आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एक नेताले परिवर्तन गरेको चीनको सिन्झाई गाउँ अर्थात ‘कफी भिलेज’

एक नेताले परिवर्तन गरेको चीनको सिन्झाई गाउँ अर्थात ‘कफी भिलेज’


  • नमस्कार शाह
  • कार्तिक २१ २०८०, मंगलबार

सिन्झाई (सियाङ) ११ वर्षअघि चीनकै दुर्गम ठाउँका रूपमा चिनिन्थ्याे । तर, अहिले नमुना गाउँ बनेकाे छ । एउटा नेताले चाहेमा कति छिट्टै गाउँकाे विकास हुन सक्छ भन्ने उदाहरण याे गाउँ बनेकाे छ ।

वाङ चिवाई सिन्झाईस्थित चिनियाँ कम्युनिस्ट पार्टीका सेक्रेटरी हुन् । उनकै कुशल नेतृत्वका कारण दुर्गम ठाउँको रूपमा रहेको उक्त गाउँको मुहार फेरिएको हाे । सडकलगायतका पूर्वाधारसँगै गाउँमा एकीकृत बस्ती विकास गरिएको छ ।

सिन्झाईका बासिन्दा सामूहिक कफी खेती गर्छन् । चीनकै पहिलो कफी भिलेजको रूपमा अहिले प्रसिद्धी कमाएकाे छ याे गाउँले । गाउँका सबै युवा रोजगार छन् । पर्यटकहरूका लागि आकर्षक होटलहरू खुलेका छन् ।

चीनको युन्नान प्रान्तस्थित बाओसान शहरबाट डेढ घण्टामा पुगिन्छ- चीनकै पहिलो कफी भिलेज सिन्झाई ।

आर्किटेक्ट इन्जिनियरको रूपमा काम गरेर वाङले ११ वर्षदेखि सिन्झाईको नेतृत्व गरिरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको सिन्झाई भिलेज कमिटीको नेतृत्व सम्हालेका उनकै परिकल्पना र प्रतिबद्धताका कारण अहिले सो गाउँ नमुना गाउँ बन्न सफल भएको छ ।

वाङले सिन्झाई गाउँलाई कृषिसँग जोडे र कफीको माध्यमबाट गाउँलाई विश्वमै चिनाए । ५ सय ५० घरधुरी रहेको सिन्झाई गाउँ चीनकै प्रमुख पर्यटकीयस्थलमध्येको एक गाओलिन्चोन्ङ पहाडमुनिहुँदै तिब्बतबाट बग्दै गएको नुजियाङ नदीभन्दा माथि छ ।

१२ वर्षअघि यो गाउँ चीनकै दुर्गम गाउँको रूपमा चिनिन्थ्यो । सडक सञ्जालसमेत नरहेको यस गाउँमा बजारसँग सम्बन्ध नहुँदा स्थानीय उत्पादनहरू बिक्री नै हुँदैनथे ।

११ वर्षअघि वाङ गाउँ फर्केपछि उनले विकासको मार्ग कोरे । पार्टीको नेतृत्व सम्हालेर उनले सबैभन्दा पहिले सडकको निर्माण गरे । त्यसपछि एकीकृत विकास गर्दै गाउँलाई कृषिसँग जोडे । गाउँमा कफी खेती व्यापक रूपमा गर्न थालियाे । त्यही कफी खेती सिन्झाई समृद्धिको आधार बन्यो । विश्वका कमै कफी भिलेजमध्येको एक बन्न सफल भएको छ यो गाउँ ।

नेपालका पहाडी भूगोलसँग मिल्ने यो गाउँ पहाडको तल भए पनि कफी खेती भिरालो पहाडमै छ । नेपालका खेतीयोग्य जमिनहरू बाँझै रहेको बेला यो गाउँको पहाड, भिरपाखा कफीलगायतको खेतीले हरियाली छ । अर्को रोचक पक्ष के छ भने, नेपालका गाउँहरू युवाविहीन हुनै लाग्दा यहाँका युवाहरू गाउँमै कृषि कर्म गरिरहेका छन् । सेक्रेटरी वाङका छोराछोरी उनीसँगै गाउँमै छन् । उच्च शिक्षा सकेका छोराछोरीले बुबासहित परिवारलाई गाउँमै बसेर साथ दिइरहेका छन् ।

