शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने गोपाल सर

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने गोपाल सर


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

लामो जागिरे जीवनबाट अवकास लिएका गोपाल सरमा शैक्षिक उन्नयनका लागि केही गर्ने हुटहुटी बाँकी नै छ । समाजमा देखिनेगरी उनी फेरी छिट्टै उदाउने छन् ।

३९ वर्ष लामो शिक्षण पेशाबाट अवकास भएको एक महिनामात्रै भयो । १० बजे नै विद्यालय पुग्नुपर्ने बाध्यता हट्यो । त्यसो त गोपालकुमार शर्मा विद्यालयमा बहाल छँदा १० बज्न नपाउँदै स्कुल पुग्थे । फर्कंदा रात झमक्क परिसकेको हुन्थ्यो ।
अहिले भने गोपाल सरकी पत्नी मीनाले घडी हेर्नुपर्दैन । घरमै बस्छन् । कहिले खेतीपातीमा व्यस्त, कहिले कोठाभित्र छिरेर पुस्तक पढ्ने त कहिले नयाँ योजनाबारे सोच बनाउने काम गरिरहेका छन् ।

झन्डै ४ दशक लामो समय जागिरे जीवन उनले एउटै विद्यालय जाउआउमा बिताए । बिदाइ भएर फर्केको दिन उनलाई न्यास्रो लाग्यो । जीवनभरको लगानी गरेको विद्यालयको सदस्यताबाट अलग भएझैं लाग्यो । विद्यालयबाट छुट्टिएका थिएनन्, जागिरे दैनिकीबाट मात्र छुट्टिएको सम्झेर घर फर्के । छुट्टिने र भेटिने मानवीय जीवनको चक्र हो भनेर उनले चित्त बुझाए ।

सानो कदका गोपाल सर हेर्दा बुढो भएजस्ता देखिँदैनन् । उनको बोली, अध्ययन र प्रस्तुतिसमेतले उनी तन्नेरी नै देखिन्छन् । लामो जागिरे जीवनबाट अवकास भएपनि उनले शैक्षिक उन्नयनका लागि केही गर्ने हुटहुटी बोकेका छन् । के गर्ने भन्ने कुरा नखुलाए पनि छिट्टै समाजमा देखिनेगरी फेरि गोपाल सर उदाउनेछन् ।

लामो जागिरे जीवनमा उनी नेपाल शिक्षक संघको अध्यक्ष भए, शिक्षक युनियनको अध्यक्ष पनि । जिल्ला शिक्षा समिति र नगर शिक्षा समितिमा पनि अटाए । तर, उनी लखरलखर सदरमुकाममा हिँड्ने, राजनीतिक दलको कार्यक्रममा सहभागी हुनेगरी कहिल्यै भेटिएनन् । उनीमात्र हैन उनको विद्यालयमा ३ वटा पेशागत संगठनका जिल्ला अध्यक्ष कार्यरत थिए । प्रधानाध्यापकले शिक्षाको मात्रै राजनीति गरेपछि उनीहरुलाई पनि जथाभावी हिँड्ने, कक्षा छुटाउने छूट भएन ।

अभिभावकको नियमित सम्पर्कमा रहन्थे, गोपाल सर । त्यसैले त उनले धुले कक्षा कोठालाई बनाए, स्मार्ट कोठासँगै स्मार्ट विद्यालय । २०४२ सालमा शिक्षण पेशामा प्रवेश गरेका गोपाल सर ६ महिनासम्म धम्जाको निर्मल प्राविमा कार्यरत थिए । त्यसपछि सरुवा पाएर सिगाना मावि तित्याङ झरेपछि उनले लगातार एउटै विद्यालयमा काम गरिरहे ।

