आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मुनडान्स, दोर्जे र सपनाले सिर्जेको रिसोर्ट

मुनडान्स, दोर्जे र सपनाले सिर्जेको रिसोर्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

‘एउटा सपनाले डोहो¥याउँदै यहाँसम्म आइपुगेको छु, आशा छ, भविष्य पनि सुन्दर नै हुनेछ । नेपालको पर्यटनले फड्को मार्ने छ र म यसको एउटा हिस्सा हुनेछु ।’

सपनाले सहरको बाटो देखाउँछ कि सहरले सपना ? नागरिकतामा दरिएको ‘कुलबहादुर तामाङ’ हैन कि आफैंले आर्जेको परिचयको चौघेरा फराकिलो बनेपछि दोर्जे लामा दोधारमा छन् ।

नहून् पनि किन ? काभ्रेको सुदूर गाउँबाट पोखरा आउँदा उनीसँग सपनाको पोको थिएन । गाउँका तन्देरीहरुले नजिकको काठमाडौंमै भाग्य अज्माउँदा उनी पोखरा आइपुगे । पोखराको लेकसाइड ‘गोरा’हरुलाई आतिथ्यता पस्कँदै थियो । उनले गच्छे अनुसारको काम पाए । रेस्टुराँमा भाँडा मस्काए ।

भाँडा मस्काउनु के थियो ? भाग्य चम्काउँदै गए । अनुभवले जागिरमै पदोन्नति गरायो । लेकसाइडले उनलाई ‘बहूत-कुछ’ दिँदै गयो । परर्र अंग्रेजी बोल्ने बने । आर्थिक हैसियत र हिम्मत बढायो । संघर्षमय यात्राक्रममा शुभेच्छुक जोडिए । बाराहीचोकमा ‘मुनडान्स रेस्टुरेन्ट’ स्थापना गरे । मीठो व्यञ्जन पस्कन थाले । शितल चन्द्रमाको मधुर प्रकाशमा उनको रेस्टुरेन्ट भरिभराउ हुनथाल्यो ।

आर्थिक अवस्था उकासिँदै गयो । सपनाहरु बयली खेल्न थाले । ‘म सानो काम गरेर माथि उठेको मान्छे, पर्यटन क्षेत्रमा केही गरौं, रोजगारी दिऊँ भन्ने सोच पलायो,’ सानो स्वरमा उनले मनको कुरा सुनाए ।
समय लयवद्ध हुन्थ्यो त, दोर्जेले धेरै गरिसकेका हुन्थे । तर, लामो आन्तरिक द्वन्द्वले पर्यटन क्षेत्र प्रताडित बन्यो । लेकसाइडमा ‘पर्यटक’ देखिनै छाडे । अरुको जस्तै दोर्जेका पनि सपनाहरु खुम्चिए ।

‘बन्दुक र बारुदको गन्धकै बीच पनि हामीले जसोतसो व्यवसाय धान्यौं, त्योबेला आन्तरिक पर्यटकले भरथेगचाहिँ ग¥यो,’ उनले भने, ‘तर, त्यो १० वर्षले पर्यटन प्रवद्र्धनको रफ्तारचाहिँ रोक्यो, क्षतिपूर्ति अहिलेसम्म भएको छैन ।’
शान्ति बहालीपछि भने पर्यटन क्षेत्रमा उत्साह भरियो । दोर्जे पनि के कम ? उनले अनेकों सपना बुन्न थाले । फेवातालको माथ्लोपट्टि सेदीको पखेरोमा खन्ने–खोस्रने जग्गा जोडेका दोर्जे फुर्सदमा माटोसँग खेल्थे । खेल्नु के थियो र ? उनी बारीमा सागपात र मौसमी बाली लगाउँथे ।
आफ्नै बारीमा उत्पादित सागपात पकाउँथे । ग्राहकलाई खुवाउँथे । यो उपक्रम अहिले पनि जारी नै छ ।

‘बुझेकै क्षेत्रमा नयाँ गरौं भन्ने सोचले रेस्टुराँमा अर्गानिक खाना पस्कन थालेँ,’ उनले भने, ‘रेस्टुरेन्टको भीडमा मुनडान्स फरक देखियो, ग्राहकलाई स्वस्थकर र स्थानीय उत्पादन खुवाउन सके राम्रो हुँदो रहेछ भन्ने सन्देश पनि प्रवाहित भयो ।’

भुइँचालो गयो । सपनाहरु फेरि थच्चारिए । आम नेपालीले जस्तै दोर्जेले पनि भूकम्पको पीडा बिर्सिए । जुनेली रातमा सपनाहरु सल्बलाउन थाले । दोर्जेले सेदीमा रहेको ३१ रोपनी जग्गामा रिसोर्ट खोल्ने निर्णय गरे । ‘सेवाचाहिँ अन्तर्राष्ट्रियस्तरको तर भवन र कोठाहरु नेपाली शैलीको होस् भन्ने सपनालाई मूर्तरुप दिने गरी काम थालेँ,’ उनले भने, नेपाली घरहरु, त्यसमा प्रयोग हुने ढुंगामाटो र काठहरुको आफ्नै विशेषता छ भन्ने मेरो मान्यतालाई रिसोर्ट सपनासँग मिसाएँ ।’

