्पताल सानो र जीर्ण घरमा संचालित थियो । त्यतिबेला बागलुङको ग्रामीण क्षेत्रबाट बिरामीहरु उपचार गर्न आउने गर्थे । ‘गाउँघरमा काम गर्दागर्दै आएकाहरुको हातमा सुइ लगाउने ठाउँ पत्ता लगाउन स्प्रिट लगाएर मयल फाल्नुपथ्र्यो’ उनले ती दिनको स्मरण गर्दै भनिन्, ‘पोलेका घाउदेखि हरेक समस्याको उपचार यहीं हुन्थ्यो ।’ पहिला त रिफर गर्ने चलन नभएको उनले बताइन् । धेरै दिन अस्पताल बसेर भएपनि धेरै बिरामी निको भएर जाने गरेको उनले अनुभव सुनाइन् ।

उपचारका लागि बागलुङ आउनेहरु डोकोमा बोकिएर आउँथे । पोखरा जानै परेपनि गाडी भनेको बेला पाउने समस्या थियो । पाइहाले पनि कतिले खर्च गर्न सक्ने थिएनन् । त्यसैले यहीं कुरेर उपचार पछि निको भएर घर फर्केकाहरु धेरै थिए । जब पोखरा बागलुङ सडक केही सहज भयो, बैदेशिक रोजगारी लगायतले आम नागरिकको घरमा पैसा देखिन थाल्यो त्यसपछि भने हुनेखानेहरुले बिरामी रिफर गरेर पोखरा जान थालेका हुन् । ‘उपकरण नभएकोले गम्भीर बिरामी भएका रिफर हुन्थे तर अरु बिरामी पोखरा गए पनि ठूला डाक्टरभन्दा सामान्य स्वास्थ्यकर्मीबाटै उपचार गरेर फर्कनुपथ्र्यो,’उनले अतित सम्झिइन् । ठाउँ ठूलो हुँदैमा गुणस्तरीय सेवा हुने कुरामा उनले शंका मान्छिन् । बरु स्थानीयले धेरै चासो दिएर उपचार गर्ने र बिरामी निको पार्ने काम गरेको उनले बताइन् ।

कोभिडको बेला पनि उनले धेरै अनुभव संगालेकी छिन् । पहिलो भेरिएन्टको २ जना बिरामी चैत महिनामै भेटिएपछि धौलागिरि अस्पतालतर्फ कसैले फर्केर हेर्ने थिएनन् । अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मी र डाक्टरलाई त तरकारी पसलेले पनि बेच्थेनन् । चिया खान पनि कोठामै पुगेर पकाउनु पथ्र्यो । जोखिम मोलेर काम गरेपनि उनीहरुले राज्यले दिने भनेको भत्ता दिएन । बाहिर चर्चा भयो तर स्वास्थ्यकर्मीको आफ्नै समस्या थिए ।

दोश्रो भेरियन्टले धेरैको ज्यान लग्यो । त्यतिबेला लकडाउन खुकुलो थियो । जसका कारण धेरै बिरामी परे । अस्पतालमा आएर भर्ना भएपछि अधिकांसले कोरोना लागेको भनेर आत्मबल गुमाउँथे । ठोस उपचार नभए पनि उनीहरुको लक्षणको आधारमा उपचार गराउनुपरेको उनले बताइन् । आवस्यकताले धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट जडान भयो । अहिले बेडमा भर्ना गरेका बिरामीलाई अक्सिजन प्लान्ट सहयोगी भएको छ ।

