पोखरा/ पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यवहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् ।
फेस्टिभलको पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फूड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फूड फेस्टिभल गर्न थालिएको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले पछिल्लो समय विश्वकै ठूलो व्यावसाय पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम निकै नै रचनात्मक हुने बताए । उत्प्रेरक वक्ता डा. रबिन कटुवालले होटल ब्यबस्थापनको अब्बल जनशक्ति तयार गर्नका लागि विद्यालय तहमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए । कटुवालले विदेश जाने जनशक्तिलाई रोक्नका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए ।
प्रमुख अतिथि पोखरा–३ का अध्यष प्रकाशमान उदासले विद्यालयमा लिएको शिक्षा मात्र पर्याप्त नहुने भएकोले व्यावहारिक ज्ञान आवश्यक परेका बताए । होटल व्यवस्थापन विषयकी विद्यार्थी तथा कार्यक्रमकी अध्यक्ष समेत रहेकी अफ्रिन घलेले आफुहरुका लागि यो सिकाई निकै नै महत्वपूर्ण रहेको बताइन् ।





