पोखरा/पोखरामा चार दशकअघि प्लाष्टिक चलनचल्तिमा थिएन । त्यतिबेला बजारमा कागजमै वस्तुहरु प्याकिङ हुन्थ्यो । सानो बजार थियो । फोहोर जता पायो त्यतै फ्याँकिन्थ्यो । भैरवटोल,नालामुख,तेर्सापट्टी, महेन्द्रपुल, रानीपौवा, रामकृष्ण टोल बगालेटोल, बागबजारलाई बजार भनेर चिनिन्थ्यो । नगर पञ्चायतको कार्यालय रानीपौवामा थियो । रानीपौवाको भगवती मन्दिरको तल रहेको सो कार्यालयको एउटा कोठामा सरसफाइ शाखा थियो भने मातहतमा एउटा ट्रयाक्टर ।
नगर पञ्चायतकाहरुले त्यो ट्याक्टरलाई जापानिज ट्याक्टर समेत भन्ने गर्थे । ट्रयाक्टर साँच्चिकै जापानिज थियो । सहरबाट उठाइएको फोहोर सेतीको धाँजा फाटेको र खाली ठाउँमा फालिन्थ्यो । जनसंख्या बढ्दै गयो । पोखरामा सहरीकरण बढ्न थाल्यो । कागज र कपडाको फोहोरको सट्टा प्लाष्टिकको प्रवेश भयो । २०३५ सालदेखि पोखराको सरसफाइ शाखामा काम गरेका रामजी परियारका अनुसार जहाँ उठायो त्यही नजिकको खोंच वा धाँजा फाटेको ठाउँमै फोहोर विसर्जन हुन्थ्यो ।
‘म २०३५ सालमामा (सरसफाइ शाखामा ) जागिर आएको हुँ । त्यतिबेला एउटामात्र जापानिज ट्याक्टर थियो । त्यसले फोहोर उठाएर लगेर फाल्ने गरिन्थ्यो । त्यतिबेला अहिलेजस्तो ल्याडफिल साइट भन्ने नै थिएन । जता लगेर फाले पनि हुन्थ्यो,’उनले भने,‘ प्रधानपञ्चबाट ठाउँ तोकिने काम हँुदैनथ्यो । त्यो सबै मैले नै हेर्थें । सेती खोंच, खाल्डा, खुल्ला ठाउँ नै हाम्रो लागि ल्यान्डफिल थियो ।’
२०३५ सालदेखि करिब २० वर्ष रामजीले फोहोर शाखामै विताए । उनी पोखरा महानगरमा वैदार पदमा प्रवेश गरेका थिए । सुरुमा कर डिपो (चौकीमा) काम लगाइयो । त्यसपछि सरसफाइ शाखाका सुपरभाइजर बनाइयो । पछि बढुवा हुँदै मुखिया बने । २०४० साल अघिसम्म पोखरामा प्लाष्टिकको फोहोर नभएको उनको भनाइ छ । ‘मैले काम गर्दा अहिले जस्तो फोहोर थिएन । पसलमा सामानहरु पनि कागजमा प्याक गरेर बेच्ने गरिन्थ्यो । प्लाष्टिक भन्ने नै हुँदैनथ्यो । बरु, कपडाचाहिँ फाल्थे । घरघरमा फोहोर राख्ने काम गर्दैनथे । जथाभावी फाल्ने काम हुन्थ्यो,’ उनले सुनाए ।
उनका अनुसार तत्कालीन समयमा बाटो सफा गर्ने फाहोर सफा गर्ने सबै दलित थिए । फोहोरसम्बन्धी काम भएकाले सायद दलित नै राखिएको हुनसक्छ वा दलितमात्रै त्यो काममा राजी भएको हुनसक्छ । रामजी भने सुपरभाइर भएकाले फोहोर सोर्ने काम गर्नुपरेन । ‘फोहोर उठाउने काम गर्ने सबै दलित थिए । सायद अन्य जातकाले यो काम गर्न मान्दैनथे । हामीले रोजगार पाइरहेका थियाँै । तर, म चाहिँ सुपरभाइजरको काम गर्थेँ । जुन काम त्यो भन्दाअघि अन्य जातकाले गरेको भन्ने सुनेको थिएँ’ उनी सुनाउँछन्, ‘म पनि दलित भएकाले नै त्यो शाखामा राखेको हो भने थाहा भएन तर मलाई चाहिँ त्यस्तो कहिल्यै लागेन । विभेद पनि भएन । सफा गर्ने साथीहरुलाई भएको भए त्यो खबर हामीले पाएनाँै ।’ तत्कालीन समयमा फोहोरमा काम गर्न आउने बागलुङका दलित थिए । विना नागरिकता आएका उनीहरुको पोखरामै बसोबास गर्ने भएपछि नागरिकता बनाएर स्थायीसम्म बनाएको रामजी सुनाउँछन् ।
फोहोर व्यवस्थापन गर्ने काम नराम्रो होइन । फोहोर व्यवस्थापनले आम नागरिकलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यतिमात्र होइन पर्यावरणलाई पनि फोहोरले धेरै असर गर्छ । अहिले पोखरामा चुनौतीको रुपमा फोहोर रहेको छ । नगर पञ्चायतदेखि महानगर हुँदासम्म पोखराको फोहोर व्यवस्थापन चुनौतिको रुपमा खडा भइरहेको छ । अहिलेको फोहोर विवादले रामजीलाई २०४१ सालतिरको झल्को दिलाउँछ । त्यो बेला पोखराको रातोपैह्रोमा ल्यान्डफिल साइटका लागि भनेर जग्गाको व्यवस्था गरेको थियो । सुरुमा त स्थानीयले सहजै बेचे । पछि फोहोर फाल्न जाँदा झडप नै भयो । एउटा ट्याक्टर नै जलाइदिए । अहिले सवारी नजलाए पनि समस्या भने उस्तै छ ।’ त्यतिबेला कसैले फोहोरको विरोध ग¥यो भने नगरपालिकाले अर्को खोंच र खाल्डो खोज्थ्यो । उनका अनुसार २०३५ सालतिर भएको जापानिज ट्रयाकटर बिग्रियो । पछि कोरियन हाते ट्याक्टर आयो । त्यो ट्याक्टर बिग्रिएपछि भने ती दलित कर्मचारीहरुले डोकोमै फोहोर बोकेर व्यवस्थापन गर्ने काम पनि गरे । त्यो चक्र एक–दुई वर्षसम्म चलिरह्यो । त्यतिबेला घरबाट फोहोरै निकाल्ने थिएनन् । जहाँ मन लाग्यो त्यहीँ फाल्थे । बढार्ने मान्छेले बढारेर फोहोर उठाएर गण्डकीको खोंच, खाल्डा, भुवानमा हाल्ने चलन थियो । त्यो बाहेक अर्को तीतो अनुभव भनेको वेवारिसे शव थियो । वेवारिसे शव व्यवस्थापन गर्ने काम पनि सरसफाइ शाखाकै थियो । त्यतिबेला उनीहरुले शव व्यवस्थापनसमेत त्यसरी नै सेती खोँच र नदीमा गर्ने गर्थे ।
बस्ती भनेको नयाँबजार, महेन्द्रपुलमा अलिकति अनि तेर्सापट्टि भयो अनि बगरको अलिकति बागबजार क्षेत्र, लेकसाइड तिर थियो । ती सबै ठाउँको फोहोर नजिक पायकपर्ने ठाउँतर्फ विसर्जन हुने थियो ।
‘सुपरभाइजरले जहाँ भन्यो त्यहीँ फाल्ने । कसैलाई बाधा अवरोध नपुग्ने ठाउँमा फाल्ने,’उनी भन्छन्, ‘अझ कुनैबेला त यस्तो समय आयो कि, कुचिकारले डोकोमा बोकेर पनि फोहोर फाले । ‘ट्याक्टर नहुने बेलामा । डोकोमा फोहोर फाल्यो । त्यो बेलामा त यसो बाटातिर जहाँ खाली कुनाकाप्चा देख्यो त्यहीँ फाल्यो । डढ्ने फोहोर आगो लगाएर डढाउने,’ उनी थप्छन् । पछि उनी स्टोरमा सरुवा भए । १५ वर्ष स्टोरमा काम गर्दै सेवा निवृत्त भए ।





