पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जेष्ठ नागरिकसँग अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरूले राज्यद्वारा प्रदान गरिएका सेवा सुविधा प्राप्त गर्ने सहज वातावरण निर्माण गर्न सरोकारवाला निकायहरूलाइ आग्रह गरे ।
राज्यद्वारा प्रदान गरिएका स्वास्थ्य बीमा , सामाजिक सुरक्षा भत्ता ,यातायात सहुलियतसहितका अन्य सुबिधा प्राप्त गर्न कठिनाइ भएको गुनासो बढेको भन्दै पौडेलले स्थानीय तह र सरकारका सेवा प्रवाहलाई जेष्ठ नागरिक मैत्री बनाउन आग्रह गरे ।
स्वास्थ बीमाको सुविधा प्राप्त गर्दा केही अस्पतालहरूमा जेष्ठ नागरिकले हैरानी व्यहोर्नु पर्ने अबस्थाको तत्काल अन्त्य गरौं, सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिकले सहज रूपमा प्राप्त गरून् भन्ने उनको भनाइ थियो । यातायातका साधनमा भाडामा पचास प्रतिशत छुट दिनेसहित जेष्ठ नागरिक सिट सुबिधा दिन कन्जुस्याइँ भएको विषय पनि उनले उठान गरे ।





