पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २८ औं वार्षिक साधारण सभा शनिबार उद्घाटन भएको छ ।
कार्यक्रमको पोखरा उच्च अदालतका मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेलले उद्घाटन गर्दै हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार भएकोले हिन्दु धर्मावलम्बी तथा शुभ सोच्नेहरुले आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै जनसहभागिताबाट संचालनमा रहेको संस्थाले राज्यले गर्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।
पोखरा १७ की वडा अध्यक्ष राधिका शाही योगीले वडा नं १७ सबैभन्दा धेरै जनघनत्व भएको वडा भएको र सबै विद्यालयहरुको स्तर वृद्धिको लागि राम्रो आम्दानी भएका सामाजिक संघसंस्थाले आर्थिक तथा अन्य सहयोग गर्नुपर्ने धारण राख्दै गुफाको मापदण्ड महानगरले नै कायम गर्न सक्ने भएकोले अहिले रहेको २०० मिटरलाई पुनरावलोकन गर्न पहल गर्ने बताइन् ।
संस्थापक अध्यक्ष ज्योतिष नीरविक्रम पौडेलले आफूलाई पद अनुसारको भुमिका नदिएको गुनासो व्यक्त गर्दै आगामी दिनमा त्यसो नगर्न सुझाव दिएका थिए ।
निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेलले विभिन्न आरोह अवरोहहरु पार गर्दै गुफा यो अवस्थामा आई पुगेका स्मरण गराउँदै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको आवश्यकता रहने वताए ।
सो अवसरमा गण्डकी प्रदेश सभाका सचिव हरिराज पोख्रेल, धनुषा जिल्ला अदालतका न्यायाधीश योगनाथ ढकाल, सल्लाहकार रामजीप्रसाद कोइराला, नेपाली कांग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, नेकपा एमाले पोखरा १७ का अध्यक्ष ऋषभ तिमिला, नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्का, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारी, पोखरा उपत्यका नगरविकास समिति उपाध्यक्ष झपिन्द्रराज रेग्मी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेल, पुर्व वरिष्ठ उपाध्यक्ष गोपाल वराल, पूर्व सहसचिव मोहदत्त भट्टराई, सल्लाकार सीता वराल र कृष्ण प्रसाद लम्साल, पत्रकार माधब प्रसाद रेग्मी, पूर्व सदस्य देवि चपाई र कार्यालय सहायक कमल पौडेल सम्मनित भएका थिए ।
समितिका अध्यक्ष लक्षुमण वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने (य्ुवक)ले र कार्यक्रम संचालन सचिव हरिप्रसाद लम्सालले गरेका थिए ।





