वडा जोड्न गौरवका योजना
साविकका आठ गाउँ बिकास समितिलाई वडामा परिणत गरेर काठेखोला गाउँपालिका घोषणा हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगेकै थिएन् । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेकाले केही वडामा सडकको सहज पहुँच थियो ।
पाला, भिमापोखरा र बिहुँका दुई वडालाई छुँदै पश्चिम पुगेको मध्यपहाडीले काठेखोलामा सडक सञ्जाल बिस्तारका लागि सहज बनाएको थियो । कतै स्थानीयले आँफै लगानी गरेर त कतै सरकारी लगानीमा सडक पुर्याउने क्रम चलेको थियो । स्थानीय तह गठनपछि पहिलो कार्यकालमा गाउँपालिकाले हरेक वडामा पक्कि सडक पुर्याउने योजना अघि सार्यो । पक्कि सडक बनाउन सडकको स्तरोन्नती गर्नुपूर्व केही बस्तीमा सडक पुर्याउनुपर्ने बाध्यात्मक कार्यभार गाउँपालिकासँग थियो । सिमित स्रोत साधनका बीच गाउँपालिकाले वडा र बस्तीमा सडक बिस्तार गर्यो । त्यसपछि स्तरोन्नतीको लहर सुरु भयो ।
हरेक वडामा पक्कि सडक पुर्याउँदा पालिकाबासी सबैलाई सहज हुने देखेरै गाउँपालिकाले अघिल्लो बर्षको नीति तथा कार्यक्रममार्फत यो कार्यकालमा हरेक वडामा पक्कि सडक पुर्याउने योजनाका साथ गाउँपालिका गौरवका योजना सञ्चालनको नीति बनाएको छ ।
‘सबै वडामा एकै पटक पक्कि सडक पुर्याउन सम्भव नै छैन्, हामीले सिमित स्रोतमा असिमित जनचाहना पुरा गर्नुपर्ने छ’ गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा भन्छन् ‘हामीले यो कार्यकालमा सबै वडामा सहज सडक पुर्याउने लक्ष हो ।’
हरेक बर्ष दुई वटा सडक गौरवका योजनाका रुपमा सञ्चालन गर्ने गरेको गाउँपालिकाले चार सडक स्तरोन्नतीको काम गरिरहेको छ । पहिलो बर्ष वडा नं. १ र ४ मा पुग्ने सडक गौरवको आयोजनाको रुपमा स्तरोन्नती गरिएको थियो । राहले घुम्तीदेखि लामावगर सडक र अक्षेते बजारदेखि पालामा रहेको वडा कार्यालयसम्मको सडक पहिलो बर्ष स्तरोन्नतीको काम भएको थापा बताउँछन् । गौरवका आयोजनाका लागि गाउँपालिकाले ५० लाखका दरले बजेट बिनियोजन गर्ने गरेको छ । चालु आर्थिक बर्षमा भुँदी खोलादेखि वडा नं. ८ को लेखानीसम्म र सुल्डाँडादेखि वडा नं. ६ कै किम्बोट फापरखेतसम्मको सडक स्तरोन्नती गर्ने काम चलिरहेको छ ।
‘यो पर्याप्त होईन्, तर हामीले सुरुवात गरेका छौं, साना टुक्रे योजनाभन्दा गौरवका योजनाले प्रभावकारी काम हुन्छन्’ थापा भन्छन् ‘चार बर्षमा आठवटै वडामा पुग्ने सडक स्तरोन्नती भएका हुनेछन् ।’ मध्यपहाडी लोकमार्गको २० किलोमिटर खण्ड काठेखोला गाउँपालिकामा पर्छ । निर्माण कम्पनीको लापरवाहीकै कारण यो खण्डको अधिकांश कालोपत्रेको काम अलपत्र छ । गाउँपालिकाको मुकामदेखि वडा नं. ७ पुग्ने झण्डै दुई किलोमिटर र वडा नं. ५ मा पर्ने मध्यपहाडी लोकमार्गको केही खण्डबाहेक कालोपत्रे सडक छैन् । पक्कि सडकलाई स्तरोन्नती, ग्राभेल र कालोपत्रे गर्ने चरणमा पुग्दै गाउँपालिका सडकमा समृद्ध बन्ने लक्ष्यमा छ ।
फलफुल र नगदेबालीमा जोड
बिहुँको सुन्तला देशभर चर्चित छ । फुल खेल्न नपाउँदै यहाँको सुन्तला किन्न व्यवसायी बगानमै आईपुग्छन् । बिहुँका दुई वडामा मात्रै बार्षिक करोडौंको सुन्तला फल्छ । आठवटै वडामा धेरैथोरै सुन्तला फलेकै छ । गाउँपालिका आझै सुन्तलाबाट समृद्धिको सपना देखिरहेको छ । सुन्तलाको जोन बनाउने योजना अनुरुप किसानलाई बिरुवा दिने, बगैचा व्यवस्थापनको काममा सघाउने, बजारीकरणमा सघाउने कामहरु गाउँपालिकाले गरिरहेको छ । गाउँपालिकाबाट निर्यात हुने मुख्य उत्पादन सुन्तला र दुध नै हो । दुवै उत्पादनमा गाउँपालिकाको ध्यान पुगेको छ ।
