म्याग्दी/बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन ४ लाखभन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो ।
यस वर्षको महाशिवरात्रि पर्वमा ४ लाख २९ हजार तीन सय ८८ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुुनले जानकारी दिए ।
पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताए ।
महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुुर खत्रीले बताए ।





