
म्याग्दी / बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे सशस्त्र द्वन्द्वको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ। सशस्त्र द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको थियो। त्यस आक्रमणका क्रममा गोलीले छियाछिया भएको पोललाई मानव अधिकार दिवसका अवसरमा मंसीर २४ मा बेनी नगरपालिका परिसरमा ठड्याइएको हो।
त्यतिवेला वेवारिसे रहेको पोललाई ललितपुरको यल माया केन्द्रमा ल्याएर जतनसँग राखिएको थियो। मदन पुरस्कार पुस्तकालय र यल माया केन्द्रले संरक्षण गरेर राखेको पोललाई मंसीर २१ गते बेनी फर्काइएको थियो। स्थानीय जनप्रतिनिधिले संरक्षण गर्ने योजना बनाएपछि पोल बेनी नै फर्काइएको हो।
माओवादी सशस्त्र द्वन्द्वको अन्तिम भिडन्तको अवशेष भएकाले शान्ति पार्कमा रुपान्तरण गर्ने नगरपालिको पहलअनुसार, अहिले कार्यालय परिसरमा ठड्याइएको बेनीका मेयर सुरत केसीले बताए। ‘बेनी भिडन्त नेपालको तत्कालीन द्वन्द्वरत पक्षहरूबीचको अन्तिम लडाइँ थियो,’ मेयर केसीले भने, ‘त्यो भिडन्तपछि युद्धबिराम गरियो र राजनीतिक विकासक्रम शान्ति सम्झौतासम्म लम्बियो। जसले आखिरमा अहिलेको यो राजनीतिक व्यवस्थामा ल्याईपुर्यायो। त्यही भएर पनि बेनी भिडन्तको महत्त्व छ।’
बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको श्री कालीप्रसाद गण (ई) मा २०६० चैत ७ गते शनिबार राति माओवादीले आक्रमण गरेको थियो। जसमा दुवै पक्ष र सर्वसाधारण गरी १४० जनाको ज्यान गएको थियो।

गोली छियाछिया भएको पोल बेनी लगिँदै।
माओवादीले जिल्ला सदरमुकाममा गरेका नौ वटा आक्रमणमा बेनी आक्रमण सैन्य दृष्टिले सबैभन्दा ठूलो आक्रमण हो। यसमा १७ प्रहरी, १४ सैनिक र ९० जना माओवादी लडाकूको ज्यान गएको थियो। त्यस्तै, दुई जना बालबालिकासहित १९ जना सर्वसाधारण ज्यान गुमाएका थिए।
झण्डै १२ घण्टासम्म चलको त्यो आक्रमणलाई जापानी पत्रकार एवं लेखक कियोको ओगुराले अनुसन्धान लेखमा स्मरण गरेकी छन्। युरोपियन बुलेटिन अफ हिमालय रिसर्चमा प्रकाशित लेखमा बेनीमा राजनीतिक र रणनीतिक दृष्टिले आक्रमण गरिएको ओगुराले उल्लेख गरेकी छन्।
कालीगण्डकी र भेरी नदी आसपासको यो क्षेत्रलाई माओवादीले मगराँत स्वायत्त क्षेत्र घोषणा गरेकाले पनि सदरमुकाम बेनी कब्जा गर्ने रणनीतिक रहेको जनाएकी छन्। ‘माओवादी प्रभावित म्याग्दी जिल्ला सरकारले घोषणा गरेको विशेष क्षेत्रमा परेको थियो,’ ओगुराले लेखेकी छन्, ‘माओवादीले आक्रमण गरेको सदरमुकाममध्ये घोराहीबाहेक बेनी नै सहज पहुँचमा रहेको मुकाम थियो।’
त्यसैले पनि यसको बेग्लै महत्त्व रहेको बेनीका मेयर केसीको भनाइ छ। ‘यो भिडन्त अन्तिम हुनुको अर्थ दुवै पक्षले अब लडेर हुँदैन भन्ने बुझेका थिए,’ केसीले भने, ‘बेनी भिडन्तका द्वन्द्वकालीन अवशेष जम्मा गरेर हामीले त्यो अन्तिम भिडन्तलाई पर्यटनसँग जोड्ने र यहाँको ऐतिहासिकतालाई पनि जोगाउने प्रयास गरेका हौं।’

