शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पसिनाको कमाइबाट क्याम्पसलाई एक करोड दान

पसिनाको कमाइबाट क्याम्पसलाई एक करोड दान

गलकोट क्याम्पसलाई पढ्दै कमाउँदैको थलो बनाउने लक्ष्य


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

पोखरा / अरबौंको भ्रष्टाचारका समाचार सुन्दासुन्दै कान पाकेको बेला एक करोड रुपैयाँ सानो सुनिएला । करोड कमाउन सजिलो छैन । खेती–किसानी गर्नेको मात्र हैन, सामान्य जागिरेको लागि पनि एक करोड सपना हो । तर, समाजमा यस्ता मान्छे पनि छन्, जो चुपचाप आफ्नो काम गर्छन् र परेको बेला दिल खोलेर करोड दान दिन पनि पछि पर्दैनन् !

र,त्यही पंक्तिमा दरिएका छन्बा-गलुङको गलकोट नगरपालिका हटिया निवासी श्रेष्ठ परिवार । जसले बजारमै आयोजित महायज्ञको उपक्रममा १ करोड १ हजार १ ११ रुपैयाँ आर्थिक सहयोग गरे । स्थानीय गलकोट बहुमुखी क्याम्पसको स्तरोन्नतिको उद्धेश्यसहित फागुन ६ देखि १३ गतेसम्म आयोजित श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञमा श्रेष्ठ परिवारले त्यति ठूलो रकम दान गरेको हो ।

स्वर्गीय पति बद्रीकुमार श्रेष्ठको स्मृतिमा धर्मपत्नी निर्मला श्रेष्ठसहित स्वर्गीय मातापिता बेगमकुमारी श्रेष्ठ र बद्रीकुमार श्रेष्ठको स्मृतिमा छोरा बुहारीहरु मदनकुमार श्रेष्ठ, नन्दना श्रेष्ठ, पुष्पमान श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, डा. विपिनकुमार श्रेष्ठ, डा. रश्मी श्रेष्ठ, दीलिप श्रेष्ठ सुष्मा श्रेष्ठ तथा छोरीहरु शान्ति, ज्योति र मेडिना श्रेष्ठ लगायतबाट सर्वाधिक रकम प्राप्त भएको क्याम्पस संचालक समितिका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए ।

महायज्ञ मुल आयोजक समितिका संयोजकसमेत रहेका शर्माका अनुसार २ लाख ५१ हजारभन्दा बढी दान दिनेलाई ताम्दानीमा चढाएर नगर परिक्रमा गराउने कार्यक्रम तय गरिएको थियो ।
‘दानवीरलाई सम्मान गर्नु हाम्रो कर्तव्य थियो,हामीले त्यस्ता धेरै दानवीरहरुलाई त्यस्तो सम्मान अर्पण ग¥यौँ,’शर्माले भने, ‘तर, श्रेष्ठ परिवारले त्यस्तो सम्मान रुचाउनुभएन । तामझाम गरेर दान हुँदैन भन्नुभयो । सरासर मञ्चमा आउनुभयो, फूलमाला भए पुग्छ भन्नुभयो । त्यो परिवार ताम्दानी चढेन ।’

स्वर्गीय बद्रीकुमार श्रेष्ठका पिता नै गलकोट क्षेत्रमा व्यापारीमात्र नभएर समाजसेवी थिए । त्यो बेला काठमाडौं गएर स्नातकसम्म पढेका बद्री कुनैबेला गलकोट माध्यमिक विद्यालयमै मास्टरी गर्थे । पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगै उनले सो विद्यालयमा पढाएका थिए । वामपन्थीहरुको संगतमा रहेका उनी त्यतै झुकाव राख्थे तर उनी राजनीतिमा चाहिँ होमिएनन् । पछि उनले व्यापार नै रोजे ।

