बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘कार्ययोजनाले समयमै काम’

‘कार्ययोजनाले समयमै काम’

जनप्रतिनिधिहरुको नीति तथा विधिप्रतिको स्पष्टता र कार्यान्वयनमा कर्मचारीको लगावकै कारण जैमिनी नगरपालिकाले समयमा कार्यप्रगति गर्न सफल भएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८१, शुक्रबार

विधि र प्रक्रिया पछ्याउने हो भने समयमा काम गर्न सकिन्छ भन्ने उदाहरण हो दक्षिण बागलुङको जैमिनी नगरपालिका । गत आर्थिक वर्षमा चैत मसान्तभित्रै अधिकांश विकासे काम सकेको नगरले चालु आर्थिक वर्षमा पनि समयमै काम सकेर नमुना प्रस्तुत गर्यो । योजना विनियोजनदेखि सम्झौता र फरफारक सम्मको स्पष्ट खाका नगरले बनाएको छ । बहुवर्षे र ठेक्का प्रक्रियाद्धारा कामको जिम्मेबारी दिएकाबाहेक सबै काम नगरले सकेको छ ।

स्थानीय तहको स्रोेत साधन कम छ । प्रदेश र संघीय सरकारले विभिन्न शिर्षकमा दिने अनुदानमा भरपर्नुपर्ने अवस्था स्थानीय तहमा विद्यमान छ । उपल्लो तहका सरकारले बजेट बन्नुपूर्व पठाउने सिलिङ, विनियोजन रकम र भुक्तानी हुने रकममा एकरुपता हुँदैन् । सधैंजसो विनियोजनको तुलनामा भुक्तानी कम हुने गरेको छ । विनियोजन र भुक्तानीको तारतम्य नमिल्दा स्थानीय तहले हैरानी व्यहोरेका उदाहरण बागलुङमा प्रसस्त छन् । तर समयमा काम सक्न तयार गरेको तालिकाले जैमिनीमा भने संघीय सरकारले दिने अनुदान आधा घटेर आउँदा समेत सजिलै नगरले पार लगायो । कार्यतालिकाकै कारण बर्खे अधिबेशनको विनियोजनलाई हिउँदे अधिबेशनमा संशोधन गर्नुपर्ने नपर्ने विषय स्पष्ट हुन्छ । नगरले कार्यपालिका, नगरसभाबाट समयमै विनियोजनको व्यवस्थापन गरेर काम गर्दै आएको छ । जनप्रतिनिधिको नीति र विधिप्रतिको स्पष्टता र बनेका नीति विधिको कार्यान्वयनमा कर्मचारीको लगावकै कारण जैमिनीले समयमा कार्यप्रगति गर्न सकेको हो । प्रस्तुत छ जैमिनी नगरको समग्र विकासका लागि भैरहेका प्रयासका विषयमा प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलसँगको संक्षिप्त कुराकानी सम्पादित अंश ।

नगरको चालु आवका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कसरी भैरहेको छ ?
अहिलेसम्म हाम्रो प्रगतिको अवस्था सन्तोषजनक छ । नीति तथा कार्यक्रम र बजेटमार्फत निर्धारण भएका हाम्रा कार्यक्रमहरुमा अहिलेसम्म ६२ प्रतिशत वित्तिय प्रगति छ । त्यसमा पुँजीगत झण्डै ५३ प्रतिशत र चालु प्रगति ६६ प्रतिशत छ । अधिकांश भौतिक पूर्वाधारका काम सकिएका छन् । उपभोक्ता समितिमार्फत हुने काम बैशाख मसान्तभित्रै सकिएका छन् । ठेक्कामार्फत भैरहेका कामको समेत हामी फरफारकको चरणमा छौं ।

बढ्दो बसाईसराईले विकास निर्माणमा लगाउन कठिन भैरहँदा आन्तरिक स्रोत कमी भएका कारण जनचाहना अनुसारका काम गर्न सकेका छैनौं ।

समयमा काम सक्नका लागि जैमिनीले अपनाएका विधिहरु के के हुन् ?
हामीले साउन महिनामै कुन कार्यक्रम कहिले सक्ने भनेर वार्षिक कार्ययोजना बनाउँछौं । वार्षिक कार्ययोजना इमान्दारितापूर्वक पालना गरेर हामीले काम गर्छौं । त्यो कार्ययोजनामा हामीले चैत मसान्तभित्र तीन लाख सम्मका योजना सम्पन्न गर्ने भनेका थियौं । त्यो हामीले गरिसकेका छौं । बैशाख मसान्तभित्र बाँकी अरु योजना सम्पन्न गर्ने भनेका थियौं । ठेक्कामार्फत प्रबन्ध भएका योजनाहरु असार मसान्तभित्र वा तोकिएको अन्तिम म्यादसम्म सक्ने भनेका थियौं । सोही अनुसार काम भैरहेको छ । समयमा कार्यान्वयन हुनुको आधार भनेकै कार्ययोजना हो । त्यसलाई सबै उपभोक्ता समितिले समयमै कार्यान्वयन गरीदिनु भो । वडा समितिले समयमै कार्यान्वयनमा सहयोग गर्नु भो । जनप्रतिनिधि र कर्मचारीको साथ रह्यो । एक दिन पनि तलमाथी नगरी हामीले कार्ययोजना कार्यान्वयन गर्यौं त्यो नै समयमा काम सकिनु पछिका अभ्यासहरु हुन् ।

