पोखरा / पोखरामा रहेको फिस्टेल एकेडेमीले पुसको पहिलो साता फिस्टेल स्पोट्र्स फेस्टको आयोजना गर्ने भएको छ । विद्यालयको २९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्तरमै विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
सोमबार प्रतियोगिताको बारेमा जानकारी दिन विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थापक चिनु रानाभाटले मोर्डन फिलोसोफीका साथै खेलकुदलाई समेत प्राथमिकता दिन लागेको बताए ।
उनका अनुसार विद्यालय स्तरीय खुल्ला खेलकुद प्रतियोगितामा सेभेन ए साइड छात्र फुटबल प्रतियोगिता, फाइभ–फाइभ बास्केटबल छात्र÷छात्रा, लन टेनिस यु–१६, यु–१२ र यु–९ छात्र÷छात्रातर्फका खेल हुनेछन् ।
पोखरा-१७ स्थित विद्यालयकै खेलमैदानमा हुने प्रतियोगितामा कुनै पनि विद्यालयले सहभागिता जनाउन सक्नेछन् । फुटबल र बास्केटबलका विजेता, उपविजेता र तेस्रो हुने टिमहरुले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै लन टेनिसको विजेता, उपविजेता तथा तेस्रो हुने छात्र÷छात्रा दुवै तर्फकाले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




