बागलुङ/ बिहानको १० बज्नै लागेको छ । बागलुङ बडिगाडको त्रिभुवन नमुना माविमा बिहान ६ नबज्दै पढ्न आएका कक्षा ११/१२ का विद्यार्थी घर फर्किंदै छन् । कोही स्कुल बस चढ्दै त कोही साथीसंगीसँग गफ गर्दै घर जाने सुरसारमा छन् ।
यसरी एकथरि विद्यार्थी घरतर्फ लाग्दैगर्दा अरु भने स्कुलभित्र छिर्दैछन् । टाढाका स्कुल बसबाट त नजिकका विद्यार्थी साथीसंगीसँग गफ गर्दै आइरहेका छन् । केही समय पहिलै स्कुल गेटभित्र छिरेका केटाकेटी भने साथीसँग खेलिरहेका छन् ।
विद्यार्थीहरुकै भिडमा रहेकी माया दिदीलाई भने अल्लि हतार छ । १० बज्नै लागेको घडी घरिघरि हेरिरहेकी उनीसँग केही केटाकेटीले केही मागिरहेका छन, शिक्षकहरुले केही सोधिरहेका छन् ।
यतिकैमा माया दिदीले १० बजेको विद्यालय घण्टी बजाउँछिन् । विद्यालय माहोल एकैछिनमा फरक भइदिन्छ । बडिगाड गाँउपालिकाको एकमात्र नमुना विद्यालय त्रिभुवन नमुना माविमा यो दैनिकजसो देखिने दृश्य हो । २०४२ साल फागुन १९ गते साविकको दगातुम्डाँडा ७ को दनियाँमा जन्मिएकी नारायणी राना अर्थात् ‘माया दिदी’ले त्रिभुवनमा कार्यालय सहयोगीको रुपमा काम गर्न थालेको १४ वर्ष पुगिसक्यो ।
२०१७ सालमा स्थापना भएको विद्यालयमा २०६६ सालको फागुनसम्म कार्यालय सहयोगीको रुपमा अरुले नै काम गर्थे । त्यो समयमा मायाले कार्यालय सहयोगीको रुपमा काम गर्नु पहिला काम गर्ने केही समय विद्यालय नआएपछि सुरुमा उनी नआउन्जेल २÷४ दिन काम गर्ने शर्तमा मायाले त्रिभुवनमा काम गर्न थालेकी हुन् ।
‘मैले स्कुलमा काम गर्न थालेको १४ वर्ष भयो,’ मायाले भनिन्, ‘२०६६ सालको फागुनमा मलाई २÷४ दिन काम गर्छौ र भनेर सरले भन्नुभयो । घरको अवस्था पनि कमजोर थियो । मैले पछि हुन्छ भनें र काम गर्न थाले ।’
तर, पहिले कार्यालय सहयोगीका रुपमा काममा नफर्किएपछि माया दिदीले नै निरन्तरता पाइन् । ‘२÷४ दिनलाई भनेर शुरु गरेको काम अहिले १४ वर्ष भयो गर्दैछु,’ हाँस्दै सुनाउँछिन् ।
०००
१४ वर्षकै उमेरमा बिहे भएको माया दिदीको २०५६ सालमा विरामीकै कारण बुबा तुलबहादुर रानाको मृत्यु भयो । त्यसपछि भने उनको जीवनमा केही दुःख पनि आइलागे । त्रिभुवनमै कक्षा ५ मा पढ्दापढ्दै उनले पढाई रोक्नुप¥यो । पढाइ रोकेर उनी गल्याङको एक घरमा बच्चा हेर्ने र घरको काम गर्ने गरि केही समय बिताइन् ।
केही समय गल्याङमा बिताएर आफ्नै गाँउ फर्किएकी मायाले त्यसपछि त्रिभुवनमा काम गर्न थालेकी हुन् । ज्याला मजदुरीका काम गर्दै पढ्दै गरेकी उनी बुबाको मृत्युपश्चात भने अध्ययनलाई अगाडि बढाउन सकिनन् । अध्ययनलाई अगाडि बढाउन नसकेपनि विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरेरै भएपनि धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् ।