यो समयमा उनले विद्यालयको भौतिक संरचनामा आमुल परिवर्तन गरे । धुलैधुलोमा भूइँमा बसेर पढ्नुपर्ने बाध्यताको विद्यालय अहिले सफा, चिटिक्क, स्मार्ट कक्षा कोठा भएको बनेको छ ।
आफू बसेको ठाउँ नबनेसम्म आफू बलियो भइँदैन भन्ने धारणा गोपाल सरले बोकिरहे । त्यसैले विद्यालय राम्रो बनाउने अभियानमा जोडिँदा उनले सदरमुकाम झर्न पनि बिर्सेको बताए । ‘अहिले निवृत्त भएपछि पनि पार्टी राजनीतिभन्दा पेशागत विकासमा समय दिनुपर्छ भन्ने लागेको छ,’ उनले भने, ‘त्यसैले अझै गाउँमै बसेर केही गर्नुपर्छ भन्ने मान्यता राखेको छु ।’ पार्टी राजनीति गर्नेहरु धेरै छन्, पेशागत क्षेत्रको उन्नतिमा अभियान चाल्ने थोरै छन् । अझैपनि सामाजिक क्षेत्र र शिक्षाको सुधारमै लाग्ने उनको रहर छ ।

अहिले सिगाना मावि तित्याङका सबै कक्षा कोठामा स्मार्ट टिभी र हरेक शिक्षकको हातमा ल्यापटप पुगेको छ । पूर्ण डिजिटल विद्यालय बनाउने अभियानमा हरेक शिक्षकले ५० प्रतिशत लगानी गरेपछि विद्यालयले थप ५० प्रतिशत लगानी गरिदिएको हो । यसो गर्दा उपकरणको सदुपयोग र संरक्षण समेत भएको छ ।

अहिले सामुदायिक विद्यालयमा धेरै चुनौती थपिएका छन् । त्यसका लागि अब परम्परागत शैली त्याग्नुपर्छ । गुणस्तर सुधारका लागि शिक्षकले विद्यार्थीसँगको सामिप्यता देखाउनुपर्ने बताउँछन्, गोपाल सर । ‘जागिर खान आएकोजस्तो शिक्षक बनियो भने शिक्षाको गुणस्तर सुधार्न सकिँदैन,’ शर्मा भन्छन्, ‘ती विषयमै घोत्लिने सोचमा उनले गाउँमै समय कटाइरहेको छु ।’

उनको पहलमा अरु शिक्षक र अभिभावकले साथ दिँदा आएको विद्यालयको परिवर्तनबारे गोपाल सर सम्झने गर्छन् । कक्षा कोठा नहुँदा स्मार्ट बन्ने रहेछ । खेल भन्ने थाहै थिएन । ३ पटकसम्म वीरेन्द्र शिल्ड जित्ने विद्यालय बन्यो । सदरमुकाममा हुने हरेक साहित्य कार्यक्रममा सिगाना माविका विद्यार्थीले खाली हात फर्कनुपरेन ।

२०५० देखि ०६० को दशकमा त सिगाना माविका विद्यार्थी आए भनेपछि सदरमुकामका सबै विद्यालयले कुनै पदक र पुरस्कार पाउने आशै गर्थेनन् । पछिल्ला दिनमा भने विद्यालयले कक्षा कोठाको गुणस्तरमा धेरै ध्यान दिन थाल्यो । राष्ट्रपति खेलकुद प्रतियोगितामा पनि सिगाना माविको प्रस्तुति कहिल्यै पनि कमजोर भएन ।

बलेवास्थित त्रिभुवन माविबाट २०३७ सालको एसएलसी उत्तीर्ण गरेका शर्माले धौलागिरि बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गरेका थिए । बिएड भने उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्यामपसबाट गरे । बिए र एमए भने उनले प्राइभेट पढे । शिक्षण पेशामा लागिसकेकोले उनले प्राइभेट पढ्न बाध्य भए । एमएड नवलपुरको लुम्बिनी आदर्श डिग्री कलेजबाट उत्तीर्ण गरेका हुन् । उनको मेहेनतबाट धेरै पेशागत संगठन र पूर्व शिक्षकहरु प्रभावित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->