शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दसैँ एक, रिवाज अनेक: मनाउने तरिका थरीथरीका

दसैँ एक, रिवाज अनेक: मनाउने तरिका थरीथरीका


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८०, आइतबार

मौसम हल्का चिसिन थालेको छ। खेतमा धानका बाला झुलेका छन्। शरद ऋतु सुरु भइसकेको छ। वर्षा हट्दै गएर घाम रमाइलो लाग्न थालेको छ। अर्थात् दसैँ भित्रिसकेको छ।

मलमासले केही पछाडि धकेलेर कात्तिकको पहिलो हप्ता पुगे पनि सबै नेपालीको घरआगनमा दसैँ सुरु भइसकेको छ। नेपालमा सबैभन्दा धुमधामसँग र सबैभन्दा लामो समयसम्म मनाइने चाड दसैँ नै हो। तर, दसैँ मान्ने तरिका भने एकै किसिमको छैन।

दसैँ घटस्थापनादेखि सुरु भएर १५ दिनसम्म चल्छ। घटस्थापनाको दिन जमरा राखेदेखि १० दिन दुर्गापूजा हुन्छ। त्यसपछिका पाँच दिन मान्यजनको हातबाट टीका लगाइन्छ। तर, टीका लगाउने विधि पनि एकै किसिमको छैन। कहीँ पूरै पाँच दिन टीका लगाइन्छ भने कतै एक दिनमात्र लगाउने चलन छ।

ठाउँ र समुदायअनुसार दसैँ मनाउने शैलीमा विविधता रहेको संस्कृतिविद् जगमान गुरुङ बताउँछन्। ‘शक्ति उपासना (देवी पूजा) गर्ने भएकोले विभिन्न समुदाय र  जातिले आफ्नै शैलीमा दसैँ मनाउने चलन छ,’ गुरुङले भने, ‘नेपालका पहाडमा मनाउने दसैँ प्राचीन भारतवर्षीय चरित्रको छ।’

धार्मिक र सांस्कृतिक मात्र होइन, वैज्ञानिक रुपमा पनि दसैँको महत्व रहेको दाबी गर्छन् गुरुङ।

‘खेतबारीमा काम गरेपछि आराम चाहिन्छ। त्यसकै लागि हाम्रो दसैँ पर्व मनाउन थालिएको हो,’ उनी भन्छन्।

उनका अनुसार दसैँमा मासु खानु पुरानो चलन हो। दसैँको बेलामा खासै कडा काम नहुने भएकोले पेट घटाउन पिङ खेल्ने चलन चलेको उनको भनाइ छ।

‘लिङ्गे पिङमा विज्ञान छ, यसले शरीरमा कसरत पुग्छ,’ उनले भने, ‘आफैँ मच्चाउने पिङले मुटुको चाल राम्रो हुन्छ।’

दसैँमा बलि दिन नहुने भनेर अहिले अधिकारकर्मीले उठाएको कुरामा उनी सहमत छैनन्।

‘नेपाली समाज मासु खाने हो, बलि दिएरै हाम्रा देवीदेवता खुसी पार्ने चलन अहिलेको होइन,’ उनले थपे, ‘नेपालका सबै ठाउँका शक्तिपीठमा बलि दिइनुको कारण यही हो। दसैँमा गरिने कृषि औजार पूजा भूमि पूजासँगै जोडिन्छ। भोग पहिला सबैले दिन्छन्, दसैँ भन्नासाथ बलि हुन्छ। पशु बध हुन्छ।’

आउनुस्, दसैँ मनाउने शैलीमा विविधताबारे चर्चा गरौँ :

१. कतै बलि, कतै पूजा मात्र
जमरा राखेदेखि सुरु भएपनि फूलपाती, अष्टमी र नवमीका दिन नवदुर्गाको पूजा गर्दै बलि दिइन्छ। शक्तिपीठमा बलि दिनकै लागि भीड लाग्छ।

फूलपातीमा बलि दिने चलन अधिकांश ठाउँमा छ। यो पुरानो चलन हो।

तर, कतिपयले बलि दिँदैनन्। रीतपूर्वक पूजाअर्चना भने गर्छन्। पूजा गर्दा फलफूल मात्र चढाउँछन्।

संस्कृतिविद् गुरुङका अनुसार दसैँ भनेकै दुर्गाको पूजा र बलि दिने चाड भए पनि कतिपयले फूलपातीदेखि नवमीसम्म मन्दिरमा पूजा मात्र गर्छन्।

२. विजयादशमी कि बडादसैँ
टीका लगाउने मुख्य दिनलाई तराई मधेशमा विजयादशमी भन्ने गरिन्छ। रामले रावणमाथि विजय प्राप्त गरेको दिनको उत्सवका रुपमा तराईका समुदायले विजयादशमी मान्छन्।

त्यही चलनचल्ती अहिले पहाडतिर पनि छ। तर, पहाडमा नवरात्रको दसौँ दिनलाई बडादसैँ भनिन्छ।

रामलीला मनाउनेले विजयादशमी भनेर मनाउने र दुर्गा पूजा गर्नेले बडादसैँ मनाउने गुरुङको भनाइ छ।

