पोखरा/ पोखरा रंगशालाको आम्दानी प्रकरणमा क्षेत्रीय खेलकुद विकास समितिको बैंक खाता रोक्का गरिएको छ । राष्ट्रिय खेलकुद ऐन २०७७ विपरित रहेको क्षेत्रीय खेलकुदले विगत लामो समय देखि पोखरा रंगशालाको आम्दानीमा एक्लौटी गरिरहेको थियो ।
रंगशालाभित्रको जग्गा भाडाको विषयमा सम्झौता विपरित क्षेत्रीय खेलकुदको खातामा जम्मा हुँदै प्रयोगमा रहेको क्षेत्रीयको खाता रोक्का गरिएको छ । ऐन विपरित रहेको क्षेत्रीय खेलकुदको खाता रोक्न गण्डकी प्रदेश खेलकुद परिषदले निवेदन गरेअनुरुप खाता रोक्का भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र ओम बुद्ध नर्सरीका संचालक दिल बहादुर पाख्रिनबीच ०७६ पुस १ गते सम्झौता करिब ३ रोपनी जग्गाको सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार जिल्ला खेलकुद समितिकै सोही खातामा रकम जम्मा गर्ने सम्झौता भएको छ । उक्त सम्झौता ०८० मंसिर मसान्तमा सकिएको छ ।
यस्तै फिजिकल ट्रेनिङ एसोसिएसनसँग भने मौखिक सम्झौता मात्र भएको देखिएको छ । प्रदेश खेलकुद परिषद्ले गत मंसिर ६ गते रंगशालाभित्र संचालनमा रहेको चमेना गृह, ओम बुद्ध नर्सरी, बुल्समेन, रसुवा कन्स्ट्रक्सन र नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनलाई सम्झौता पत्रको प्रतिलिपिसहित विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो । जवाफमा पठाएको पत्रमा लेखिएको छ, ‘नेपाल फिजिकल टे«निङ एसोसिएसन क्षेत्रीय समिति पोखरामा आबद्ध तपसिलका सदीय तालिम केन्द्रहरु र तपाईँको कार्यालय बिच भएको मिति २०७९ पुष २३ गते भएको मौखि सम्झौता अनुरुप रंगशाला परिसरमा प्रशिक्षण सञ्चालन भइ रहेको छ ।’
चमेनागृहलाई ०७६ साउन १ गतेदेखि ०८६ असार मसान्तसम्मका लागि ८ आना जग्गा मासिक ११ हजार रुपैयाँ दिने सम्झौता भएको छ । उक्त सम्झौतामा भाडामा कुनै वृद्धि नहुने कुरा समेत उल्लेख गरिएको छ । बुल्समेन इन्टप्राइजेज र कास्की जिल्ला खेलकुद विकास समिति बिच १० वर्षका लागि ६ बुदे लिखित सम्झौता भएको देखिन्छ । बुल्समेनका लागि ०७६ साउन १ गते जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ र वुल्समेन क्लब पोखरा का अध्यक्ष नुना गुरुङबीच १० वर्षका लागि सम्झौता भएको छ । तर बुल्समेनले २०८० असार, साउन, भदौ र असोजको मात्र भाडा बुझाएको छ । त्यो भन्दाअघिको भाडा भने बुझाएको छैन् ।
यी सम्झौताहरुमा जिल्ला खेलकुद विकास समितिको खाता नं ०३१६४००२१६८६६०१० मा रकम दाखिला गर्ने भनिएको छ तर रकम सम्झौता विपरित कृषि विकास बैंकमै रहेको पश्चिमाञ्चल केन्द्रिय खेलकुद विकास समिति नामक खाता नं.०३१६४००२०७४२६०१६ नंम्बरको खातामा दाखिला हुँदै आएको थियो । जिल्ला खेलकुदको कार्यसमिति विघटन गरेपश्चात क्षेत्रीयको खाता चलाएको बताइएको छ तर, अब भने पोखरा रंगशालाको आम्दानी जिल्लाकै खातामा आउने भएको छ । ढोरपाटन दैनिकमा समाचार प्रकाशन भएपश्चात जिल्लाखको खातामा रकम आउन थालिसकेको छ । जिल्ला खेलकुद विकास समितिले रंगशाला संचालन गर्नका लागि कार्यविधिको खाका समेत तयार गरिसकेको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले जिल्लाको खाता प्रयोगमा आइसकेको र तीन लाख रुपैयाँ तत्कालै जम्मा भइसकेको जानकारी दिएका छन् । जिल्लाको बैठकले समेत सम्झौताअनुसार जिल्लाकै खाता संचालन गर्ने निर्णग गरेको थियो ।
यो संग सम्बन्धित समाचारहरु हेर्न यहाँ थिच्नुहोस –





