बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डेङ्गीबाट कसरी बँच्ने ?

डेङ्गीबाट कसरी बँच्ने ?


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ । गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पु¥यायो ।
डेङ्गीले यो वर्ष पनि उल्लेख्य संख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ ।यो रोग हालसम्म ७४ वटा जिल्लामा फैलिसकेको छ ।विक्रम संवत् २०८० सुरु भएयता डेङ्गीकै कारण १० जनाले ज्यान गुमाइसकेका छन् ।
‘पानी पर्ने मौसम भएकाले जोखिम बढ्दो छ । अझै तीनदेखि चार महिना ढुक्क हुने अवस्था छैन। सबैले सावधानी अपनाउनुपर्छ,’ ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले भनेका छन् ।

सर्वसाधारण मानिसले यो रोगले पार्ने असरबारे बुझ्नु र सावधानी अपनाउनु नै डेङ्गी नियन्त्रणका लागि प्रभावकारी हुने डा दाहालको ठहर छ । प्रकोपको रूप लिन सक्ने डेङ्गी रोगबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा शेरबहादुर पुनले डेङ्गी रोगसँग सम्बन्धित केही प्रश्नको उत्तर दिएका छन् ।
लक्षणहरु
अचानक ज्वरो आउँछ । टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्छ । आँखाको गेडी खस्ला जस्तै हुन्छ । खानै मन नलाग्ने र वाकवाकी लाग्ने हुन्छ । यी लक्षणहरूलाई समग्रमा ’डेङ्गी फिभर’ पनि भन्न सकिन्छ । यी सबै प्रारम्भिक लक्षण हुन् । अवस्था गम्भीर हुँदै जाँदा नाकबाट ह्वालह्वालै रगत बग्न सक्छ । ज्यान असाध्यै दुख्छ, उठ्नै नसक्नेगरी। तारन्तार बान्ता हुन्छ। यी लक्षणहरू चेतावनी हुन् र यस्ता संकेत कम नभए अस्पताल जानुपर्छ । चिकित्सकहरूले शरीरको आन्तरिक जाँच गरेपछि कतिपयको पेटमा पानी जमेको देखिन्छ । कतिपयको कलेजोको आकार नै बढेको हुन्छ । अनि अधिक रक्तस्राव अर्को लक्षण हो। यसपछि पनि जटिलता थपिए बिरामी अचेत हुन्छन्। रगतमा प्लेट्लटको मात्रा घट्छ ।

डेङ्गी के हो र कसरी सर्छ ?
डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो । विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको एउटा प्रमुख चुनौतीको रूपमा हेरेको डेङ्गी नेपालमा प्रायः मनसुन सुरु हुनुभन्दा अघिदेखि मनसुन सकिएसम्मै फैलिन्छ । नेपालमा यो पहिलो पटक सन् २००४ मा देखिएको बताइन्छ। सन् २००६ देखि केही वर्षको अन्तरालमा प्रकोपको रूपमा यो फैलिने गरेको देखिएको छ । सन् २०१९ र सन् २०२२ मा भने यसले ठूलो मानवीय क्षति गरेको अधिकारीहरूले बताएका छन् ।

विशेषगरी एइडीज इजिप्टी वा एइडीज आल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट यो रोगको भाइरस मानिसमा सर्छ। भाइरस सार्ने यी दुवै प्रजाति नेपालमा छन् । यी प्रजातिका लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुन्छन् । तर यिनले राति टोक्दै टोक्दैनन् भन्ने हुँदैन । जुनसुकै समयमा यस्ता लामखुट्टेबाट जोगिनु भनेकै डेङ्गीबाट जोगिनु हो ।
रक्त समूहअनुसार लामखुट्टेले कसैलाई धेरै वा थोरै टोक्छ भन्ने हुन्छ कुनै रक्त समूहका मानिसप्रति लामखुट्टे तुलनात्मक रूपमा बढी आकर्षित हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो । यो निष्कर्ष अन्य विभिन्न रोगहरूको हकमा पनि लागु हुन्छ । तर त्यसो भन्दैमा ‘मेरो रगत समूह यो हो मलाई लामखुट्टेले टोक्दैन’ भनेर बस्नु हुँदैन । प्रत्येक व्यक्तिले जोगिनुपर्छ। लामखुट्टेलाई वरपर आउनबाट रोक्नुपर्छ। किनकि त्यो तपाईँप्रति कम आकर्षित होला तर तपाईँकै परिवारका अन्य सदस्यलाई डेङ्गी सार्न सक्छ ।

डेङ्गी सार्ने लामखुट्टे कसरी चिन्ने ?
झट्ट हेर्दा कुन लामखुट्टेले डेङ्गी भाइरस बोक्छ वा कुनले बोक्दैन भन्ने छुट्टाउन गाह्रो हुन्छ । तर एइडीज प्रजातिका लामखुट्टेहरू प्रायः सेतो र कालो रङ्ग मिसिएका हुन्छन् । ती जीब्राको जस्तो छिर्केमिर्के रङ्गका हुन्छन् । यी प्रजाति अन्य लामखुट्टेभन्दा केही भिन्न रङ्ग र आकारका हुन्छन् । त्यसको टोकाइबाट जोगिन प¥यो ।