सपना सार्थक बनाउन उनले आर्टिटेक्ट अरुणदेव जोशी र इन्टेरियर डिजाइनर सिद्धार्थ गोपालन् गुहारे । मन खोलेर लगानी गरे । अहिले सेतीमा मौलिक नेपाली शैलीको एउटा ‘सानो गाउ’ँ तयार भएको छ ।

ढुंगाले छाइएको मौलिक नेपाली घरका कोठा–चोटाहरु चाक्ला छन् । आधुनिकताको फ्युजन गरिएका ती कोठा वातानुकूलितमात्र छैनन्, सबैखाले सुविधाले लैस छन् । हरेक कोठाको झ्यालबाट चियाउँदा फेवाताल देखिनु रिसोर्टको विशेषता हो । दोर्जेका अनुसार रिर्सोटमा जिमखाना, बैठक हल, स्वीमिङ पुल, स्पा, ज्याकुजीलगायत सबैखाले सुविधाहरु उपलब्ध छन् ।

रिसोर्टमा अहिले २३ कोठामध्ये ४ वटा ‘स्विट’ रहेको दोर्जेले सुनाए । ‘रिसोर्टको भुइँमा पनि नेपाली ढुंगा बिच्छ्याइएको छ भने सम्भव भएसम्म कार्पेटदेखि सजावटका सामग्रीहरु सबै नेपाली नै प्रयोगमा गरिएको छ,’ दोर्जेले भने, ‘रिसोर्ट भनेको कोठमात्र हैन, संरचना पनि हो भन्ने कुरालाई ध्यानमा दिइएको छ । कतिसम्म भने यहाँको पर्खाल लगाउनमात्रै पनि हामीले ठूलो लगानी गरेका छौं ।’

जग्गासहित रिसोर्टमा १ अर्ब लगानी भएको उनले सुनाए । रिसोर्टले सेवा सुरु गरिसकेको छ । रिसोर्टमा एक रात बिताउन चाहनेले न्यूनतम् २५ हजार र विदेशीले २५० डलर तिनुपर्छ ।

‘हनिमुन मनाउन आउनेहरु तथा शान्त वातावरणमा रमाउन चाहनेहरुलाई लक्षित गरी रिसोर्ट खोलिएको हो,’ उनले भने, ‘देश–विदेश घुमेँ, नेपालीपन झल्कने रिसोर्ट किन नबनाउने भन्ने सोच आयो अनि त्यही सोचलाई मूर्तरुप दिइयो ।’

धनी हुनुभन्दा पनि केही गरौँ भन्ने भावनासँग रिसोर्ट जोडिएको र नेपालको पर्यटनलाई ‘नेक्ट लेभल’मा लैजाने सोच अनुसार अगाडि बढेको पनि उनले सुनाए । रिसोर्टको आँगनमा भेटिएका दोर्जेसँग निर्माणताकाका अनगिन्ति दुःखका कथाहरु पनि रहेछन् ।

‘ढुंगेघर सिकोचाहिँ मैले विरेठाँटीका घरहरुबाट गरेँ । तर यसमा साह्रै मिहिनेत रहेछ, भनेजस्तो कामदार नै नपाइने,’ उनले भने, ‘नढाँटी भन्छु हजुर, काम गर्दा मान्छे नपाएर म एकचोटि धुरुधुरु रोएँ, हजुर ।’

बागलुङ ताराखोलको ढुंगा, देशका विभिन्न भागबाट काठ र अरु निर्माण सामग्री ल्याउँदाको सास्ती पनि उस्तै छ । तर, यतिबेला उनी खुसी छन् । रिसोर्टसँगै रहेको फार्म हाउसमा फलफुल र तरकारी फलाउने, बारीको तरकारी पाहुनालाई खुवाउने दोर्जेको सपनासँग उनकी धर्मपत्नी एनी लालचन जोडिएकी छन् ।

मीठो खाना बनाउने थकालीहरु परम्परागत सीप नै हो । दोर्जे रिसोर्टको भान्छामा एनीले आफ्नो सीप मिसाउने छन् । भूइँबाट उठेका दोर्जे त्यसैले त ढुक्क छन् । भन्छन्, ‘एउटा सपनाले डोहो¥याउँदै यहाँसम्म आइपुगेको छु, आशा छ, भविष्य पनि सुन्दर नै हुनेछ । नेपालको पर्यटनले फड्को मार्ने छ र म यसको एउटा हिस्सा हुनेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->