व्यापारबाट राम्रै सम्पत्ति जोडेका उनी गलकोट क्याम्पसका संस्थापक पनि थिए । २०६१ सालमा गलकोट बहुमुखी क्याम्पसको स्थापनाको लागि महायज्ञ आयोजना हुँदा सवैभन्दा बढी दान बद्रीकुमारबाटै भएको थियो । क्याम्पस व्यवस्थापन समितिका संयोजक शर्माका अनुसार २०६१ साल फागुन १४ गतेदेखि २२ गतेसम्म वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोख्रेलको प्रमुख वाचकत्वमा सम्पन्न विश्व शान्ति धन–धान्याचल ज्ञान महायज्ञमा नगद र जिन्सी स्वरूपरु. १ करोड ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको जग्गा प्राप्त भएको थियो ।

पछि,बद्रीकुमारले गलकोट क्षेत्रकै पहिलो निजी विद्यालय संचालकको परिचय बनाए । निजी विद्यालय खोले पनि सामुदायिक विद्यालयको स्तरोन्नति र गुणस्तर सुधारमा उनको चासो रहन्थ्यो । शर्माको भनाइ अनुसार परिवारका सदस्यहरुले पनि पिताको दानवीर शैली छाडेनन् र यति ठूलो रकम दान गरिदिए ।

‘उहाँहरुले आउँदा दिनमा कलेजको भौतिकसहित शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्ने सहयोगको प्रतिवद्धता जनाउनुभएको छ,’शर्माले भने,‘हाम्रा लागि देश–विदेशमा रहनुभएका सवै दानवीरहरु उत्तिकै सम्मानित हुनुहुन्छ तर श्रेष्ठ परिवारले दिल खोलेर गरेको सहयोग आफैंमा महत्वपूर्ण रहेको छ ।’

स्वर्गीय बद्रीका ४ छोरा ३ छोरी र २५ जनाजति नाति–नातिना रहेका छन् । जेठी श्रीमती बितेपछि दुई छोरीहरु हुर्काउने उपक्रममा उनले अर्को घरजम गरे । कान्छी धर्मपत्नी निर्मलाले घर सम्हालिन् । तीमध्ये कान्छा छोरा दीलिप अहिले पनि गलकोटमै बसेर व्यापार गर्छन् भने अरु चाहिँ गुँड छाडेर देश–विदेश पुगेका छन् । साहिँला छोरा कर्णेल डाक्टर विपिन श्रेष्ठका अनुसार पिताकै पदचाप पच्छ्याउँदै सवै परिवारको तर्फबाट सो सहयोग गरिएको हो ।

‘क्याम्पस स्थापना गर्दा पनि हाम्रा बुबाले संस्थापकको रुपमा दान गर्नुभएको थियो, पिता शैक्षिक क्षेत्रमा भएकाले नै हामी अहिले यत्तिको ठाउँमा पुगेका हौँ, शिक्षित भएका हौँ,’उनले भने,‘ बुबाको लेगेसी कायम गर्नुपर्छ भनेर हामीले त्यो निर्णय गरेका हौँ ।’ उनले आवश्यक परेमा थप सहयोग गर्ने कुरा पनि बताए । कान्छा छोरा दीलिप श्रेष्ठका अनुसार यो दान पिताको शिक्षा क्षेत्रमा भएको लगानीको निरन्तरता स्वरुप यो दान गरिएको हो । ‘बुबाको योगदान शिक्षामै थियो, उहाँकै इच्छाले यो दान गरिएको हो,’ उनले भने ।

लाहुरेको बजारको त्यो क्याम्पस !
गलकोटलाई जापानी लाहुरेको बजार भनेर चिनिन्छ । त्यहाँका अधिकांश युवाहरु जापान छन् । जापानमा रहेका गैरआवासीय नेपालीको संस्थामध्ये गलकोट समाज सवैभन्दा सक्रिय र सशक्त मानिन्छ । समाजले सो क्षेत्रको शैक्षिक र सामाजिक उन्नयनको लागि करोडौं सहयोग गरेको छ । यो महायज्ञमा पनि गलकोट समाज जापानले २० लाख रुपैयाँ दान गरेको छ । रेमिट्यान्सले धानिएको गलकोट क्षेत्रको कलेजको अवस्था भने उति राम्रो छैन ।

