
स्याङ्जा / स्याङ्जामा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जिवाणु ’कोलीफर्म’ अत्यधिक मात्रामा भेटिएको छ ।
जिल्लामा रहेका ११ वटा पालिकाबाट लिएको ९४ वटा नमूना परीक्षणमा ४१ वटामा ‘कोलीफर्म’को किटाणु देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जिल्लाका सबै पालिकाका मुलमुहान, ट्यांकी, धारा र घरबाट पानीको नमूना संकलन गरी परीक्षण गर्दा पानीमा दिसामा हुने कोलीफर्मको किटाणु अध्याधिक मात्रा पाइएको बताए ।
उनले सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराहरूबाट समेत पानीका नमूना परीक्षण गरिएको बताए । पालिकाकाका सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६.६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१.२५ प्रतिशत कोलीफर्मको मात्रा देखिएको हो ।चापाकोट नगरपालिकामा ६२.६ प्रतिशत, फेदीखोला र हरिनास गाउँपालिकामा ५०.५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६.१ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म देखिएको हो ।
गल्याङ् नगरपालिकामा ३८ प्रतिशत र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा ३७.५÷३७.५ प्रतिशत कोलीफर्मका किटाणु भेटिएको शर्माले जानकारी दिए ।कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६÷१६, भीरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा ८÷८, विरुवा र गल्याङ्मा ६÷६ अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा ४ ÷४ वटा खानेपानीका नमूना संकलन गरी ल्याब परीक्षण गरेको थियो ।
गत वर्षको तुलनामा पानीको शुद्धता प्रतिशत केही बढे पनि यो सुखद नतिजा भने नभएको बताउदै प्रमुख शर्माले पानीलाई छान्ने, उमाल्ने, औषधि प्रयोग वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउनुपर्ने बताए । गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ वटा नमूना परीक्षण गरिएकोमा ५२ प्रतिशत कोलिफर्म भेटिएको थियो ।
कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मृगौलालाई पनि नकरात्मक प्रभाव पार्ने गर्दछ । पुतलीबजारका उपभोक्ता रोशन लामिछानेले वर्षासँगै पानीजन्य संक्रामक रोगहरु बढ्न थालेकाले पिउनेपानी कति शुद्धता रहेको छ पहिचान सहित उपभोग गर्न पाउनुपर्ने बताए ।




