पोखरा/अमेरिकी नागरिक डेनियल सि टेलर र जेनिफरले सन् १९७१ ताका पोखरालाई चिरेर बग्ने अनि कतै देखिने र कतै लुक्ने सेती नदीको ३ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ गरे । हिमाल र यतीबारे लामो अनुसन्धान गरेका उनको त्यो साहसिक कार्यले सेती विश्वमाझ चिनियो । गोर्खा दक्षिणबाहुले सम्मानित डेनियलले सेती चिनाउनुअघि नै नेपालीले सेतीका अनेकौँ किस्सा नसुनेका भने होइनन्।
अन्नपूर्ण हिमालको काखमा उत्पत्ति भएर दक्षिण–पूर्वतर्फ बग्ने सेती नदी पोखरा १,केआइसिंहपुलनेर आइपुगेपछि साँघुरो र गहिरो गल्छी हुँदै बग्छ । त्यहाँबाट पोखरा १५ र १७ को दोसाँध ढुंगेसाँघुसम्म यो कतै देखिन्छ तर धेरैजसो लुक्छ । भूगर्भविद डा. कृष्ण केसीका अनुसार केआइसिंह पुलदेखि ढुंगेसाँघुसम्मको करिब ६ किलोमिटरको यात्रामा सेती नदी तुलसीघाट, नारायणस्थान र रामघाट क्षेत्रमा देखिन्छ ।
केआइसिंह पुलदेखि पृथ्वीनारायण क्याम्पसको तल पर्ने तुलसीघाट क्षेत्रसम्म गल्छीको गहिराइ ६०÷६५ मिटर र चौडाइ १५÷२० मिटर रहेको छ भने नारायणस्थानदेखि रामघाटसम्मको गहिराइ ६५÷७० मिटर र चौडाइ ३०÷३५ मिटरसम्म रहेको छ । रामघाटदेखि ढुंगेसाँघुसम्म भने चौडाइ ५÷१५ मिटर र गहिराइ ७५ देखि १ सय मिटरसम्म रहेको छ । पोखरालाई चिरेर बग्ने सेतीको भौगोलिक कथा यत्ति हो ।
आङै सिरिङ्ग पार्ने त्यो नमीता–सुनीता काण्ड
तर, सेती नदी, खोंच र यसका बगरसँग केही यस्ता दुखान्त र अपराधहरु पनि जोडिएका छन्,जसले सिंगो देशलाई हल्लाइरहन्छ । र, त्योमध्ये सर्वाधिक चर्चित काण्ड हो– नमीता सुनीता काण्ड ।
यो २०३८ सालको कुरा हो । काठमाडौंको सम्पन्न परिवारका दुई छोरी नमीता र सुनीता जेठ १८ गते पोखरा आइपुग्छन् । घुम्नकै लागि पोखरा आएका उनीहरुसँग नीरा पराजुली पनि हुन्छिन् । जेठ २४ गते उनीहरु बेपत्ता हुन्छन् । त्यसको पाँच दिनपछि पोखराको पृथ्वीनारायण क्याम्पस तलको बगरमा एक किशोरीको लास भेटिन्छ । टाउको पूर्व फर्किएको र उत्तानो अवस्थामा भेटिएको सो शव नमीताको थियो । नमिताको शव पाइएको ९ दिनपछि पिता माधवराज भण्डारीले अर्की छोरी सुनीताको शवको सनाखत गर्नुप¥यो । सुनीताको शव पनि पृथ्वीनारायण क्याम्पस तलको बगरमा भेटिएको थियो । काठमाडौंबाट आएका किशोरीहरुको हत्याले सिंगो देश तात्यो । यो हत्याकाण्डबारे अग्रज पत्रकार किशोर श्रेष्ठले ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’ मा विस्तृत चर्चा गरेका छन् ।
उनले दृष्टि साप्ताहिकको लागि यो विषयमा केन्द्रीत रहेर लेखेका कयौं लेखलाई पुस्तकको रुप दिएका हुन् । त्यसो त, तत्कालीन कास्कीका प्रमुख जिल्ला अधिकारी रहेका सूर्य सेन ओलीले यो घटना र अनुसन्धानमा खटिँदाको स्मरण आफ्नो आत्मकथामा समेटेका छन् । सो हत्याकाण्डमा को संलग्न थियो,खुलेको छैन । कतिसम्म भने नीरा पराजुलीको अवस्था अहिलेसम्म अज्ञात छ । नमीता–सुुनीता हत्याकाण्डको पाँच महिनापछि सेती खोंचमा अर्की एक महिलाको शव भेटियो । बोरामा बाँधिएको शव कसको थियो भन्ने गहिरो अनुसन्धान गरिएन । तत्कालीन सिडियो सूर्य सेन ओलीले चाहिँ त्यो शव नीराकै भएको अनुमान गरेका छन् । त्यस्तै सो घटनालाई प्रत्यक्ष देखेको मानिने वनपाले चुडामणि अधिकारीको पनि रहश्यमय हत्या भएको थियो । सुन्दा पनि आङ सिरिङ्ग पार्ने यो हत्याकाण्डको फाइल बन्द गरिएको पनि वर्षौं भइसकेको छ । तर, सेती नदीको प्रसङ्गमा सो घटनाको स्मरण गर्न छाडिएको छैन ।
सधैं असुरक्षित