व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माका अनुसार व्यवस्थापन र शिक्षा विषयमा स्नातकसम्म पढाइ हुने क्याम्पसमा २९० जना र गलकोट माध्यमिक विद्यालयमा १२ सयको हाराहारीमा विद्यार्थी रहेका छन् । क्याम्पसमा २८ जना प्राध्यापक रहेको र तीमध्ये ५ जनामात्र पूर्णकालीन भएको पनि उनले बताए ।

‘हुनेखानेहरु सवै बाहिरिएका छन् । क्याम्पस निम्न वर्गीहरुका छोराछोरी पढ्नेजस्तो भएको छ,’ उनले भने,‘हामीले नाममात्रको शुल्क लिएर विद्यार्थी पढाएका छौँ,यहीँ डिग्री पनि पढाउने व्यवस्था मिलाउने र छिमेकी जिल्लाका विद्यार्थी पनि आकर्षित गर्दै गलकोटलाई शैक्षिक थलो बनाउने हाम्रो अभियान हो ।’

अघिल्लो वर्षसम्म गलकोट माध्यमिक विद्यालय र गलकोट बहुमुखीक्याम्पस एउटै कम्पाउण्डमा थिए । स्कूलमा विद्यार्थी बढे । नमूना विद्यालय बनाउने अभियानसँगै क्याम्पसको लागि छुट्टै भवनको आवश्यकता महसुस गरिएपछि महायज्ञको सोच बनाइएको क्याम्पस प्रमुख मुकुन्द भण्डारीले बताए । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए) को आशयपत्र प्राप्त गरे पनि कथंकदाचि प्राप्त नभएको अवस्थामा क्याम्पसलाई बचाउन पनि यो अभियान थालिएको उनको भनाइ छ । यो वर्षबाटै होटल म्यानेजमेण्ट विषयको स्नातक कक्षा थाल्ने तयारी पनि उनले सु्नाए ।

भागवत भाष्कर कमलनयन गौतमको कथावाचन रहेको महायज्ञबाट १२ करोड रुपैयाँजति संकलन भएको उनले बताए । त्यसमा गलकोट समाज पोखराले ३ लाख ३ लाख ३ हजार १३ रुपैयाँ, जमुना कुँवरको परिवारबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ,घनश्याम शर्मा सुवेदीबाट ५ लाख ५५ हजार ५५५ , पूर्णबहादुर÷नन्दकला खत्री परिवारबाट ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित विभिन्न व्यक्ति र संस्थाबाट सहयोग मिलेको क्याम्पस परिवारले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मा चाहिँ अहिले प्राप्त भएको दानको ६० प्रतिशत रकम जग्गा खरिदमा खर्चने र बाँकी शैक्षिक गुणस्तर वृद्धिमा लगाउने योजना सुनाउँछन् ।

समयसापेक्ष प्रावधिक तथा स्वरोजगारमूलक विषयहरु पढाउने, छात्राबासको व्यवस्था गर्दै रुकुम र रोल्पाका विद्यार्थीहरुलाई पनि आकर्षित गर्ने अनि पढ्दै कमाउँदै कार्यक्रम संचालन गर्ने हाम्रो उद्धेश्य हो,’उनले भने,‘ जग्गा भयो भने कम्तिमा त्यहाँ कृषि कर्म गर्ने र कमाउँदै पढ्ने वातावरण बन्छ,रोजगारमूलक सीप सिकेर देशमै केही गर्ने जनशक्ति तयार पार्न सकिन्छ भनेर हामी लागिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->