त्यही भएर भारतमा जमरा राख्ने, टीका लगाउने चलन छैन।

‘प्राचीन भारत वर्षीय चरित्र नेपालको गाउँठाउँमा छ, त्यो भनेको दुर्गा भगवतीले महिषासुर दानवमाथि विजय प्राप्त गरेको भएर टीका लगाउने दिन बडा दसैँ हो। दुर्गाले सैनिक अभ्यासबाट युद्ध जितेका हुन्,’ उनी भन्छन्।

३. चारथरीका टीका
नवरात्रको दसौँ दिन मान्यजन, ठूलाबडाको हातबाट निधारमा टीका थापिन्छ। तर, यही टीका पनि एकै किसिमको नलगाउने संस्कृतिविद् गुरुङले बताए।

उनका अनुसार हिन्दू मान्नेहरूले अक्षता, अबिर दही मुछेर बनाइएको रातो टीका लगाउँछन्।

राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारु समुदायले सेतो टीका लगाउँछन्। नेपालमा बौद्ध धर्म मान्नेले दसैँ खासै मनाउँदैनन्।

तर, तामाङ समुदायले सेतो टीका लगाउने गरे पनि पछिल्ला दिन ती समुदाय समेत रातै टीका लगाउन थालेका छन्।

यस्तै, नेवार समुदायले दसैँमा रातो टीका लगाउँछन्। तर, विगतमा केही नेवारहरूले कालो टीका लगाएको अध्ययनबाट देखिएको गुरुङ बताउँछन्।

‘सबै नेवारहरूले कालो टीका लगाउँदैनन्, दसैँलाई मोहिनी भन्ने नेवार समुदायले दियो बाल्दा निस्कले ध्वाँसोमा चामल मुछेर कालो टीका लगाउने गरेको फिल्ड भिजिटमा देखेँ,’ गुरुङले थपे।

उनले उपत्यकाको काँठ क्षेत्रका केही क्षेत्री समुदायले पनि कालो टीका लगाएको पाइएको बताए।

कालो टीकाकै कारण दानव लट्ठिएर देवीले विजय हासिल गरेको विश्वासमा तान्त्रिक विद्यासँग जोडेर दसैँको बेला यस्तो टीका लगाउने चलन चलेको हुनसक्ने उनले जानकारी दिए।

‘सुरु सुरुको दसैँमा घरमै हुने अक्षता र दही मुछेर सेतो टीका लगाइन्थ्यो,’ उनले थपे, ‘बजारको स्थापना भएपछि भारतबाट अबिर भित्रियो। अनि नेवार हुँदै ब्राम्हणहरूसम्म रातो टीका लगाउने चलन सुरु भयो।’

र पहेँलो टीका लगाउने चलन पनि नेपालका केही स्थानमा चलेको छ।

दैलेखको दुल्लुसहित खस सभ्यता भएका स्थानमा दसैँको टीका पहेँलो लगाउने चलन रहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् संस्कृतिविद् यज्ञराज उपाध्यायले बताए।

‘बेसारमा अक्षता र दही मुछेर लगाउने चलन अझै पनि छ,’ उपाध्यायले नेपालखबरसँग भने।

४. कतै एक दिन, कतै पूर्णिमासम्म टीका
घटस्थापनादेखि सुरु हुने दसैँको मुख्य दिन टीका हो। विजयादशमी वा बडादसैँ भनिने यही दिन मान्यजनका हातबाट टीका जमरा लगाई आर्शीर्वाद थापिन्छ। टीका लगाउन साइत जुराइन्छ।

दसैँको दसौँ दिनदेखि सुरु हुने टीका नेपालका ठाउँ अनुसार फरक छ। केही जिल्ला र स्थानमा एकदिन मात्र लगाइन्छ।

संस्कृतिविद् जगमान गुरुङले भने– ‘बाहुनहरूको टीका एक दिन मात्र हो, गुरुङ, मगर दलितहरूले पूर्णिमासम्म लगाउने चलन थियो। राई, लिम्बूले तिहारको भाइटीकासम्म दसैँको टीका लगाएको फिल्ड भिजिट गर्दा देखियो। सबैभन्दा लामो दसैँ मनाउने समुदायमा पर्छन् यिनीहरू।’

‘धेरै ठाउँमा एकादशीपछि टीका लगाउने चलन नै थिएन, अहिले केही जिल्लामा त्यही परम्परा अपनाइएको छ, जहाँ टीकाको भोलिपल्टदेखि टीका चल्दैन,’ उनले थपे।

५. थारु समुदाय टीका लगाइन्छ, पूजा गरिँदैन
थारु समुदायले मनाउने दसैँको शैली फरक छ। पूर्वदेखि पश्चिम नेपालसम्म बसोबास गर्ने यो समुदायमा नवरात्री पूजा गरिँदैन।

यो समुदायले नवमीमा कुखुराको बलि दिन्छ।

दसौँ दिन परिवारका ज्येष्ठ सदस्य, गुरुबा र गाउँका अग्रजको घरमा पुगेर टीका लगाइन्छ। सुरु-सुरुमा सेतो टीकाको चलन भए पनि अहिले भने रातो टीका लगाउने गरिन्छ।

