स्याङ्जा/ गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन कालिगण्डकी गाउँपालिकाले सक्रियता बढाएको छ ।पालिकाले विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन सक्रियता बढाएर फूल खेती गरेको हो । यहाँ पालिका, बिद्यालय तथा सामूहिक व्यावसायिक फूल खेती गरिएको छ ।
पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा १६ जना कृषकहरूले ६० रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् भने कृषकहरूलाई व्यवसायिक फूल खेतीमा आकर्षित गर्न पालिकाले १५ रोपनी र धु्रवज्योति माध्यमिक विद्यालयले तीन रोपनी क्षेत्रफलमा व्यवसायिक फूल खेती गरेको हो ।
यहाँका सबै बगैँचामा तिहारको लागि बाहिरबाट किन्न नपर्ने गरी ढकमक्क सयपत्री फूल फुलेका छन् । वडा नं ७ मा रहेको लालीगुराँस होमस्टे बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने उद्धेश्यले पालिकाको ५० प्रतिशत अनुदानमा तीन हजार पाँच सय सयपत्री फूल फुलेका छन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कृषिलाई प्राथमिकता गएर कृषकको जीवनस्तर उकास्न पालिकाले फूल खेतीलाई प्राथमिकता दिएको बताए ।
गाउँपालिकाले कम्तिमा दुई रोपनीमा फूल खेती गर्ने कृषकलाई प्रति रोपनी नौ हजार रुपैयाँ अनुदानका साथमा प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग गरेको छ ।
उत्पादित फूल होल सेलमा २५० प्रति केजी र खुद्रा तीन सय रुपियाँ प्रतिकेजीका दरले बिक्री भैरहेको छ ।
गतवर्ष सात हजार केजी फूल उत्पादन गरेर १८ लाख रुपियाँ गरेको बताउँदै पालिका अध्यक्ष थापाले यस वर्ष १० हजार केजी उत्पादन गरी २५ लाखको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो । ग्राहकको माग अनुसार तयारी माला प्रतिगोटा ७० देखि १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भैरहेको छ ।
धु्रवज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हीरा गाहाले फूल खेतीले विद्यालयको सौन्दर्य बढाउनुका साथै आर्थिक उपार्जनमा सहयोग गरेको बताए । विद्यालयमाले गत आर्थिक वर्षमा एक लाख कमाएको यस आर्थिक बर्षमा दोब्बर आम्दानी गर्ने उनको भनाइ छ । उनका अनुसार फूलबाट कमाएको रकम विद्यालयको शैक्षिक विकासमा खर्च गर्ने गरिएको छ । यहाँ सबैभन्दा धेरै चार रोपनी क्षेत्रफलमा काशीराम न्यौपानेको फूल लगाएका छन् ।





