स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका १ की ८१ वर्षीया कुन्तिदेवी अर्यालल गाउँमै आँखाको उपचार गर्न पाएकोमा हर्षित बनिन् ।
२० वर्षबाट आँखाको समस्याबाट पटकपटक काठमाडौ पुगेर उपचार गराएकी अर्यालले बुढेसकालमा घर बाहिर उपचार गर्न नसक्ने अवस्थामा नजिकै उपचार पाएकी हुन् ।
एसोसियसन अन्नपूर्ण नेपालले हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा दरौंखोला सामिप्य समाजको ब्यवस्थापनमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।
पुतलीबजार नगरपालिका १३ को महेन्द्र आधारभूत विद्यालयमा गरिएको शिविरमा काठमाडौमा आँखाको उपचार गर्दा धेरै खर्च गरेको बताउँदै अर्यालले गाउँमा निःशुल्क सेवा पाउँदा खुसी लागेको बताइन् ।
अर्याल जस्तै ७५ वर्षीय प्रेमबहादुर क्षेत्रीले पैसाको अभावमा १५ वर्षबाट उपचार नगरी बसेको र गाउँमै उपचार पाएकोमा खुसी व्यक्त गरे ।अर्याल र क्षेत्रीको मोतियाबिन्दु भएको र अब पोखराको हिमालय अस्पतालमा अप्रेसन हुनेछ ।
पुतलीबजार नगरपालिका १३ का वडा सदस्य सूर्यबहादुर रोकाले एक दिने आँखा शिबिरमा पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुन चौपारी गाउँपालिकाका २६३ बिरामीले सेवा लिएको जानकारी दिए ।
शिबिर डा सुदर्शन पौडेलको नेतृत्वमा ११ जनाको मेडिकल टोलीले गरेको थियो भने यहाँ उपचार गरेका सबै बिरामीलाई निःशुल्क औषधि दिइएको थियो ।