कस्तुरीलाई आफ्नो नाभीको महत्त्वबारे थाहा नपाएजस्तै यो पोलको महत्त्व पनि मदन पुरस्कार पुस्तकालयमा पुगेपछि थाहा भएको उनी सुनाउँछन्। ‘यो पोल यहीँ भएको भए, यसको महत्त्व शायदै आमजनताले थाहा पाउँथे होलान्,’ मेयर केसीले भने।
पोललाई नगरपालिका परिसरमा सर्वसाधारणले जतिवेला पनि अवलोकन गर्नसक्ने गरी राखिएको छ। नगरपालिकाको परिसरमा त्यतिवेला सेनाले जमिनमुनी खनेको बङ्कर पनि छ, जुन बङ्करमा ब्यांकका सुनचाँदी र पैसा दिनदिनै बेलुका ल्याएर राखिने र बिहानबिहान लग्ने गरिन्थ्यो।
यही बङ्करमा द्वन्द्वकालीन तस्वीर प्रदर्शनी गर्ने पनि नगरपालिकाको योजना रहेको उनले बताए। ‘बङ्करभन्दा माथि आलुमुनियमको फ्रेमिङ गरेर साँझमा भिडिओ प्रदर्शन गर्ने योजना छ,’ केसीले भने, ‘जसले गर्दा यहाँ घुम्न आएका पर्यटकलाई एक साँझ बेनीमा बस्नुपर्ने सन्देश जान सकोस्।’
यी कामबाट बेनीमा पर्यटन प्रवर्द्धन गर्ने र ऐतिहासिकता जोगाउने नगरपालिकाको लक्ष्य रहेको छ। यसका लागि बेनी-७ मा शान्ति पार्क निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको छ। यसका लागि बेनी नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ। शान्ति पार्क बनाउन लागिएको ठाउँ नगरपालिकाको आडैमा छ।
त्यस्तो दुःखद् समयलाई पार गरेर आयौं भन्ने शन्देश दिन पनि शान्ति पार्क बनाउने राजनीतिक सहमति अनुसार काम अघि बढेको बेनीका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए। ‘त्यो वेलाको तितो यर्थाथलाई मान्छेहरूले हेर्न देख्न पाउन् भन्ने हाम्रो उद्देश्य हो,’ पौडेलले भने, ‘अर्को चरणमा देशभरका युद्धसँग सम्बन्धित सामग्री संग्रह गर्ने योजना छ।’

समुदायको संरक्षण सह्रानीय
अनेक मार्ग र माध्यमबाट विदेश पुगेका मूर्ति नेपाल ल्याउने पहल गरेजस्तै बेनीको पोल काठमाडौंबाट त्यहाँ पुग्नु महत्त्वको कुरा भएको संरक्षण अभियन्ता रोशन मिश्रले बताए। ‘सार्वजनिक स्मारक बनाएर राख्नु अर्को सह्रानीय काम हो,’ मिश्रले भने, ‘त्यो घटनाको तत्कालको प्रभाव र असर त बेनीले भोगेको हो। त्यहीँ पार्क बनाएर राख्नु इतिहास संरक्षणको दृष्टिले प्रसंशनिय छ।’
उनी नेपालको राजनीतिक इतिहासलाई नै परिवर्तन गर्ने सशस्त्र माओवादी द्वन्द्वकालीन भिडन्तको प्रतीक बनेको पोल संरक्षण गर्नु इतिहासलाई चीरकालसम्म जोगाउने प्रयासका रुपमा लिन्छन्। ‘त्यो पोलका प्रत्येक प्वाल प्वालमा द्वन्द्वको इतिहासको कथा छ,’ मिश्रले भने, ‘सार्वजनिक पार्क बनाएर राख्नु अहिलेको अवस्थामा महत्त्वपूर्ण छ। स्थानीय सरकारले नै यसरी आफ्नो ठाउँमा स्मारक बनाउनु झन राम्रो कुरा हो।’
नयाँ पुस्तालाई छोडेर जाने भनेकै इतिहास भएकाले संसारभर ऐतिहासिकता झल्किने पार्कको निर्माण हुने गरेको शहरी योजनाकार राहुलमुनि बज्राचार्य बताउँछन्। ‘विगतको घटनालाई विस्मृतिमा जान नदिन विश्वभरी नै यस्ता स्मारक बनाइन्छ,’ बज्राचार्य भन्छन्, ‘हामीले कस्ता घटना भोगेका थियौं भन्ने नयाँ पुस्तालाई सिकाउन पढाउन यस्ता स्मारक र पार्कको महत्त्व छ।’
उनी विकास भनेको भौतिक निर्माणलाई मात्र ठानेर संकुचित व्याख्यालाई निरन्तरता दिइरहेको बताउँछन्। ‘स्थानीय तहले आफ्नो ठाउँको इतिहास संरक्षण गर्नु पनि विकास हो,’ बज्राचार्य भन्छन्, ‘यसको महत्त्वको एउटा पक्ष इतिहास संरक्षण हो भने अर्को सार्वजनिक संलग्नता पनि हो।’