पृथ्वीनारायण क्याम्पसबाट नारायणस्थानसम्मको करिब १ किलोमिटर क्षेत्रमा सेती देखिएर बग्छ र खोंचमा विलीन हुन्छ । जमिनभित्र लुक्ने सेती आफैंमा रहस्य हो । पर्यटकको लागि आकर्षणको केन्द्र हो । तर, पोखरेलीको लागि कहिलेकाहिँ यो अभिसाप पनि बन्दै आएको छ । सेती खोंचमा केही अड्किए हत्तपत्ति बाहिर आउँदैन । सेतीमा खसेका र बगाइएकाहरुलाई खोज्न पनि सजिलो छैन । कथंकदाचित कोही खसेको खण्डमा चाहिँ लास नै भए पनि झिक्न पानीको बहाव बढाउनुपर्छ । कास्की प्रहरीले बेलाबेला आफन्तहरुको अनुरोधमा पानीको बहाव बढाएर खोजी कार्य गर्दै आइरहेको छ ।
यही उपक्रममा बिहीबार पनि सेतीमा पानीको बहाव बढाइयो । पोखरा १, सिम्पानी बस्ने मानबहादुर तामाङ माछा मार्ने क्रममा बेपत्ता बनेपछि खोज्नको लागि नदीमा बढी पानी छाडिएपछि बल्ल भोलिपल्ट शव भेटियो ।
पानीको बहाव बढाउन चाहिँ केही माथि जौवारीमा रहेको सेती नहरको बाँध खोलिन्छ । सो बाँध सिंचाइको लागि बनाइएको हो । २०३७ सालमा मित्रराष्ट्र चीनको प्रावधिकि र आर्थिक सहयोगमा पोखरा जल उपयोग तथा सिंचाइ आयोजना सुरु गरिएको हो । सोही परियोजनाअन्तर्गत पोखरा १६ र १ को बीचमा पर्ने जौवारीनेर सेतीमा ड्याम बनाइयो । सिंचाइको अलावा सो परियोजनाअन्तर्गत नै पोखराको नारायणस्थानमा ५ सय किलोवाटका तीनवटा टर्वाइनबाट १५ सय किलोवाट विद्युत उत्पादन गरियो । २०४१ सालमा निर्माण सम्पन्न भएको र २० वर्षको आयू निर्धारण गरिएको परियोजना हालसम्म पनि उही अवस्थामा छ । यो बाँधको लम्बाइ ८० मिटर रहेको छ भने मुख्य नहरको लम्बाइ ७.६९१ मिटर रहेको छ ।
सेती नदी वरपरको क्षेत्र सधैं असुरक्षित रहँदै आएको छ । २०६५ साल असार १० गते साढे दुई वर्षीया आराधना प्रधान सेती खोंचमा खसिन् । ६० फिट तल खोंचमा खसेकी बालिकाको उद्धार गर्न ठूलै समूह परिचालन भयो । तर, खोंचको ढुंगामा अड्किएकी उनलाई निकाल्न हम्मे प¥यो । सोही ठाउँ बस्ने १२ वर्षीय कमल नेपालीले ‘बहिनीलाई म निकाल्छु’ भन्ने उद्घोष गरे । सानो काँठीका र सो क्षेत्रमा खाइखेलेका कमललाई क्यानोनिङ टोलीले खोंचमा पठायो । कमलले खोंचमा खसेकी आराधनाको २३ घण्टापछि सकुशल उद्धार गरे । उनी राष्ट्रिय हिरो बने । तर, सबैको भाग्य आराधनाको जस्तो हुँदैन ।
उदाहरणको लागि, पोखराको पृथ्वीचोकमा रहेको चाइनापुलबाट २०७४ सालको असोज ९ गते एक युवा नदीमा खसे । उनको प्रहरीले उद्धार ग¥यो । २०७६ माघ २८ गते कुकुरसहित घुम्न निस्केका युवाको पनि उद्धारपछि ज्यान जोगियो । तर २०७७ साल असोज १६ गते बिहान सवा ९ बजेतिर सेती खोँचमा खसेका अन्दाजी २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भयो । २०७७ सालको असोज १६ गते पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेर एकजनाले ज्यान गुमाएका थिए ।
सेती नदीमा खसेर हालसम्म कतिजनाले ज्यान गुमाए, कतिको उद्धार भयो भन्ने तथ्याङ्क नभए पनि हरेक वर्षजसो सेतीले मान्छे खाने गरेको छ । असुरक्षित सेती नदी क्षेत्र वरपर तारजाली लगाउनुपर्ने माग उठेको धेरै भइसकेको छ । तर, यो योजना कागजमा सीमित छ । पोखरा महानगरले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ‘सेतीखोच अवलोकन परियोजना’ निर्माणको घोषणा गरेको थियो । यसअघिका मेयर मानबहादुर जिसीकै पालामा घोषित सो परियोजना अनुसार घाईघाटबाट रातोपैह्रोसम्म सेती किनारा र खोचमा हिँड्ने बाटो बनाउने र क्यानोनिङ चलाउने योजना समेटिएको थियो । तर, त्यो योजनाले गति लिएको छैन ।
‘ज्यान फाल्छु नै भन्नेलाई तारले रोक्न त सकिँदैन तर सुरक्षा प्रबन्ध गरिँदा उसको मन बदलिन सक्छ । सेती नदीको सवालमा पनि त्यही विषयलाई ध्यान दिनुपर्छ,’यसअघि कास्की प्रहरीको डीएपपी हुँदा सुन्दर तिवारीले सार्वजनिक कार्यक्रममा भनेका थिए,‘सोझै हाम्फाल्न मिल्नेभन्दा तारजाली लगाइएको छ भने मान्छेको मन बदलिन सक्छ । यतातर्फ ध्यान दिनैपर्छ ।’