वडा नं.७ रेशमा नमुनाको रुपमा लगाईएको चियाले व्यवसायीक उत्पादन दिन थालेको छ । रेशकै उत्पादन हेरेर गाउँपालिकाले चियालाई पनि गाउँपालिकाको उत्पादन बनाउने योजना बनाएको छ । ‘पकेट क्षेत्र विस्तार कार्यक्रम अघि सारेका छौं, पाँच वटा बाली जसले उत्पादन हुँदा बित्तिकै आम्दानी दिन्छन्, तिनीहरुको पकेट क्षेत्र बिस्तार कार्यक्रम सञ्चालन गर्दै छौं’ उपाध्यक्ष थापा भन्छन् ‘परम्परागत प्रणालीको संरक्षण र आधुनिक प्रबिधिको प्रयोग सँगै लैजाने योजना छ ।’ रेशमा उत्पादन दिन थालेको चिया अब धम्जा र अन्य वडाका उच्च क्षेत्रमा बिस्तार हुने छ ।
वडा नं. ७ रेश र वडा नं. ३ धम्जामा आलु पकेट कार्यक्रम सञ्चालनमा छ । जहाँको आलु स्थानीय र बाहिरी बजारमा समेत लोकप्रिय छ । बजारमा माग उच्च रहेकाले उत्पादन बढाउने योजना अनुसारनै गाउँपालिकाले दुई वडामा पकेट क्षेत्र बिस्तार गरेको हो ।
फलफुल खेती धेरै हुने, वनजंगल पर्याप्त रहेको र खेतीयोग्य फाँटहरुमा लगाईएको खाद्यान्न बालीको फुल समेतको उपयोग गरेर आम्दानी हुने मौरी पालनमा पनि गाउँपालिकाको आँखा परेको छ । रेश र बिहुँमा मौरीपालन पकेट कार्यक्रम सञ्चालन गरिएको थापा बताउँछन् । मसला बालीको रुपमा अलैचीँको खेतीको पकेट पनि सञ्चालनमा छ । देश बिदेशमा महंगो मुल्यमा बिक्री हुने र उत्पादन गर्न समेत सहज रहेको अलैंची बाली बिहुँ र तंग्राममा पकेट क्षेत्र बिस्तार गरिएको छ ।
केही बर्ष पहिलेसम्म तिहारको बेला मात्रै बजारमा देखिने ओखर आजभोली बाह्रै महिना किन्न पाईन्छ । प्रतिकिलो ५ सयदेखि ६ सय रुपैयाँ पर्ने ओखर बागलङमा पनि उत्पादन परीक्षण भैरहेको छ । एक हजार ६ सय मिटर माथीको भुभागमा ओखर उत्पादन राम्रो हुने पाईएकाले काठेखोलाले ओखर खेती गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । लेखानी र तंग्रामलाई ओखर पकेट क्षेत्र बनाएरै खेती थालिएको गाउँपालिकाले जनाएको छ ।
‘स–साना प्रयासहरुबाट महत्वपूर्ण उपलव्धी हाँसिल गर्नुपर्ने छ’ थापा भन्छन् ‘कृषिमा हामीले परम्परागत खेतीभन्दा केही फरकपन अपनाउनै पर्ने छ, तब मात्रै हाम्रा किसान आत्मानिर्भर हुन्छन् ।’ गाउँपालिकाले कृषिमा तीन प्रकृतिका कार्यक्रममार्फत किसानलाई सहयोग गरिरहेको छ । त्यो मध्येको एक हो पकेट तथा जोन बिस्तार कार्यक्रम ।
किसानलाई उत्पादनमा प्रोत्साहन गर्नका लागि चालु आर्थिक बर्षमा दुध र मासुमा अनुदान दिने कार्यक्रम सञ्चालन भैरहेको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेर प्रतिलिटर दुधमा एक रुपैयाँ र खसी बोकाको प्रतिकिलो मासुमा दश रुपैयाँ अनुदान दिईएको गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत खगराज गौतमले बताए ।
‘किसानको दुधको आँफैमा मुल्य पर्छ, गाउँपालिकाले कम्तिमा ढुवानीमा सहयोग पुगोस् भनेर अनुदान दिन सुरु गरेको हो’ गौतम भन्छन् ‘उत्पादनमा आधारित अनुदानले किसानलाई उत्पादन बृद्धिमा प्रोत्साहन गरिरहेको छ ।’
गाउँपालिकाले मागमा आधारित अनुदानलाई पनि सञ्चालन गरिरहेको छ । किसानलाई प्रबिधि सहयोग गर्न यो कार्यक्रममा सञ्चालनमा छ । मिनिटेलर होस् वा प्लाष्टिक टनेल यहीं कार्यक्रमबाट बितरण गर्ने गरिएको छ । किसानलाई सीप हस्तान्तरण र क्षमता बिकासका लागि सीप बिकास कार्यक्रम समेत गाउँपालिकामा सञ्चालित छ ।





