बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) चयन भएका छन् । राजमोको बिहीबार बागलुङ बजारमा बसेको जिल्ला कमिटिको बैठकले थापालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
राजमो जिल्ला समितिका अनुसार गत २०७९ फागुन २७ र २८ गते सम्पन्न सातौँ जिल्ला सम्मेलनबाट निर्वाचित अध्यक्ष राजेन्द्र ढुंगानाले बैठकमा जिम्मा परिवर्तन गर्ने प्रस्ताव राख्दै आएका थिए । ढुंगानाले अध्यक्षको जिम्मेबारी परिवर्तन गर्न पटक पटक आग्रह गरेपछि कमिटिले थापालाई अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकले निवर्तमान जिल्ला अध्यक्ष ढुंगाना जिल्ला सल्लाहकारमा चयन गरेको पनि बताइएको छ ।
राजमो केन्द्रिय सदस्यसमेत रहेका ढुंगानाले यसअघी दोहोरो जिम्मेबारी कठिन भएको भन्दै राजिनामा दिएको चर्चा चलेको थियो । त्यस्तै, बैठकले वडास्तरसम्म राजमोको संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको स्रोतले बतायो । सो अभियान आगामी भदौ १६ गते शनिबारदेखि असोज २७ शनिबारसम्म चल्ने छ ।
बैठकले गरेका विविध निर्णयका विषयमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्ने योजना रहेको जिल्ला समितिले जानकारी दिएको छ ।