११ वर्षअघि वाङ यो गाउँ फर्किंदा चुनौतीका साथ सीपीसीको नेतृत्व सम्हालेका थिए । स्थानीयको विश्वास जित्दै उनले सबैभन्दा पहिले पूर्वाधारका कामहरू गरे । राष्ट्रपति सी चिनफिङले गाउँलाई शहरसँग जोड्ने अभियानअन्तर्गत विशाल सडक संरचना निर्माणको अवसरलाई उनले छोपे र सडक निर्माणमा सफलता हासिल गरे । तत्पश्चात् उनले सामुदायिक सुरक्षा, शिक्षा, रोजगार र कृषिलाई तीव्रताका साथ अघि बढाए र सफल भए ।

सडक, बिजुली, खानेपानी, इन्टरनेट र विद्यालयमा सीपीसीले लगानी गरेपछि विकट गाउँको मुहार फेरिन थाल्यो । अहिले यस गाउँको १ हजार ६ सय हेक्टर क्षेत्रमा कफी खेती भइरहेको छ । कफी अरेबिकाको बिन उत्पादनमा यो गाउँ चीनमै नमुना भइसकेको छ ।

अहिले यहाँको कफी खेतीमा दैनिक १ हजार गाउँले संलग्न छन् । सरकारको निरन्तर लगानीकै कारण एक दशकअघि ३ हजार आरएमबी औसत आम्दानी भएका गाउँका बासिन्दाको आम्दानी हाल ५५ हजार आरएमबी पुगेको छ ।

सिन्झाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीयतामा दिएको छ । गाउँलाई पुनर्जीवित गर्दै समृद्धि अघि बढाउने, औद्योगिकीकरणलाई तीव्र पारिने, कफी खेती विकासलाई कृषिको मुख्य मार्गदर्शन बनाइने, खेतीका लागि युवा तथा शिक्षित समूहलाई विभिन्न प्रशिक्षण चलाउन र गाउँलाई विकासको मार्गमा जोड्ने सीको घोषणा छ ।

सिन्झाई गाउँ सरकारले अहिले सहकारीमार्फत कृषकलाई मेसिन दिएको छ । प्रशोधनका लागि कुनै शुल्क तिर्नु पर्दैन । सरकारले सबै खर्च ब्यहोरेर मेसिन किनिदिएकाले कृषकले अतिरिक्त लगानी नगरी कफी बिन तयार पार्न सकेका छन् ।

यस गाउँमा विभिन्न नौवटा जातीय समूह छन् । चारवटा साना टोल समूहमा विभाजित गाउँलेलाई सीपीसीले सातवटा स्थानीय सहकारीमार्फत संगठित गरेको छ । कफीसहितको खेतीका लागि सहकारीले पुँजी परिचालनको काम गर्ने गरेको छ ।

नेपाली पत्रकारहरूसँगको भेटमा सेक्रेटरी वाङले कफी खेतीबाटै यहाँका बासिन्दाले गत वर्ष १२ करोड आरएमबी आम्दानी गर्न सफल भएको बताए । वाङ चिवाईका अनुसार, सांस्कृतिक गतिविधि र अनेक अभियानमार्फत कफी खपतलाई बढावा दिइँदै छ ।

युनान प्रान्तको बाओसान शहरको सिन्झाई गाउँ कफी बेल्टबाट बाहिर भए पनि चीनको नम्बर एक कफी गाउँको रूपमा चिनिन्छ । यसरी एक नेताको असल नेतृत्वले गाउँ विश्वमै चिनिएजस्तो नेपालका गाउँको विकास सम्भव छैन ? के हाम्रो नेपालका नेताहरूले आफूले नेतृत्व गरेकाे गाउँलाई नमुना बनाउन सक्दैनन् ?

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->