पोखरा / गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा चापाकोटका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार छ सय २० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सिनियर अहेब कोइराला सरकारी सेवामा रहँदा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर १ गतेसम्म आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ ।
सो अवधिमा कोइरालाले २ करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँ बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।
कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिनरूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।
स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । आयोगले अहेब कोइराला र श्रीमती गीताविरुद्ध बिगो बमोजिम कारबाहीको माग दाबी गरेको छ ।