‘सुरुसुरुमा स्कुलमा काम गर्दा सरहरुले भनेको पु¥याउन नसक्दा डर लाथ्यो । उमेर पनि सानै थियो, केही कुरा नबुझ्दा काम छोड्छु भन्ने लाग्थ्यो,’ मायाले भनिन् । अहिले त उनी अभ्यस्त भइकिन् । बानी परिसक्यो ।
ठुलो परिवार रहेको मायाको घरमा अहिले दुई बहिनीले घरको जिम्मेवारी सम्हाल्दै आएका छन् । आमा, सुस्त मनस्थितिका दाइ, काका बुबासँगै मायाकै एक छोरा र छोरी रहेका उनको परिवार त्रिभुवनमा कार्यालय सहयोगीको रुपमा काम गर्ने माया र बडिगाड २, खर्वाङको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यालय सहयोगीको रुपमा काम गर्ने अमृताले घरको जिम्मेवारी लिएका छन् ।
बिहानदेखि राति अबेरसम्म विद्यालयमा नै समय बिताउने मायालाई स्कुलका केटाकेटीसँगै समय बिताउँदा रमाइलो लाग्ने बताउँछिन् । विद्यालयका शिक्षकहरुसँग जस्तै केटाकेटीदेखि उपल्लो कक्षाका विद्यार्थीहरु पनि माया दिदीसँग रमाइलो मान्छन् । जीवन रमाइलोसँगै बितिरहँदा मायालाई २०७८ सालमा भने फेरि अर्को ठूलो समस्यासँग जुध्नुप¥यो ।
कोरोना महामारीले विश्व आक्रान्त थियो । कोरोना संक्रमितसँग जान स्वस्थ व्यक्ति डराउँदा बडिगाड गाँउपालिकाले त्रिभुवन नमुना माविमै १० बेडको आइसोलेसन केन्द्र बनायो । त्यही केन्द्रमा स्वास्थ्यकर्मीसँग कोरोना संक्रमितको उपचार व्यस्त थिइन्, माया । त्यही समयमा कुवेतमा रहेका उनका श्रीमान पनि संक्रमित हुन पुगे ।
या माया संक्रमितकै उपचारमा सहयोग पु¥याइरहेकी थिइन् । उता १६ वर्षदेखि कुवेतमा कार्यरत आफ्नै श्रीमानको उपचारमा खटिने कोही भएनन् । उनले श्रीमान गुमाउनु प¥यो । ‘यहि स्कुलमा म कोरोना लागेका अरु बिरामीको स्याहार गर्दै थिएँ । तर मेरो श्रीमानको स्याहार गर्न सकिनँ,’ मलिन मुद्रामा उनले सुनाइन्, ‘बिरामी भएर अस्पताल गएको २ दिनसम्म कुरा भएको थियो । पछि न म्यासेजको रिपलाई आयो न फोनमा नै कुरा भयो ।’
असार ७ गतेसम्म कुरा भएपछि एक्कासी असार २६ गते अरु कसैले श्रीमान यो संसारमा नभएको भनेर फोनमा सुनाइदिँदा उनी निशब्द भइन् । ३४ वर्षको उमेरमा धेरै कुरा भोगेको बताउँदै मायाले अब छोराछोरीलाई कुनै क्षेत्रमा लागाउन पाए मन खुशी हुने बताउँछिन् ।
मायाका छोरा छविलाल राना र छोरी सविता राना अहिले त्रिभुवन माविमै कक्षा १२ मा कृषि विषय अध्ययन गरिरहेका छन् । २५ सय रुपैयाँबाट जागिर सुरु गरेकी मायालाई विद्यालयको काममा छोराछोरीसँगै परिवारले अहिले साथ दिइरहेका छन् । १४ वर्षसम्म विद्यालयको कामबाट आफूले पढ्न नपाएपनि यसै स्कुलमा पढ्ने पढाउने सबैबाट धेरै कुरा सिक्न पाएकोमा भने माया निकै खुसी छन् । भन्छिन, ‘जीवनमा धेरै शिक्षा यसैबाट लिएको छु ।’





