पोखरा/२०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समग्रमा चौथो स्थानमा रहेको गण्डकी प्रदेश पहिलो पटक बागमती प्रदेशभन्दा अघि रह्यो । ०८० चैतमा बागमतीमा भएको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा गण्डकीको स्थान चौथो र हालैमात्र सम्पन्न केन्द्रीय स्तरको राष्ट्रपति रनिङशिल्डमा गण्डकीको स्थान छैटौं रह्यो ।
गण्डकी प्रदेशमा पुरुष भलिबल, पुरुष टेनिसबाहेक अन्य खेलमा स्थिति नाजुक छ । कुनै समय मार्सलआर्टमा समेत अब्बल मानिएका गण्डकीको झन खस्कदो अवस्था छ । यसको मुख्य कारण नै प्रशिक्षक देखिएका छन् । गण्डकीमा वर्षदिन स्वयंसेवक प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण गराएपनि प्रतियोगितामा भने नियुक्त लिएका प्रशिक्षक जाने गर्छन् । अघिपछि व्यस्त हुने ती प्रशिक्षक तबल भत्ता बुझन भनेपछि अघि बढ्छन् । जसका कारण खेलाडीको नतिजामा ठूलो असर गरिरहेको छ । हालै सम्पन्न प्रदेशस्तरीय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको नतिजालाई हेर्ने हो भने गण्डकीमा पूर्वाधार, बजेट, प्रशिक्षक हुँदाहुँदै पनि नतिजा निकाल्न नसक्नु प्रदेश खेलकुद परिषद् गण्डकीको गम्भिर कमजोरी हो । गण्डकीको खेलकुद कमिशन र अनियमितताको महासागरमा डुबिहेको छ ।
अर्थात स्वयम् सेवक प्रशिक्षकको नाउँमा ब्रह्मलुट गर्नेदेखि राष्ट्रिय खेलकुद परिषदबाट प्रशिक्षकको नियुक्ति लिएर तलब बुझ्ने काम मात्रै गरिरहेका छन । जसले निस्वार्थ रुपमा वास्तविक स्वयम्सेवक प्रशिक्षण गरिरहेका छन्, उनीहरुले खेल प्रशिक्षणका लागि न त पूर्वाधार पाउँछन न त अवसर र सेवा नै । गण्डकीका हरेक जिल्लामा राखेपको नियुक्तिमा प्रशिक्षक छन् तीमध्ये एकादुईबाहेक अरुले तलब भत्ता बुझ्नेबाहेक केही कामका छैन्न । यसको ज्वलन्त उदाहरण हुन्– करातेका प्रशिक्षक । करातेका प्रशिक्षकले गण्डकीमा खेलाडी उत्पादन गर्दैनन् । नियुक्त लिएर बसेका उनले खेलाडीले नै प्रशिक्षण गराइदिन अनुरोध गर्दा समेत वेवास्ता गर्छन् । त्यसैले त नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा करातेमा पदक आउन सकेन । नवौंमा मात्रै होइन, प्रदेश स्तरीय र राष्ट्रपति रनिङशिल्डमा समेत पदक आएन । करातेका एक खेलाडीका अनुसार नियुक्ति लिएका प्रशिक्षकले न अरु प्रशिक्षक राख्न दिन्छन् न आफूले प्रशिक्षण गराउँछन् । ‘हामीले नवौंमा समेत प्रशिक्षण गराउन प¥यो भन्दा वेवास्ता गरेकै हो । त्यतिबेला प्रशिक्षककै कारण मेडल आउन सकेन । अहिले पनि प्रशिक्षण गराउनै खोज्नुहुन्न,’ एक खेलाडीले भने, ‘हामीले उहाँको नियत बुझ्नै सकेनौं ।’ गण्डकीको खेलकुदको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरीका चाङ छन् । यद्यपि, गण्डकीको खेलकुदमा मिलेर अनियमितता गर्न पल्केकाहरुले त्यसलाई कमजोर बनाउन विभिन्न बहाना बनाउँदै आइरहेका छन् ।
एथलेटिक्सका प्रशिक्षकसमेत रहेका सिद्धान्त अधिकारीले खेलकुदमा राजनीति हुँदा गण्डकीको स्तर खस्किएको बताए । उनका अनुसार प्रदेश खेलकुद परिषद्मा आवश्यक विज्ञ व्यक्तिहरु नहुदा समस्या आइरहेको छ । ‘यहाँ सदस्य सचिव नियुक्तिमै पार्टीको राजनीति हुन्छ । प्रक्रिया मिलाएर पार्टीको नियुक्ति खाने ठाउँ भएको छ । खेलकुदको भिजन भएका व्यक्तिहरु परिषदमा कमै छन्,’ उनले भने, ‘ प्रशिक्षकको नाउमा नियुक्ति खाएर आ–आफ्नो ठाउँमा सुतेर बस्ने अनि तलब खाने धेरै भए । यसको अन्त्य हुन जरुरी छ ।’