निर्माणाधीन बी ब्लक अस्पताल व्यवस्थापन समिति र अस्पतालका कर्मचारी मिलेर सफाइ गर्दै संचालनमा ल्याए । सी ब्लकसमेत अस्पतालकै पहलमा धेरै व्यवस्थापन भयो । अझै हस्तान्तरण नभएपनि अस्पताल व्यवस्थापनले जवरजस्त संचालनमा ल्याएको छ । स्वास्थ्यकर्मीको अनुभवको आधारमा उपचार गराएको अस्पतालमा अहिले भने धेरै उपकरण भित्रिएका छन् । अन्तिममा सिटिस्यान मेसिनसमेत आइसकेको छ । अब भने अस्पतालमा चुस्त व्यवस्थापन समिति रहँदा सुविधासम्पन्न जस्तै भैसकेको छ । समितिले अस्पतालमा नियमित डाक्टर बस्ने वातावरण बनाउनुपर्ने उनले सुझाव दिइन् ।

अस्पतालले विश्वास कमाएको केही उदाहरण पनि छन् । बुर्तिवाङबाट हेलिकोप्टरमा पोखरा उडाएको बिरामी बागलुङ अस्पतालमा अपरेशनपछि निको पारिएको छ । जटिल प्रकारका प्रसुतीका अपरेशनसहित हड्डीको अपरेशन, दुरबीन अपरेशन, डायलायसिस सेवा, बालरोग, नाक–कान घाँटी, जनरल सर्जरी लगायतका धेरै सेवा बागलुङमै सुरु भएका छन् ।

जिल्ला अस्पतालबाट अञ्चलहुँदै उपप्रादेशिक अस्पताल बनिसकेपनि अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी भने अझै अभाव छन् । डाक्टर २०/२२ जना पुग्दा नर्स अधिकृत ५ जनामात्रै छन् । त्यो पनि सबै क्षेत्रको हेर्नुपर्ने बाध्यताका हुन् । अधिकृत नर्स र स्टाफ नर्स थप गर्ने र व्यवस्थापन पक्षले डाक्टर र नर्स नियमित बस्ने अवस्था सिर्जना गर्न सकेमा धौलागिरि अस्पताल पोखराभन्दा अब्बल बनाउन सकिने उनले बताइन् । अस्पतालमा स्त्रीरोग बिशेषज्ञ नभएको बेला चारजना नर्सिङ अधिकृतले आँटेर प्रसुती गराउन खोज्दा पनि बैधानिकताले रोकेर पोखरा पठाउन बाध्यता भएको तितो अनुभव भट्टराईको छ ।

३५ वर्ष नर्स पेशामा बिताएकी भट्टराइ अब ४ वर्षमा उमेरहदले अवकाश पाउने अवस्था छ । तर उनी बागलुङ छाड्ने कुराले अहिलेदेखि पिरोलिएकी छिन् । पति रामप्रसाद भट्टराई अमेरिका, छोरी अष्टे«ेलिया भए पनि उनले वर्षौं मानवीय सेवा गरेको बागलुङ प्रतिको माया त्याग्न नसकेर बसेकी छन् । अहिलेदेखि काठमाण्डौंका अस्पताल र नर्सिङ होमले निवृत्त जीवनमा पनि काम गर्न बोलाएको तर अहिलेसम्म निर्णयमा पुग्न नसकेको उनले बताइन् । ‘यतिका वर्ष बागलुङमा काम गरें, घरघडेरी केही छैन,’ भट्टराइले भनिन्, ‘रिटायर जीवनमा पनि बागलुङमा आएर सेवा गर्न मन छ ।’ १७ बर्ष मेडिकल सुपरिटेण्डेन्ट भएर निवृत्त भएका डा. तरुण पौडेल काठमाडौं पोखरा छाडेर सातामा एक दिन भएपनि बागलुङ आएको उनले स्मरण गर्दै बर्षौ सेवा गरेको क्षेत्र बिर्सन नसकिने बताइन् । वर्षांैअघि सुरक्षित सुत्केरी भएर फर्केका दिदीबहिनीले बजार आउँदा अझै सागको मुठो ल्याइदिएको उनले स्मरण गरिन् । ‘साग ३० रुपैयाँको मुठो होला, तर माया ३० लाखले पनि पुग्दैन,’ उनले भनिन् ‘बागलुङे र धौलागिरि अस्पताल सम्झने आशाको त्यान्द्रो त्यही सागको मुठामा लुकेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->