दशमीकै दिन गुरुबाहरू भेला भएर आगोमा अखडिया नाच नाच्छन्। तर देशको पूर्व र पश्चिमका थारुहरूबीच मनाउने दसैँ पनि एकैनासको छैन।

६. अलग छ मधेशको दसैँ
तराई/मधेशका टोल तथा चोक क्षेत्रमा दुर्गापूजा गरिन्छ। अष्टमी वा नवमीमा बलि दिने चलन छ।

बलि नचढाएसम्म माछामासु खाने चलन छैन। मधेशमा एकदिन मात्र टीका लगाइन्छ। सबैले सबैलाई टीका लगाउँदैनन्। जसले दुर्गा पूजा गर्छन्, तिनैले टीका लगाइदिन्छन्।

मधेशमा सूर्य उदाउनुअघि नै जमरा काटेर जमराको फेद नदीमा बगाउने चलन छ।

७. सुदुरपश्चिमको दोयम दसैँ 
सुदूरपश्चिमका केही जिल्लामा असोज/कात्तिकको दसैँभन्दा बढी भव्य चैते दसै मनाइन्छ। त्यसबेला केही स्थानमा एकदिन र केहीमा पूर्णिमासम्म टीका लगाइन्छ।

जबकि, अन्य स्थानमा भने असोज/कात्तिककै दसैँ भव्य हुन्छ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् संस्कृतिविद् यज्ञराज उपाध्यायले सुदूरपश्चिमका केही जिल्लामा अन्य ठाउँको भन्दा भिन्न रुपमा बलि दिइने बताए।

सुदूरपश्चिमका समुदायले राँगोलाई बलि दिनुअघि विशेष विधि अपनाउने उनले बताए। बलि दिने खुलाल र कुँवर हुन्छन्। खप्तडी (खड्का) हरूले पनि राँगोको बलि दिन पाउँछन्।

अछामको सन्निकोट मन्दिरमा अष्टमीको दिन मात्र ५०/६० वटा रागोको बलि दिने चलन छ।

‘सुदूरपश्चिममा पनि विजयादशमीको एक दिन मात्र टीका लगाउने चलन अहिले हटिसकेको छ,’ उपाध्यायले नेपालखबरसँग भने।

उनका अनुसार दार्चुला, बैतडी र डडेल्धुरातिर दसैँभन्दा ठूलो गौरा पर्व मनाउँछन्। गौरा मान्न कामका लागि बाहिर पुगेका नेपाली घर फर्किन्छन्।

‘सुदूरपश्चिमका केही ठाउँमा दसैँ दोस्रो ठूलो चाड हो,’ संस्कृतिविद् उपाध्यायले भने, ‘तर, अहिले पुरानो चलन घट्दै गयो। आधुनिकता भित्रियो। पहेँलो टीकाको चलन पनि हराइसक्यो।’

८. डोल्पामा दसैँको बेग्लै साइत 
दसैँको घटनास्थापना राख्न (जमरा राख्ने) साइत जुराइन्छ। टीका लगाउने मुख्य साइत नेपालभर एउटै छ। तर, कर्णालीको डोल्पा जिल्लास्थित त्रिपुराकोटवासीले आफ्नै साइत जुराएर टीका लगाउने गरेका छन्।

सो क्षेत्रमा बसोबास गर्ने न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दर्जी, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतभन्दा बेग्लै साइत जुराएर टीका र जमरा लगाउँछन्।

नेपालको प्रसिद्ध शक्तिपीठमध्ये पर्छ त्रिपुरासुन्दरी मन्दिर। नवरात्र अवधिभर त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा हुन्छ। टीकाको दिन बिहानै त्रिपुराकोटवासीले मन्दिरमा टीका–जमरा चढाउँछन्।

देवीदेवताको पूजा सकिएपछि मात्रै गाउँलेको दशैँको टीकाको साइत खुलाइन्छ।

सो ठाउँमा २ सय परिवार छन्। पूजा नसकी टीका लगाए गाउँमा नराम्रो हुने विश्वास उनीहरूमा छ।

त्यही विश्वासले पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमा नभई देउताको पूजा सकिएपछि मात्रै टीकाजमरा लगाउने गर्छन्। टीका मध्यरातिसम्म चल्ने गरेको छ।

९. लिम्बूहरूले लगाउँछन् भित्तामा रगतको छाप
लिम्बू समुदायले दसैँमा दैवी शक्तिको आराधना गर्ने, हतियारको पूजा गर्ने, बलि दिने र टीका जमरा लगाउने गर्छन्। यो उनीहरूको पुरानै चलन हो।

राजा र राणाहरूलाई घरमा बलि दिएको प्रमाण देखाउन यो समुदायले हत्केलामा रगत पोतेर घरको मूल ढोकाको दुवैतर्फ छाप लगाउने चलन छ। यद्यपि, अहिले यो चलन धेरै ठाउँमा हटिसकेको संस्कृतिविद् जगमान गुरुङले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->