पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकी र क्रिकेट संघबीचको सम्बन्ध चिसिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले क्रिकेट रंगशालामा संचालित क्रिकेट प्रतियोगिताको भाडा मागेपछि यो अवस्था आएको हो ।
हाल प्रदेश खेलकुद परिषदअन्तर्गत जिल्ला खेलकुद विकास समितिलाई पोखरा रंगशाला व्यवस्थापनको जिम्मा छ । तर, क्रिकेट संघले भने लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जमिनको भाडा नतिर्ने बताएको छ ।
क्रिकेट संघले राखेपलाई पत्र लेख्दै भाडा नबुझाउने जानकारी पनि गराएको छ । पत्रमा भनिएको छ, ‘विगत केही दिन अघि पत्र–पत्रिकामार्फत् मैदानको शुल्क निर्धारण गरि कास्की जिल्ला खेलकुद विकास समितिमा शुल्क बुझाउने खबरले गम्भीर ध्यानाकर्षण गराएको छ । पोखरामा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा आज रगंशाला प्रवेशद्वारमा खेलाडीसहित भएको बसलाई प्रवेशमा रोक लगाइएकोमा थप चिन्तित बनाएको छ । हामीसँग बिना छलफल र हाल यसको अवस्थाका विषयमा प्राप्त छलफल विना आएको निणर्य हामीलाई मान्य हुने छैन ।’
पोखरामा हाल विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता चलिरहेको छ । एक्सपर्ट एजुकेशनको आयोजनामा भएको विद्यालयस्तरीय प्रतियोगितामा सहभागि विद्यालयमध्ये एक विद्यालयको बसलाई जिल्ला खेलकुद विकास समितिले रोकेपछि क्रिकेट संघले असन्तुष्टि जनाएको हो । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले राखेपले क्रिकेट मैदान भोगचलान गर्न दिएको तर अहिले प्रखेपले रकम माग्नु गलत भएको बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले क्रिकेट संघले रकम दिन नमानेको पुष्टि गरे । उनले क्रिकेट संघलगायत केही खेल संघले आफुले प्रयोग गरेको विद्युतको रकम समेत नबुझाएको सुनाए । ‘अहिलेसम्म क्रिकेट संघले विजुलीको पनि रकम तिरेको मैले भेटिन । म आएको यतिका महिना भयो तर विजुलीको रकम आएको छैन,’ उनले भने, ‘हामीलाई रकम नै दिनुपर्छ भन्ने पनि छैन । आ–आफ्नो विद्युतको महसुल तिरेर बिलमात्र दिए पनि हुन्छ । पारदर्शी काम हुनुपर्छ ।’
२०५९ सालमा नेपाल क्रिकेट संघलाई पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माण गर्न राखेपले स्वीकृति दिएको थियो । जसको बोधार्थ तत्कालिन पश्चिमाञ्चल खेलकुद विकास समिति र कास्की जिल्ला क्रिकेट संघलाई समेत गरेको थियो । ०६८ मा यु–१९ राष्ट्रिय प्रतियोगिताबाट सुरु भएको उक्त मैदान एसियन क्रिकेट काउन्सिलको सेन्टर क्रिकेट एकेडेमी नेपालमा बन्ने चर्चा हुँदा पोखराको समेत नाम चलेको थियो । तर, उक्त एकेडेमी युएइमा बनाइएको थियो । लामो समयदेखि कास्की जिल्ला क्रिकेट संघले भोगचलान गर्दै आइरहेको उक्त संरचना हाल प्रदेश खेलकुद परिषद् मातहातबाट सञ्चालन हुनेगरी कार्य अघि बढेको छ ।
देश संघीयतामा गएपश्चात पोखरा रंगशालालाई प्रदेशले व्यवस्थापन गर्नेगरी कार्य भइरहेको छ । गण्डकी प्रादेशिक क्रिकेट संघले प्रखेप, नेपाल क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीलाई समेत बोधार्थ पत्र पठाएको छ । प्रखेपको २०८० साल २३ पुसको कार्यकारी समितिको बैठकले पोखरा रंगशालाको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले २०७९ मंसिर २८ गते पोखरा रंगशालालाई व्यवस्थित गर्नका लगि गठित कार्यदलको निर्णय अनुसार भाडादर कायम भएको थियो ।
सो कार्यदलले क्रिकेट खेल मैदान प्रयोग गर्दा अन्तर्राष्ट्रियस्तरको खेल प्रतिदिन ५० हजार, राष्ट्रियस्तरको खेल २५ हजार, प्रदेशस्तरको खेल १० हजार र स्थानीयस्तरको खेल पाँच हजार प्रतिदिन शुल्क लाग्ने निर्णयलाई नै सदर गरेको थियो । राखेपले प्रखेपलाई रेखदेख र व्यवस्थापनको जिम्मा दिइसकेको छ । पोखरा रंगशालाको व्यवस्थापको जिम्मा हाल जिल्ला खेलकुद विकास समिति कास्कीलाई छ ।
कार्यकारी बैठकले अर्को निर्णय नभएसम्मका लागि जिखेपलाई नै रंगशालाबाट हुने आम्दानी व्यवस्थापन गर्ने जिम्मा दिएको थियो । प्रखेपले हालका लागि पोखरा रंगशाला परिसर भौतिक पूर्वाधार व्यवस्थापन तथा संरक्षणसम्बन्धी कार्यविधि २०७८ अनुसारकै भाडादर कायम गरेर लागु गरेको छ । रंगशालामा न्युनतम तीन हजारदेखि अधिकतम ५५ हजार रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था गरेको छ । उक्त रकम खेल र खेलको प्रकृति अनुसार हुनेछ ।





