पोखरा/खेलकुदमा यो वर्षको बजेट पाँच वर्षमै सबैभन्दा बढी विनियोजन भएको छ । आर्थिक वर्ष २०८१–०८२ का लागि नेपाल सरकारले युवा तथा खेलकुदका लागि तीन अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै खेलकुदका लागि उक्त बजेट विनियोजन गरेका हुन् । यस्तै सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ विनियोजन भएको छ ।
सरकारले गण्डकी प्रदेशमा खेलकुद ठूूला संरचनाका लागि कुुनै बजेट विनियोजन गरेको छैन । ठूूलो लगानीमा निर्माण भएको पोखरा रंगशालास्थित फुुटबल मैदानको फ्लड लाइटका लागि कुनै बजेट आएन । यस्तै साथै यो वर्ष ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको समेत आयोजना गरिने भएको छ ।
उता परम्परागत खेल बाघचाल, डण्डिबियो, घोडचढी खेलको प्रवद्र्धन गर्ने घोषणा गर्दा गण्डकीका परम्परागत खेल ठेलो, आर्चरी (तारो खेल) लाई भने समेटिएको छैन ।
अर्थमन्त्री वर्षमान पुनले निजी लगानी बढाई खेलकुद अर्थतन्त्र बढाउने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको पर्वाधार निर्माण, सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नतालाई बढाई खेलकुद अर्थतन्त्रको विकास गरिनेछ ।’
सरकारले यो वर्ष खेलकुदमा महिला सहभागितालाई बढाउनेमा समेत जोड दिएको छ । सबैका लागि खेलकुदको अवसर सिर्जना गर्दै खेलकुदका आधारभूूत तालीम विस्तार समेत गरिनेछ । पछिल्लो पाँच वर्षको बजेट हेर्दा आर्थिक वर्ष २०८०÷८१ को लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
आर्थिक वर्ष २०७९÷८० मा युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा युवा तथा खेलकुदमा बजेट बढेर आएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ३६ करोड रकम विनियोजन भएकोमा आर्थिक वर्ष २०७८÷७९ मा २ अर्ब ७४ करोड विनियोजन विनियोजन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा खेलकुदको बजेट २ अर्ब ३६ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०७६÷७७ मा भन्दा आर्थिक वर्ष २०७७÷७८ मा बजेट घटेर आएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा भन्दा आर्थिक वर्ष २०८०÷८१ को बजेट २९ करोडले कम थियो ।