कसरी जोगिने त ?
‘लामखुट्टेको टोकाइबाट बच्नुहोस्’ भन्न र उपायहरू सुझाउन सहज हुन्छ । तर यसलाई व्यवहारमा उतार्न उत्तिकै गाह्रो छ । किनकि हामीले ‘लामो बाहुला भएको लुगा लगाउनुहोस्’ भन्छौँ तर त्यति मात्र पर्याप्त हुँदैन । डेङ्गी सार्ने लामखुट्टे दिउँसो सक्रिय हुन्छन् । त्यस समय हामी पनि आफ्नो काममा व्यस्त हुन्छौँ । सतर्क बस्ने फुर्सद नै हुँदैन । दिनको समयमा अरू आवाज चर्को हुने भएकाले लामखुट्टे कराएको पनि खासै सुनिँदैन । लामखुट्टेको आनीबानीकै कारण पनि यसबाट बच्नु चुनौतीपूर्ण छ । त्यसैले लामखुट्टेको वृद्धि नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय हो । त्यसका लागि सहजै देख्न सकिने लार्भा र प्युपा नष्ट गर्नुपर्छ ।

प्लेट्लेट्स घट्दा उपचार के हुन्छ ?

सन् २०१० ताका डेङ्गीका बिरामीहरूमा प्लेट्लेट्सको मात्रा घट्दा हामी आत्तियौँ । प्लेट्लेट्स घट्दा बिरामीको गिजा, नाकलगायत शरीरको विभिन्न भागबाट रक्तस्राव हुन्थ्यो । त्यस्तो अवस्थामा हामीले प्लेट्लेट्स ५०,००० भन्दा कम हुनासाथ रगत दिने गर्दथ्यौं । प्लेट्लेट्स मानिसको रगतमा हुने एक प्रकारको कोशिका हो । यसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न सहयोग गर्छ । सामान्यतया मानव शरीरमा प्रतिमाइक्रोलिटर रगत बराबर १.५ लाखदेखि चार लाख प्लेट्लट हुनुपर्ने बताइन्छ ।अहिले बिरामीको स्वास्थ्यमा अन्य समस्या छ भने चिकित्सकको विश्लेषणअनुरूप प्लेट्लस २०,००० भन्दा कम हुनासाथ रगत दिन्छौँ । यदि अन्य शारीरिक जटिलता छैन भने १०,००० भन्दा कम नहुँदासम्म रगत चढाउँदैनौँ ।डेङ्गी भएका मानिसलाई दोहो¥याएर

सङ्क्रमण हुन्छ कि हुँदैन ?

डेङ्गी सङ्क्रमण भएलगत्तै फेरि उही समस्याले सताउने सम्भावना कम हुन्छ । तर केही समयपछि फेरि सङ्क्रमण हुनसक्छ। त्यस्तो अवस्थामा पहिलेको भन्दा फरक ’सीरोटाइप’ सङ्क्रमण भएमा अवस्था जटिल बन्ने अनुसन्धानहरूले देखाएको छ ।डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन् । त्यसलाई सीरोटाइप वन, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई पटकपटक गरी यी चारै प्रकारका डेङ्गीको सङ्क्रमण हुन सक्छ ।

के डेङ्गीको दीर्घकालीन असर हुन्छ ?

यो चर्चा गरिनुपर्ने तर नगरिएको विषय हो । हिजोआज धेरै बिरामीहरूमा ‘पोस्ट–डेङ्गी सिन्ड्रोम’ देखिएको छ । यस्ता समस्यासँग जुधिरहेका बिरामीहरूलाई सुत्न गाह्रो हुने, खान मन नलाग्ने समस्या देखिएको छ । कतिपय बिरामीलाई भने मानसिक तनाव बढेको देखिन्छ ।

यस्ता समस्याको घरेलु उपाय हुन्छन् त ?

लक्षणअनुसार रोगको औषधोपचार गर्नुपर्छ । धेरै समस्या परे अस्पताल जानुपर्छ । चिकित्सकको परामर्शबमोजिम उपचार गरिन्छ। सामान्य लक्षण ठीक पार्ने घरेलु उपायहरू पनि हुन्छन् ।
तर गत वर्ष मेवाको पातलगायत खाएर ठिक हुन्छ भनेको सुनियो। म यस विषयको विज्ञ होइन त्यसैले त्यो सही हो या होइन भन्दिनँ तर यस विषयका जानकारहरूले बिरामीलाई सही ढङ्गमा ‘कति पटक वा कति मात्रा खाने? कसरी खाने ?’ लगायत जानकारी दिनुप¥यो ।किनकि धेरै बिरामीहरू मेवाको पात खाएर ढलेको विवरण लिएर आएका थिए । उनीहरूलाई घरेलु उपाय अपनाउने सही तरिका सिकाउनुपर्छ। सरकारले पनि त्यस्ता विषयको नियमन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->