पोखराको मुख्य भागमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । अन्तर्राष्ट्रिय भनिए पनि २०७९ साल पुस १७ गते भव्य उद्घाटन गरिएको पोखरा विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराको निजी क्षेत्रको निरन्तर पैरवीको जगमा निर्मित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यसको औचित्यबारे प्रश्न उठ्न थालेको छ । निर्माणकै क्रममा भएको प्राविधिक र आर्थिक गडबडी,भू-राजनीतिक स्वार्थ, ऋण र ब्याज, काठमाडौंको केन्द्रीकृत मानशिकताको कोपभाजनजस्ता विषयहरु चर्चामा आउन थालेका छन् । केही जागृत पोखरेलीहरुले चाहिँ अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको पुनः दबाब जरुरी भएको निष्कर्ष निकाल्दै त्यसको तयारी थालेका छन् । ढोरपाटन राष्ट्रिय दैनिकले राष्ट्रिय गौरवको आयोजनामाथि उठेका यावत् प्रश्नहरुको पोको स्वतन्त्र अर्थविद-सुशासनकर्मी आनन्दराज मुल्मीसामु फुकायो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विमानस्थल निर्माणका पैरवीकर्ता मुल्मीबाटै यसको नालिबेली पस्कने जमर्कोस्वरुप ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ विशेष लेख यहाँ प्रस्तुत गरिएको छ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ हरेक शुक्रबार र मंगलबार प्रकाशित हुनेछ । (संं.)
भाग १.
विक्रम् संवत १८०९ मा छब्बीस कुरिया जग्गामा जम्माजम्मी १५० जना नेवार जातका व्यापारीलाई ल्याइ तत्कालीन राजा सिद्धीनारायण शाहले व्यापारिक केन्द्रको रुपमा विकास गराएको सहर हो–पोखरा । हिजोको सानो पोखरा भूगोलको दृष्टिले अहिले देशकै ठूलो सहर बनेको छ । पोखराको आजको जनसंख्या ५१३५०० (२०७८ सालको जनगणना अनुसार ) पुगेको छ । २००८ सालमा जहाज ओर्लँदा पोखराको जनसंख्या ३ हजार ७५५ मात्र थियो ।
समयचक्र बदलिँदै गयो । भारत सरकारले २०२१ सालमा आफ्नो भूमि सुनौली नौतनवाबाट बुटवल, पाल्पा, स्याङ्जा हुँदै पोखरासम्म सडक निर्माण गरिदिएपछि पोखरा एकाएक व्यस्त सहर बन्यो । त्योभन्दा अगाडी पोखराबाट काठमाडौं कि हिँडेर कि जहाजमा जानुपथ्र्यो । २०१५ सालदेखि पोखराबाट भैरहवासम्म पनि जहाजमा आवत–जावत गर्ने सुविधा थियो । भारतले सुनौली–पोखरा सडक निर्माण सम्पन्न गरेपछि चीन सरकारले २०२७ सालमा काठमाडांै पोखरा सडक निर्माण गर्ने काम सुरु ग¥यो । २०३१ देखि नियमित बस चल्न थाल्यो ।
२०२७ सालमा राजा महेन्द्रको निधनपछि छोरा वीरेन्द्र राजा भए । पश्चिमा मुलुकमा अध्ययन गरेर फर्केका उनले छिटो र सन्तुलित विकास गर्न देशलाई १४ अञ्चल र ५ वटा विकास क्षेत्रमा विभाजन गरे । वडाहाकिमको ठाउँमा अञ्चलाधीश नियुक्त भए । पोखरालाई गण्डकी अञ्चल र पश्चिमान्चल विकास क्षेत्र (गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चलहरु समावेश भएको) को सदरमुकाम कायम गरियो ।
अञ्चलाधीश भएर शंकरराज पाठक आइसकेपछि पोखरालाई व्यवस्थित विकास गर्न पोखरा नगर विकास समिति गठन गरियो । ठीक त्यही बेला पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था ‘पाटाले’ आफ्नो सम्मेलनमार्र्फत् नेपालमा आर्थिक विकास लागी गति दिन पोखरा जस्तो ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल कार्य छिटो सुरु गर्नु पर्दछ भनी नेपाल सरकारलाइ आफ्नो रायसल्लाह दियो । यो समेत समावेश गरेर, पृथ्वीराजमार्ग समेत निर्माण भएको बेला पोखराको गुरुयोजना बनाउँदा त्यसबेला पोखरा नगरपालिकाभन्दा बाहिर छिनेडाँडा गाउँ पञ्चायतको मलिलो खेत क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनासहित गुरुयोजना तर्जुमा भएको हो र सो अनुसार जग्गाहरु क्रमशः अधिग्रहण गर्दै अगाडी बढेको हो ।
