पोखरा/ भारतीय दूतावासले पोखरा महानगरपालिकाका दुई सामुदायिक विद्यालयलाई सवारी साधन (बस) उपलब्ध गराएको छ ।
दूतावासले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक विद्यालयलाई बुझाइएको हो ।
विद्यालयलाई बस हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले विपन्न नागरिकका छोराछोरी पढ्ने विद्यालयले बस सेवा संचालन गर्दा सुविधाका साथै विद्यार्थी बढ्ने बताए ।
अध्यक्ष थापाले आगामी आर्थिक वर्षको बजेट शिक्षा र स्वास्थ्यमा केन्द्रीत गर्ने घोषणा गर्दै वडा शिक्षा समितिले निर्माण गरेको शैक्षिक क्यालेण्डर अनुसार चल्न विद्यालयलाई निर्देशन पनि दिए । सामुदायिक विद्यालयको शिक्षामा गरिएको लगानीले सोचेजति प्रतिफल प्राप्त गर्न नसकेको उल्लेख गर्दै, अध्यक्ष थापाले पढाइ छाड्ने प्रवृत्तिले थप चिन्तित बनाएको बताए ।
पोखरा २६,विजयपुरमा रहेको भवानी कालिकामा भण्डै चार सय र अर्घौमा रहेको लक्ष्मी माविमा झण्ड्रै नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।





