म्याग्दी/ शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणधिन शिवमन्दिरमा मूर्ति बनाउने प्रयोजनका लागि शिला लगिएको छ ।
म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनी स्थित कालिगण्डकीबाट धर्मपुरमा रहेको हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरीबनाथ शिव महादेवको मूर्ति बनाउन पुजाआजा गरी बुधबार लगिएको हो । केही दिन अघि मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले पर्वत बेनीको जुगेधारा स्थित कालिगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरेको थियो । पहिचान गरिएको शिलाको बुधबार विहान पूजाआजा गरिएको छ ।
उक्त शिला आजनै क्रेनको सहयोगले नदीबाट निकालेर पठाइने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘शिला पठाउन गाउँपालिकाले आवश्यक निर्णयसहित सघाएको छ, स्थानीय समुदायको समेत साथ छ,’ गाउँपालिका अध्यक्ष आचार्यले भने । गढीमाईले यहि माघ २१ शिला पठाई सहयोग गरिदिन पालिकालाई पत्र पठाएको थियो ।मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रशिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मर्ति बनाउँदा धार्मिक पर्यटनको प्रर्वद्र्धन हुने र कालिगण्डकी नदीको थप प्रचारप्रसार हुने पर्वत बेनीका स्थानीय नारायण पौडेलले बताए । कालिगण्डकीबाट लगिने शिलालाई उत्सवको रुपमा गडीमाई नगरपालिका परिक्रममा गरी मन्दिरमा लगिने छ । यस अगाडी म्याग्दीको गलेश्वर क्षेत्रबाट १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई भारतको हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा लगिएको थियो । कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रसस्तै पाइन्छ ।
शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गरिन्छ। नेपालका प्रमुख हिमनदी मध्ये कालीगण्डकी पनि एक हो। हिन्दुहरुको पवित्र तिर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो भने लामो दुरी पार गदैं नारायणीमा मिसिन्छ । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने गरेको छ। सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो।
कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका–७ धर्मपुरामा निर्माणधीन शिवमन्दिरमा लैजाने तयारी गरिँदै । तस्वीर सौजन्य नारायाण पौडेल





