स्याङ्जा/ स्याङ्जा क्षेत्र नम्बर १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने राजु थापाको अगाडि उभिएर अर्जुन चौपारी गाउँपालिका १ रैतेका ४२ वर्षीय कृष्णप्रसाद शर्माले सांसदकै अगाडि सरकारले नागरिकका आवश्यक मागहरुको पूर्ति नगरेको गुनासो गरे ।
नेता, सांसदको घरघरमा बिजुली, मोटरबाटो, खानेपानी पुगेको तर पहुँच नभएका नागरिक चाहिँ सेवाबाट वञ्चित बनेको उनको जिकिर थियो । दारेगांैडाकी झयापीदेवीले दलित बस्तीहरु अत्यावश्क सुविधाबाट वञ्चित भएको दुखेसो पोखिन् ।
‘छेउछाउमा मोटरबाटो छ, अन्य जातको बस्तीमा घरघरमा खानेपानी छ,सामुदायिक भवन छ तर हाम्रो बस्ती भने सबै हेरेर चित्त बुझाउनु परेको छ,’उनले भनिन् । वडा नं १ का कमलकान्त अर्यालले पनि पहँुचको आधारमा अनुदान बितरण गरिएको जिकिर गर्दै उत्पादनको आधारमा कृषि अनुदान वितरण हुनुपर्ने सुझाए ।
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाका कृषकले मूल्य कम पाएको र बिक्री बितरणमा राज्यले ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
सांसद थापाले जनताका गुनासो सुन्ने उदेश्यले आफ्नै सचिवालयले गरेको ‘जनता र जनप्रतिनिधिसँग संघीय सांसद’ कार्याक्रममा उठेका सवालहरुको सुने र उत्तर दिने प्रयत्न पनि गरे ।
सोही कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले सम्बाधेन गर्न नसकेको जनताका आवश्यक माग सम्बोधन सरकारले आनाकानी गरेरमा जनताको हस्ताक्षर सङकलन गरेर सिंहदरबार घेराउ गर्न पुग्ने उद्घोष गरे । उनले मुख्य सडक कालोपत्रे, पुतलीबजार देखी नुवारभञ्ज्याङ सडकको बक्स कटिङको लागि पलह गरिदिन सांसद थापासँग आग्रह पनि गरे ।
४४ जना जनता तथा जनप्रतिनिधिले मुख्य गरेर खानेपानी, मोटरबाटो, सामुदायिक भवन, शिक्षा र स्वास्थ्य सेवालगायतका बारेमा गुनासो गरेका थिए । गुनासको सुनुवाई गर्दै सांसद थापाले जनताको काम गर्न निर्वाचित भएको बताउदै जनताका माग पूरा गर्न प्रतिबद्ध भएर लाग्ने बताए ।
खानेपानी, स्वास्थ्य, शिक्षा नागरिकका नैसर्गिक अधिकार भएको बताउदै सांसद थापाले पालिका र प्रदेश सरकारले गर्न नसक्ने कामको संघीय सरकारबाट गरिनुपर्नेमा आफू प्रष्ट रहेको बताए । श्रोत सुनिश्चित नभई ठेक्का खोल्दा र आर्थिक मन्दीका कारण यहाँका धेरै योजनाहरु अलपत्र परेको सांसद थापाको जिकिर थियो ।




