पोखरा/ प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ ।
प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्वअध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए । पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पु¥याइएको उनले बताए ।
प्रेस चौतारी कास्कीले लामो समयदेखि वर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए ।





