बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सार्वजनिक सरोकारका सवालमा एमाले निसीखोलाको ध्यानाकर्षण

सार्वजनिक सरोकारका सवालमा एमाले निसीखोलाको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

बागलुङ/ नेकपा एमाले निसीखोला गाउँ कमिटी बागलुङले सार्वजनिक सरोकारका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । मंगलबार गाउँ कमिटी अध्यक्ष भुमिराज घर्ती नेतृत्वमा गाउँपालिका पुगेको एमाले गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुले विभिन्न २१ बुँदे मागमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।

निसीखोला गाउँपालिकामा सम्पन्न भएका सम्पूर्ण सकरात्मक तथा जनमुखी कार्यक्रमको समर्थन गर्दै गलत काम र कदमविरुद्ध खबरदारी तथा आलोचना गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष घर्तीले बताए । गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा तहगत योग्यता अनुसारका कर्मचारीको व्यवस्था गर्नुपर्ने, तोकादेशबाट वितरण हुने योजना आवश्यकताका आधारमा वितरण हुनुपर्ने र पारदर्शी हुनुपर्ने ध्यानाकर्षण पत्रमार्फत् माग गरिएको छ ।

एमालेले जनताले मागेका बखत जुनसुकै वडाले सूचना उपलव्ध गराउनुपर्ने भन्दै सूचनाको हक सूनिश्चित गर्न पनि माग गरेको छ । गाउँपालिकाभित्र मनाइँदै आइरहेका विविध कार्यक्रम तथा पर्वमा खुलेआम जुवातास, मादक पदार्थ तथा लागुपदार्थ सेवन जस्ता विकृति विसंगति मौलाउँदै गएको भन्दै नियन्त्रण र कारवाहीका लागि माग गरिएको छ ।

‘गत आवको योजना फोरफारक सम्बन्धमा कार्यपालिका सदस्य वडा नं. ३ र ४ का वडा अध्यक्षको भनाइमा उक्त योजना राम्रोसँग सम्पन्न नभइसकेको कुरा बाहिर आउँदा आउँदै कसरी रकम निकासा भयो ? यस सम्बन्धमा पालिकाबाट स्पष्टीकरणसहित जानकारी प्रदान गर्नुपर्ने,’ ध्यानाकर्षण पत्रमार्फत् सोधिएको छ ।

त्यस्तै, गाउँ शिक्षा समिति तत्काल गठन गर्नुपर्ने, पालिका स्तरका लघु जलविद्युत आयोजना, सहकारी, सामुदायिक वनहरुको गठन, प्रभावकारी नियमन, व्यवस्थापन र अनुगमन गर्नुपर्ने, योजनाहरुको उपभोक्ता समिति गठन र अनुगमन सर्वदलीय प्रतिनिधिसहित गर्नुपर्ने, न्यायिक समितिका सदस्य तथा पदाधिकारीहरु पारदर्शी तथा तटस्थ बन्नुपर्ने ध्यानाकर्षण पत्रमार उल्लेख गरिएको छ ।

यस्तै, पालिकाका सबै स्वस्थ्य संस्थामा आवश्यक मात्रामा औषधीको आपूर्ति गर्नुपर्ने, कृषि र भेटेनरीलगायत सम्पूर्ण शाखाहरुमा सूचना केन्द्रको स्थापना गर्नुपर्ने, बाँदर तथा अन्य वन्यजन्तुहरुबाट पिडित कृषकहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, कृषि उपज सामग्रीहरुको अनिवार्य रुपमा समर्थन मूल्य तोक्नुपर्ने, कृषि अनुदानलाई अनिवार्य रुपमा सय प्रतिशत पु¥याउनुपर्ने, स्वास्थ्य क्षेत्रमा रिक्त दरवन्दी अनुसारका कर्मचारी तत्काल नियुक्ति गर्ने र हाल पालिकामा संचालनमा ल्याइएको एम्बुलेन्स सेवामा विपन्न नागरिकलाई निःशुल्क र अन्य नागरिकको लागि सहुलियत दरमा सेवा प्रदान गर्नुपर्ने एमालेको माग छ ।

निसीखोलामा बागलुङ र पूर्वी रुकुमका बीचमा रहेको सिमाना विवादलाई तुरुन्तै समाधान गर्नुपर्ने माग एमालेले राखेको छ । पालिकास्तरमा रहेको कृषि कोल्ड स्टोरहरुलाई अविलम्ब प्रभावकारी अनुगमन र व्यवस्थापनका साथ सञ्चालनमा ल्याउनुपर्ने, पालिका स्तरका प्रत्येक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम संचालनमा ल्याउनुपर्ने, प्रदेश तथा संघबाट आएका योजनाहरुलाई समयमै कार्यान्वयन गर्ने वातावण सहज रुपमा मिलाउनु पर्ने र बजेट विनियोजनका सन्दर्भमा पालिकाबाट पारित निति तथा कार्यक्रम र नारा अनुसारको बजेट विनियोजन भए नभएको जानकारी गर्नुपर्नेलगायतका माग समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->