बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जव मञ्चमा “झरनाको चिसो पानी” गुञ्जीन थाल्यो

जव मञ्चमा “झरनाको चिसो पानी” गुञ्जीन थाल्यो


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८०, शुक्रबार

झरनाको चिसो पानी…..
सुकेर जाँदैन्, रोकेर रोकिँदैन–२्, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी…
झरनाको चीसो पानी……..

बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेलमैदानमा भरिभराउ दर्शकको अगाडि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुवात गरे ।

शर्माले सिर्जना गरेका हजारौं गीतहरुमध्ये सहारा खेलमैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छ । बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाको संगममा पर्ने नियालमारे खोलाको छेउमा तारेभीरको सानो चौतारी बसेरमा शर्माले अहिले भन्दा ३० वर्षअधि यो गीत सिर्जना गर्नुभएको हो । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेलमैदान र उनले यो गित सिर्जना गरेको ठाउँ पैदल यात्रा गर्दा आधा घण्टाको दुरीमा पर्छ ।

‘घर छाउने ढुंगा बोकेर हिँडेको जोडी, श्रीमान नियालमारे खोलापारी पुगेका थिए, श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन्, असिन पसीन, ठूलो भारी बोकेका खेताला भीरको बाटो निरन्तर हिँडीरहेको देखेपछि मैले गीत बनाएँ,’ शर्मा भन्छन्।

२०५० सालतिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने ढुंगा बोक्ने प्रचलन थियो । कयौं मजदुरहरु यही घर छाउने पाटे ढुंगा बोकेर गुजारा चलाउँथे । त्यहि देखेका शर्माले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाए ।

शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाए । मैदानमा उपस्थित अधिकांश दर्शक शर्माका गीतमा झुमे । शर्मालाई उनकी जीवन संगिनी निलिमा पुनले साथ दिइन् । जीवन र जगतका जल्दाबल्दा विषयबस्तु गीतमार्फत् प्रस्तुत गर्ने शर्माले तीस वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे संक्रान्ति मेलामा प्रस्तुति दिन्छन् । स्थानीय हेमलाल शर्मा भन्छन्,‘उहाँका गीत कहिलै पुराना भएनन्, सधैं सुनाँै, सुनौंँ नै लाग्छ ।’

उनका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उनी जनवादी गायकको परिचयले बाँचे.का छन् । सांगीतिक यात्राको पहिलो खुड्किलो उनको बाँसुरी हो । वनजंगलमा घाँस दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उनले बाँसुरीको धुन राम्रोसँग निकाल्थे ।

उनको पहिलो गीतिएल्बम जनसांगीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता २ हजार बढी गीत उनले जनताकै पक्षमा गाउँदै आएका छन् । मेला महोत्सवहरु हुन वा अन्य कुनै सांगीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका हुन् । ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उहाँले गाएका छन् र सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

‘मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्यांकन गरुँ,’ शर्मा भन्ने गर्छन्,‘ ‘समयसँग सम्झौता होइन, संघर्ष गर, संघर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकाहरूलाई रोकेका उदाहरण छन् ।’

सिमली छाया उनको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ ।
शर्मा अहिले पनि संगीत साधनामै छन् । परिवर्तनका खातिर संगीत पनि गतिलो माध्यम भएको भन्दै निरन्तर क्रियाशिल शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देख्न छाडेका छैनन् । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र सांगीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->