
स्याङ्जा/ चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।उपभोक्ता संरक्षण एने २०७५ र नियमावली ०७६ को प्रावधानअनुसार बजार अनुगमत गरेको हो ।
कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने उद्धेश्यलेसहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा चापाकोट तथा अर्जुन चौपारीमा अनुगमन गरेको हो ।
पौडेल नेतृत्वको टोलीले यहाँका किराना, औषधि पसल, हार्डवयर, होटल बेकरी अनुगमन गरेको हो । चापाकोटमा ६ वटा पसल अनुगमन गर्दा पाँचवटा पसललाई २ लाख ८५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
चापाकोटको किसान स्टोर्स(मार्ट) ले मूल्यसूची नराखेको र ब्लुडायमण्ड रक्सीमा रि लेवलिङ गरेर बिक्री बितरण गरेकाले एक लाख जरिवाना गरिएको थियो । मार्टले ८८० रुपैयाँको रक्सीलाई केरमेट गरी पुन लेवलिङ गरी २ सय थप गरी बिक्री गरेको भेटिएको हो । यस्तै मूल्यसूची नराखेको र बिल बिजक जारी नगरेकोमा न्यू राधाकृष्ण ट्रेडर्स र सोनी दामाचौर हार्डवयरलाई ६०÷६० हजार रुपैयाँ जरिवाना गरेको हो । मूल्यसूची नराखेकोमा खनाल स्टोर्सलाई ५० हजार र पाठक हार्डवयरलाई बिल विजक जारी नगरेकोमा २० हजार जरिवाना तिराइएको हो ।
यस्तै अर्जुन चौपारीमा १२ वटा पसलहरु अनुगमन गरेको र म्याद गुज्रेका सामानहरु भेटिएपनि अन्य कुरामा प्रभावकारी रहेको भेटिएको हो । मुल्य र उत्पादन मिति नराखी अर्जुन चौपारीमा बिक्रीमा राखिएको पनिरको उत्पादक तिनदोबाटो दुग्ध उत्पादक डेरी प्रालि गल्याङ नगरपालिका ८ लाई कानूनी दायरमा ल्याउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उपभोक्ता मञ्च, प्रसासन, प्रहरी, पालिका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको अनुगमनमा मूल्यसूची नराखेको, म्याद गुज्रेका सामान बिक्री वितरण, बिल विजक जारी नभएको भेटिएको थियो । अनुगमनमा बिष्कुट, घिउ, लिची जुस, पीठो, बियर, सुजी, बदामलगायतका सामग्री जफत गरी नष्ट गरिएको थियो ।
अनुगनम टोली आएको थाहा पाएपछि नियम नमान्ने व्यापारीहरु पसल बन्द गरेर भागेका थिए ।