बागमती र गण्डकी जस्तो खेलकुदमा स्वर्ण मानिएको प्रदेशहरुमा राजनिति हुँदा प्रत्यक्ष प्रभाव खेलाडीमा परिरहेको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य तथा मुआथाई प्रशिक्षक खगेन्द्र क्षेत्रीले गण्डकीमा समस्या नेतृत्वमै भएको बताए । उनले पार्टीको राजनीति र भोटको राजनितिले गर्दा समग्र खेलकुदलाई पछि पारिएको सुनाए । उनी भन्छन्, ‘हाम्रो नेतृत्वमै समस्या छ । अहिलेको सदस्य सचिवले काम गर्छु भन्दा काम गर्न मान्दैन । मधेश प्रदेशमा परिषद छैन त्यहाँ पनि मेडल आयो । हामीमा समस्या छ । बजेट सक्ने बाटोमात्रै भएको छ । कार्यक्रमको नाममा कार्यक्रममात्रै भए ।’ परिषदको कार्यप्रति उनी असन्तुष्ट छन् ।
यतिमात्र होइन, राखेप र प्रदेशले नै खटाएका प्रशिक्षकहरुलाई अनुगमन गर्ने कोहि नहुँदा समस्या आइरहेको उनी सुनाउँछन् । ‘हाम्रो नेतृत्वले न आफू काम गर्छन न अरुलाई काम गर्न दिन्छन । यहाँ भोटको राजनीति मात्रै भएको छ । खेलकुदमा खेलकुदबाहेक सबै भइरहेको छ’ उनले भने ।
राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले गण्डकीको प्रशिक्षकहरुमा समस्या देखिएको स्वीकारे । उनले कतिपय कुरामा आफू चुकेको सुनाउँदै समस्या भएमा त्यसको उजागर गर्नुपर्ने बताए । ‘गण्डकीको जुन नतिजा आयो, त्यसले हामी सबैलाई लज्जित बनाएको छ । यहाँ यो त्यो भन्नुभन्दा पनि हामीभित्रै कमजोरी धेरै भयो । यसलाई सुधार गर्नुपर्ने छ’ उनले भने, ‘खालि तबल भत्ता मात्रै खाएर हुँदैन प्रशिक्षण गराउन पर्छ खेलाडी उत्पादन गर्नुपर्छ ।’ सदस्य गुरुङ खेल हुने समयभन्दा दुई–तीन दिन अघिमात्र प्रशिक्षण गराउँदा निकै समस्या आइहरेको सुनाउछन् ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पटकपटक खेलकुदको मिति सर्दा खेलाडी मारमा परिरहेको बताए ।
‘राखेपले निर्धारित समयमा खेल गर्न सकेन । हामी जुन स्प्रीटमा अघि बढेका थियौं त्यो स्प्रिटमा अवरोध आयो । राखेपले खेल फागुनमै हुने भनेपछि सोही अनुसार तयारी गरेका थियौं तर, पछि मिति सरेपछि छनोट गरेका खेलाडीलाई रकम अभावले दुई–तीन दिन प्रशिक्षण गरेर गयौं,’ उनले भने, ‘हाम्रो खेलाडीको प्रदर्शन राम्रो हो तर अलिकति प्रशिक्षण लम्ब्याउनुपर्ने देखियो ।’ उनका अनुसार प्रशिक्षणमै केही समस्या भने छ । गण्डकीको खेल संघमा हुने गरेको गतिविधिले समेत खेलमा प्रभाव पारिरहेको छ ।
यस्तो छ प्रदेश स्तरीय र राष्ट्रपति रनिङशिल्डको नतिजा
अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा विभिन्न ९ वटा खेल विधामा प्रतिस्पर्धा भएको थियो । बागमती प्रदेश ६१ स्वर्ण, ४३ रजत र ३६ कास्यसहित प्रथम भयो । २१ स्वर्ण, २१ रजत र २९ कास्यसहित सुदूरपश्चिम दोस्रो र १६ स्वर्ण, २३ रजत र ३६ कास्य जितेको कोशी प्रदेश तेस्रो भयो । ११ स्वर्ण, १८ रजत र २० कास्य जितेको गण्डकी चौथो स्थानमा रह्यो । ११ स्वर्ण, १६ रजत र २८ कास्य सहित लुम्बिनी प्रदेश पाँचौँ, ११ स्वर्ण, १० रजत र २४ कास्यसहित कर्णाली प्रदेश छैटौं हुँदा ३ स्वर्ण, ३ रजत र १५ कास्य जितेको मधेश प्रदेश तालिकाको पुच्छारमा रह्यो । गण्डकीले कुल ३ स्वर्ण, १० रजत र १३ कास्य हासिल ग¥यो । १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित सुदुरपश्चिम प्रथम, १७ स्वर्ण, १३ रजत र १५ कास्यसहित बागमती दोस्रो, १० स्वर्ण, ५ रजत, १६ कास्य सहित कर्णाली तेस्रो रहँदा ८ स्वर्ण, ९ रजत र ९ कास्य जितेको कोशी चौथो तथा ६ स्वर्ण ११ रजत र १८ कास्य जितेको लुम्बिनी पाँचौ स्थानमा रह्यो । ३ स्वर्ण, ६ रजत र ९ कास्य जितेको मधेश तालिकाको अन्तिममा रह्यो ।