त्यसपछिको १० वर्ष अवधिमा देशमा योजनागत विकासभन्दा राजनीतिक घटनाक्रमले प्राथमिकता पाए २०३६ सालको जनमत संग्रह यो कालखण्डको सबैभन्दा महत्वपूर्ण घटना बन्यो । सुधारिएको पञ्चायतको नाममा पञ्चायतले नै निरन्तरता पाउँदा पनि एयरपोर्ट निर्माणले गति लिएन । २०४१ साल राजा वीरेन्द्रले विकास क्षेत्र भ्रमण गरी राय बुझने कार्यक्रम अनुसार पोखरा मुकाम हुँदा भेटघाट क्रममा नयाँ विमानस्थल निर्माण छिटो सुरु गर्नुपर्ने कुरा उठान भयो । कुरा उठाउने यहाँका उद्योगी÷ व्यवसायीहरु थिए । त्यसबेलासम्म पुरानो हवाइअड्डाको स्तरोन्नति पनि भएको थिएन । घाँसे मैदानबाट नै काम चलिरहेको थियो ।

लेखक आनन्दराज मुल्मी
२०४२ सालमा राजाको पुनः पोखरा आगमन हुँदा विमानस्थल निर्माण छिटो सुरु गर्न, सभागृह निर्माण हुनुपर्ने, विश्वविद्यालय स्थापना गर्नुपर्ने समेत माग राखेर ज्ञापनपत्र बुझाइएको थियो । फलस्वरूप जापानी सहयोग निकायले विमानस्थलको निर्माणसम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मा लियो र सरकारलाई बुझायो । सभागृह निर्माण गर्न सरकार पक्ष, नगरपालिका र पोखरा उद्योग वाणिज्य संघ मिलेर अगाडी बढने कार्यक्रम योजना तयार भयो र अढाइ वर्षमा तयार भइ संचालन भयो ।
यो तयार भएपछि स्थानीय संस्था र नागरीकलाई जीर्ण भएको महेन्द्रपुलको बदलामा नयाँ पुल निर्माण गर्ने काममा अगाडी उर्जा मिल्यो ।फलस्वरुप एक– साढे एक वर्षमा निर्माण सम्पन्न भयो । क्रमशः पोखराका पूर्वाधारहरु निर्माण हुँदै गए । यही उपक्रममा २०४६ सालको बहुदलीय व्यवस्था पुनः स्थापनाको लागि जनआन्दोलन छेडियो । नेपाल नयाँ चरणमा प्रवेश ग¥यो । तर, आन्दोलको क्रममा विमानस्थलबारे धेरै कुरा उठन सकेन ।
तर,व्यवसायीहरुले विमानस्थल निर्माणको एजेण्डा बिर्सेनन् । २०४८ सालमा निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पर्यटनमन्त्री रामहरी जोशीलाई पटकपटक भेटेर पुनः विमानस्थल छिटो निर्माण गर्नुपर्ने कुरा कुरा उठाए । ज्ञापनपत्र पेश गरे । २०५२ सालमा माओवादी आन्दोलन सुरु भयो । माओवादी सशस्त्र आन्दोलनको क्रममा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको छिनेडाँडास्थित जग्गामा सुकुम्बासीको नाममा मासिहरु राख्ने काम भयो । बाढी पहिरोबाट विस्थापित व्यक्तिहरुलाई पनि त्यतै ल्याइयो । विमानस्थलको मुद्दा छायाँमा प¥यो ।
बेलावखत भेटघाट र कार्यक्रमहरुमा कुरा उठान हुँदा मन्त्रीहरुबाट पैसा जुगाड गर्न अप्ठेरो, झन्डै १६ अर्ब रूपैया ऋण लिन पनि कठीन भइरहेको जवाफ पाइन्थ्यो । नेपालको लामो राजनीतिक संक्रमणकालीन अवधि, माओवादी संघर्ष, राजा वीरेन्द्रको वंश नाश, त्यसपछिको राजा ज्ञानेन्द्र ले ‘कु’ गरेको अवधि र फेरि २०६२–०६३ को जनआन्दोलनको समयमा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने एजेण्डाले प्राथमिकता पाउन सकेन ।
तर, पोखरेली जनताको मनमा निरन्तर विमानस्थलको कुराले घचघच्याइ रहयो । मीठो चामल खाने बानी परेका पोखरेलीहरु,स्वादिलो महक आउने धान फल्ने छिनेडाँडाको त्यस्तो राम्रो जग्गा,आफू त्यहाँबाट विस्थापित हुँदा अनि एकगेडा धान नपाउँदा पनि पोखरा र नेपाल राम्रो बन्छ भने निर्माणको लागी जग्गा दिन पछि परेनन् । अधिग्रहणको पैसा किस्ता–किस्तामा बुझेर चित्त बुझाएर बसे । त्यत्रो ठूलो त्यागले दिएको जग्गामा विमानस्थल नबन्ने भयो । जग्गा फर्काउनेसम्मका कुरा उठे ।
हिमाल आरोहण गर्नेहरु, पदयात्रामा रमाउनेहरु तथा यहाँका ताल र सुन्दर भू–दृष्यमा रमाउन चाहनेहरुको पोखरा आवागमन बढ्दै गयो । यही उपक्रममा विदेशका राष्ट्रध्यक्ष र प्रधानमन्त्रीहरु पोखरा पाइलो टेक्न आए । पोखरा पर्यटकीय दृष्टिकोणले उचाइमा पुग्ने सम्भावनाको आँकलन गर्दै थुप्रै व्यवसायीहरुले पर्यटन क्षेत्रमा लगानी बढाए ।
होटल रेष्टुरामात्र नभइ पर्यटन वा अरु आयामहरुमा पुराना र नयाँ व्यवसायीहरुले नयाँनयाँ क्षेत्र, नयाँनयाँ ठाउँहरूमा, नयाँनयाँ स्वरूपका व्यवसायहरुमा लगानी गरे । पर्यटकीय सहरको रूपमा परिचित गराउनको लागिपरे । त्यसैकारणले विश्वका सहरहरुबाट सिधै पोखरा आउने चाहनालाई मूर्तरुप दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पनासँगै आवश्यकता स्वरूप गुरुयोजना बनेको हो तर झन्डै ३७÷३८ वर्षसम्म सरकारले गम्भीरतापूर्वक लिएन । फलस्वरूप -पोखरा जहाँको तहीं नै छ ।