कुनै उदाहरण छ, जसले कार्ययोजना अनुसार काम नगरेका कारण सम्झौता नभएको वा फर्काइएको ?
यो आर्थिक वर्षमा त्यस्तो भएन् । सबै उपभोक्ता समितिले समयमै काम सम्पन्न गर्नु भो । अघिल्ला आर्थिक वर्षमा असारमा मात्रै आएर योजना सम्झौता गर्ने, असारे विकास भनेर आलोचना हुने गरेकै थियो, त्यस्ता घटना पनि थिए । त्यसलाई हटाउन हामीले गत साल निकै कोशिस पनि गरेका थियौं र केही योजनाहरु त्यहि कारणले अन्तिममा भुक्तानी लिन पाउनु भएन् । त्यहि सिकाइले अहिले समयमा सम्झौता गर्ने र काम गर्ने गर्नुभएको छ ।

चालु आर्थिक वर्षका कार्यक्रमहरु कुन चाहिँ शिर्षकमा केन्द्रित छन् ?
हामी नगरपालिका भएपनि धेरै गाउँहरु जोडिएर बनेको नगरपालिका हो । नगरपालिका हुन आवश्यक आधारभुत पूर्वाधार समेत नभएको अवस्थामा हामीले नगरपालिका बनाएरै काम गरिरहेका छौं । पूर्वाधारको विकास गर्दै छौं । हाम्रा वडा कार्यालय जोड्ने १३ दीगो सडक बनाउँदैछौं । भौतिक पूर्वाधारमा पहिलो फोकस दीगो सडकमै छ । कृषि, पशु, शिक्षा, स्वास्थ्य र पर्यटन हाम्रो प्राथमिकतामा छन् ।

नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा कठिनाई के के छन् ?
पछिल्लो समयमा संघीय सरकारले दिने वित्तिय अनुदान चुनौतीको रुपमा छ । हामीले बजेट बनाउँदाभन्दा कम अनुदान आउँदा काम गर्न कठिनाई हुने गरेको छ । वित्तिय सुनिश्चितता नहुँदा समस्या देखियो । दोस्रो डिमाण्ड धेरै स्रोत कम भयो । आन्तरिक स्रोत कम छ । यसमा दुईतिन वटा फ्याक्टरले काम गरेको छ । पहिलो हो कालीगण्डी नदीको ढुंगागिट्टी र बालुवा हामीले ठेक्का लगाउन पाएका छैनौं । त्यसबाट केही हदसम्म हाम्रो आम्दानी बढ्न सक्थ्यो । प्रमुख आम्दानीको स्रोत त्यहिं थियो । सर्वोच्चको आदेशका कारण त्यो ठेक्का लगाउन सकेनौं । दोस्रो बसाईसराई रोक्न कठिन भैरहेको छ । बसाईसराईका कारण विकास निर्माणमा लगाउन कठिन भैरहेको छ । तेस्रो आन्तरिक स्रोत कमी भएका कारण जनचाहना अनुसारका काम गर्न सकिएको छैन् ।

जनशक्तिको व्यवस्थापनमा कत्तिको मजबुद छ जैमिनी नगरपालिका ?
जनशक्तिको कुरा गर्दा हाम्रोका कतिपय शाखा प्रमुखबिहिन अवस्थामा छन् । दरबन्दी अनुसारका पदपुर्ति भएका छैनन् । सबै वडामा हामीले वडा सचिव फुलफिल गरेका छौं । शाखामा खट्नुपर्ने साथीहरुलाई पनि वडामा खटाउनु पर्दा शाखाहरु खाली छन् । प्राबिधिक पार्टमा चाहिं हामीलाई धेरै समस्या छ । प्राबिधिक पार्टमा धेरैलाई करारमा काम लगाउनुपर्ने अवस्था छ । प्रदेश लोकसेवा आयोगसँग हामीले माग गरेर पठाएका छौं । समयमा पदपुर्ती नहुँदा करारका साथीहरु काम छोडेर हिँड्दा काममा समस्या आउने गरेका छन् । करारमा धेरैपटक पदपूर्ती गर्नुपर्ने समस्या, समयमा पदपूर्ती नहुँदा हामी सधैं समस्यामा छौं ।

अझै प्रभावकारी कामका लागि भावी योजना के छ ?
हाम्रा जति पनि सार्वजनिक सेवा प्रवाहका शाखाहरु छन् तिनीहरुको न्युनतम सेवा मापदण्ड व्यवस्थापन गर्न खोजिरहेको छु । हाम्रा वडा कार्यालयहरुको, नगरपालिकाको, स्वास्थ्य संस्थाको, हाम्रा विद्यालयहरुको न्युनतम गुणस्तर सुनिश्चित गर्नुपर्छ । राज्यले लगानी गरिसकेका यी संस्थाहरुले न्युनतम गुणस्तर सुनिश्चित गरेनन् भने त्यसले हाम्रो औचित्य माथि प्रश्न उठ्छ । हामीले स्वास्थ्यतर्फ न्युनतम सेवा मापदण्ड मापन गर्ने एमएसएस भन्ने छ । स्वास्थ्य कार्यालयमार्फत अनुगमन गरेर यो लागु भएको छ । शिक्षा र हाम्रा वडा कार्यालयमा पनि त्यो एमएसएसलाई लागु गर्न खोजीरहेका छौं । शिक्षा सुधार गर्न बेसिक इण्डिकेटरहरु बनाएर लागु गर्न खोजेका छौं । वडा कार्यालयहरुमा पनि इण्डिकेटर बेसमा हामीले के के कुरामा कति समय लगाउने, कस्तो किसिमको संरचनामा सेवा प्रवाह गर्ने भन्ने बिषयमा हामी मिहन ढंगले लागिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->